ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विज्ञापनको अर्थ

Mar 17, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

केही वर्षयतादेखि नेपाली विज्ञापनहरु पनि सृजना र प्रस्तुतिका हिसाबले उत्कृष्टतातर्फ उन्मुख हुँदै गएको भान हुन थालेको छ । केहीलाई छोड्ने हो भने प्रायः नेपाली विज्ञापन कति सृजनशील छन् भने ती विज्ञापन हेरिसकेपछि अब अर्थशास्त्रको परिभाषा फेर्नुपर्ने आवश्यकता बोध हुन्छ । अझ यसो भनौं, ती विज्ञापनका कारणले अर्थशास्त्रको पुरानो नियम आफैं उल्टिएको छ । जस्तै, अर्थशास्त्रको पुरानो नियमले भन्छ– माग भएपछि आपूर्ति हुन्छ । तर, अब विज्ञापनका कारण पहिले आपूर्ति हुन्छ अनि माग आफैं आउँछ । त्यसैले त हिजोआज वस्तु वा सेवा आउने कहिले हो कहिले, सोको टिजर मात्र होइन, सोझै विज्ञापन नै धेरै पहिल्यैदेखि आइहाल्छ । विज्ञापन आउन पनि यसरी आउँछ कि सो वस्तु वा सेवा तपाईंले उपभोग गर्न पाउनु भएन भने जीवन नै अधुरो र अपुरो हुन्छ भन्ने विश्वास तपाईंमा बलवान् भएर आउँछ ।

त्यसैले आधुनिक उपभोक्ताहरु पनि समयसँगै चल्न सिक्नुपर्छ । अब ‘आवश्यकता आविष्कारकी जननी हो’ भन्ने पुरानो भनाइलाई परिवर्तन गरी ‘आविष्कार नै आवश्यकताका पिता हुन्’ भन्न शुरु गर्नुपर्छ । कमसेकम नेपाली मिडियामा देखिने नेपाली र केही भारतीय विज्ञापनबाट यो पङ्क्तिकारले अहिलेसम्म सिकेको पाठ नै यही हो । त्यसैले विज्ञ पाठकका लागि उदाहरणस्वरुप नेपालमा देखिने केही विज्ञापनहरुको पाठ यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

- घर टहरा बनाउँदा यो सिमेण्ट प्रयोग गरे मजबुतीको पक्का विश्वास मात्र हुँदैन, देशकै शिर उच्च रहन्छ ।

- पानी पर्छ भन्ने डर छ भने बीमा गर्नुस् ।

- नेपालका होटल तथा रेष्टुराँमा खान जानु भयो भने त्यहाँ तपाईंको घरमा भन्दा बढी शान्त र पारिवारिक वातावरण पाइन्छ ।

- प्रायः हिरोइनहरुको कपाल र अनुहारमा चाँया पर्दो रहेछ र कपाल झर्ने गर्दो रहेछ । त्यो रोक्न कुनै खास स्याम्पू नै प्रयोग गर्नुपर्ने रहेछ, नत्र खत्तम ।

- तपाईंकी छोरी या बहिनीले विवाह गर्न मानिनन् भने कि यो ज्वेलरी पसलमा लिएर जानुस्, वा यो क्रिम गालामा दल्न लगाउनुस्, खुरुक्क मानिहाल्छिन् ।

- सेलिब्रेटीहरुको जीवनको सबैभन्दा रमाइलो क्षण भनेको चिसो पेय पदार्थसँग तात्तातो मःमः खान पाउँदाको क्षण हो ।

- नेपालका फिल्मका हिरो वा खेलाडीहरु यति गरीब छन् कि एउटा चिसो पेय पदार्थ पाउन बरु आफ्नो ज्यान नै जोखीममा पार्छन्, रु. २५ तिरेर नजिकैको पसलबाट सो किन्दैनन् ।

- लगातार इनर्जी ड्रिङ्क पिउनेहरु सुपरम्यान बन्न सक्छन् ।

- भोड्का, ह्विस्की, बियर कम्पनीहरुले म्यूजिककोे सीडी उत्पादन गर्छन् ।

- नेपाली समाजमा आमाछोरीबीच कुनै कुराकानी हुन्छ भने त्यो धेरैजसो तेलको वा कपालको बारेमा हुन्छ ।

- तपाईंको भान्सामा नून छैन भने यो टुथपेष्ट प्रयोग गर्न सकिन्छ ।

- प्रत्येक टुथपेष्टलाई कुनै डेण्टिष्टले नै प्रेस्काइब गरेको हुन्छ । त्यसरी नै प्रत्येक सिमेण्ट वा छडको ब्राण्डलाई कुनै इञ्जिनीयरले नै उत्कृष्ट ठहर्‍याएको हुन्छ । प्रत्येक ब्राण्डबापत भिन्नै विशेषज्ञ । यसको मतलव नेपालमा विज्ञहरुको कुनै कमी छैन ।

- सबै साबुन ९९ प्रतिशत कीरा मार्न सक्षम छन् । बाँकी १ प्रतिशतलाई चाहिँ केही गर्न नसकिने रहेछ क्यार ।

- कुनै पनि फलफूलको जुसमा भन्दा बढी जुस र भिटामिन तत्व नुहाउने साबुन र स्याम्पूमा पाइन्छ ।

- मोटरसाइकल भनेको यातायातको साधनभन्दा पनि साहसी काम गर्न र गर्लफ्रेण्डलाई ‘लिफ्ट’ दिनका लागि बनेको उपकरण हो ।

- डिओडोरण्ट अर्थात् काखी गन्हाउनबाट रोक्ने वस्तुको प्रयोग खासमा केटी पट्याउनका लागि गर्ने हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)