वैज्ञानिकहरुले विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ)ले स्तनधारी जीव पुड्को हुन सक्ने बताएका छन् । पृथ्वीको इतिहासमा तापक्रम उच्च बढेको दुई घटनामा स्तनधारी जीव पुड्को भएका प्रमाण भेटिएको छ । यसअघि पनि स्तनधारीको पुड्केपनलाई ठूलो ग्लोबल वार्मिङका घटनासँग जोडेर हेर्ने गरिएको थियो । नयाँ अध्ययनले भने यसलाई थप पुष्टि गरेको छ ।
युनिभर्सिटी अफ न्यू हैम्पशायरकी शोधकर्ता छात्रा अबीगैल डी अम्ब्रोसिया र उनका सहकर्मीहरुले विश्वव्यापी तापमान बढ्दा विगतमा स्तनधारी जीवको शरीरको आकारमा परिवर्तन भएको थियो कि थिएन र तापमान वृद्धिको स्तर एवम् स्तनधारी जीवको पुड्कोपनाबीच सम्बन्ध छ/छैन भन्नेबारे अध्ययन गरेका थिए । यसका लागि उनीहरुले करीब ५ करोड ६० लाख वर्षपहिलेको तापक्रम वृद्धिको घटना पेलियोसीन–इओसीन थर्मल म्याक्सिमम (पीईटीएम्) र करीब ५ करोड ३७ लाख वर्ष अगाडिको इओसिन थर्मल म्याक्सिमम टू (ईटीएम्टू)का बेलाका स्तनधारी जीवलाई दाँजेका थिए । पीईटीएम्मा वातावरणमा कार्बनडाइ अक्साइड उच्च दरले बढेको थियो । ‘अहिले हामीले वातावरणमा पीईटीएम्को बेलाभन्दा १० गुणा बढी कार्बन उत्सर्जन गरिरहेका छौं, यो बढी चिन्ताजनक हो र यसले अहिलेका स्तनधारी जीवलाई पनि असर गर्न सक्छ,’ अम्ब्रोसियाले भनिन् ।
अध्ययनका क्रममा उनको समूहले पीईटीएम् र ईटीएम्टू (यतिबेला तापमान वृद्धि पीईटीएम्को तुलनामा अलि थोरै थियो)का समयका विभिन्न स्तनधारी जीवको दाँतको अवशेष विश्लेषण गरेका थिए । पीईटीएम्का बेलामा स्तनधारी जीवको दाँत ३० प्रतिशतसम्म पुड्को भएको र ईटीएम्टूमा भने यसक्रममा स्तनधारी जीवको दाँत करीब १४ प्रतिशत खुम्चिएको पाइएको थियो । यसले तापमान वृद्धि जति बढ्छ, स्तनधारी जीवको आकार त्यति नै धेरै खुम्चिन्छ भन्ने स्पष्ट पारेको छ । यसले मानिसलगायतका स्तनधारीहरुलाई पछिल्लो पटक विश्वको जलवायुमा भइरहेको परिवर्तनले पार्न सक्ने प्रभावबारे बुझ्न मद्दत मिल्ने अपेक्षा गरिएको छ । एजेन्सी