विश्व खुशी प्रतिवेदन २०१७ का अनुसार गतवर्षको तुलनामा नेपालीहरुको खुशी झन् थपिएको छ रे । प्रतिवेदन भन्छ– पोहोर १०७औं स्थानमा भएको नेपाल यो वर्ष ९९औं स्थानमा आइपुगेछ । हैन, यो १ वर्ष नेपालमा त्यस्तो के चैं भएछ र नेपालीहरु ह्वात्तै खुशी भएछन् हँ ? शुरुमा त विश्वासै लागेन । होइन, नेपालीहरुले कुन चैं नयाँ जोक सुनेर हाँस्याहाँस्यै भएछन् र खुशीको ग्राफ माथि उक्लेछ भन्ठानें । पछि यसो टाउकोमा हात राखेरै गम खाँदा यस्तो पो उत्तर आयो–
दिनमा १५ सयका दरले नेपालीहरु नेपालमा विरक्तिएर विदेशतिर खुशी पाइन्छ भन्दै उतै लागे । विदेशमा खुशी पाएकाले पाइहाले, नपाएकाहरु चैं न नेपालमै खुशी पाइन्छ कि भन्दै मनमा खुशी साँचेर फेरि यतै फर्के । यसरी खुशीकै लागि उता र यता गर्दा खुशी त डब्बल हुन पुग्योजस्तो छ ।
खुशीको सर्वेक्षण गर्दा छओटा सूचकलाई विश्लेषण गरेर प्रतिवेदन तयार गर्या रै’छन् म्लेक्षहरुले । जस्तै, एउटा सूचक रै’छ प्रतिव्यक्ति आय । हुन पनि पोहोरभन्दा नेपालीको आम्दानी पक्कै बढेकै हुनुपर्छ । किनकि विप्रेषण आउने वृद्धिदर कम भए पनि रकम त बढेकै छ र विदेशिने नेपालीको सङ्ख्याको वृद्धिदर कम भए पनि रकम भने बढेकै छ । अर्को, गतवर्ष पानी धेरै परेकाले धान उत्पादन अलिक बढ्यो र भात धेरै खाने भाते नेपालीहरु भात खान पाएर अलिक बढी खुशी भएको हुनुपर्छ ।
दोस्रो खुशीको सूचक रहेछ औसत आयु । यो पनि बढेकै होला । किनकि अचेल राजनीतिक दलहरुले पहिलेजस्तो त्यत्ति मान्छे मारी हिँड्ने गरेका छैनन् । बरु मारे पनि कि त छिमेकीका बन्दूकले झुक्किएर मारेको छ, कि त बसका ड्राइभर र ड्राइभररुपी खलाँसीहरुले । मोटरसाइकल जथाभावी हाँकेर ज्यान फ्याल्नेहरुको मृत्युको हिसाब त प्रतिवेदनमा पक्कै आएन होला । बाँकीलाई त धूलो, धूवाँ, प्रदूषण आदिले मारेको मात्र छ । त्यसैले औसतमा हिसाब गर्दा नेपालीको मृत्युदर कम भएपछि औसत आयु स्वतः बढेकै हिसाब आयो होला भन्ने अनुमान गर्न सकिन्छ ।
अर्को सूचक रहेछ स्वतन्त्रता । वास्तवमा यो मापदण्डमा त संसारमै हामी नेपालीले नै सबैभन्दा बढी नम्बर पाउँछौंजस्तो लाग्छ । किनकि अहिलेको पुस्ताजति स्वतन्त्र नेपाली इतिहासमा शायद कहिल्यै थिएन । यहाँ छोराछोरीले बाबुआमालाई टेर्दैनन् । विद्यार्थीहरुले शिक्षकशिक्षिकालाई टेर्दैनन् । कर्मचारीहरु हाकिमको कुरा सुन्दैनन् । प्रतिपक्षले सरकारलाई नटेर्ने त स्वाभाविकै भयो । सरकार अदालतलाई टेर्दैन । कसैलाई आज नियम, कानून, मूल्य, मान्यता, मर्यादा, कर्तव्य आदिजस्ता कुराले बाँध्न सक्दैन । आजको नेपालमा कसैले कसैलाई टेर्दैन । जसलाई, जे, जसरी चाह्यो गर्न स्वतन्त्र छ । स्वतन्त्रता नै स्वतन्त्रता भएपछि यसमा नेपालीले नम्बर त राम्रो पाउने नै भइहाले नि ।
अर्को सूचक रहेछ भ्रष्टाचारमा कमी । हुन पनि अख्तियारबाट लोकमान जोकमान बनेपछि नेपालमा कि त भ्रष्टाचार घटेकै हुनुपर्छ । नत्र भ्रष्टाचारीहरुलाई लोकमानले जस्तो बाहिर नल्याइदिएकाले खुशी सर्वेक्षण गर्नेहरुले नेपालमा हुने भ्रष्टाचारलाई देख्दै देखेनन् वा धेरै कम मात्र देखे ।
खुशी नाप्ने अर्को सूचक रहेछ उदारता । यो चैं अलि ‘कन्फ्युजिङ’ छ, उदार हो कि उधार भनेर । तर, दुवै दृष्टिले नेपाल उच्चतम अङ्कको हकदार छ । नेपालीहरु यसै पनि उदार जाति नै हुन् । सामाजिक सहयोग गर्ने कुरामा सधैं अब्बल छन् । छर्रा छिमेकीहरुलाई आफ्ना बहुमूल्य सम्पदाहरु सुम्पेको सुम्प्यै छन् । छिमेकीले आफ्नो सीमा मिच्यो भने पनि प्रायः कोही बोल्दैनन् ।
होइन, उधार भनेको रहेछ भने पनि ठ्याक्कै मिल्छ । उधारो लिने नतिर्ने कुरामा पनि नेपालीहरु पोहोर परारभन्दा बढेकै देखिन्छन् । खासगरी दैनिक पत्रिकाहरुमा कर्जा तिर्न ३५ दिने सूचनाहरुको बाढी हेर्दा त्यस्तै देखिन्छ ।
यसरी नेपालमा बस्ने नेपालीले नेपालीकै विषयमा यस्तो प्र्रतिवेदन निकाल्या भए विश्वास गर्न गाह्रै हुन्थ्यो । तर, अमेरिकाको संस्थाले ग¥या रे भनेसी विश्वास गर्ने पर्यो । त्यो पनि अमेरिकास्थित ‘साइण्टिफिक स्टडिज’ संस्थाका मुख्यमुख्य मुख्याहरु मिलेर प्रतिवेदन राष्ट्र सङ्घकै मुख्यालयमै सार्वजनिक गरेका रहेछन् । अनि कसरी विश्वास नगर्नु ? यसै पनि हामी आफैलाई भन्दा विदेशीलाई बढी विश्वास गर्छौं नि त । त्यसैले लौ बधाई छ है हाम्लाई ! अर्थात् हामी सबै नेपालीलाई पोहोरभन्दा पनि धेरै खुशी हुन पाएकोमा ।