समाचारको शीर्षकले तपार्इंलाई निश्चय नै आश्चर्यमा पार्न सक्छ । साँच्चिकैको प्रहरीलाई त छल्न सक्ने चोरहरुलाई कार्डबोर्डबाट बनेको प्रहरीले कसरी रोक्न सक्ला भन्ने तपार्इंको मनमा उब्जिएको प्रश्न स्वाभाविक पनि हो । तर, यो यथार्थमै सम्भव भएको छ बेलायतमा । त्यहाँका डिपार्टमेण्ट स्टोर र सुपरमार्केटहरुमा कार्डबोर्डबाट निर्मित पूर्णकदकै प्रहरीको मूर्ति उभ्याइएपछि ती पसलमा ग्राहकले गर्ने चोरी (शपलिफ्टिङ) ७५ प्रतिशतले घटेको छ ।
‘पीसी बोर्डम्यान’ नाम दिइएको उक्त कागजको प्रहरी शुरुमा ग्रेटर म्यानचेष्टर क्षेत्रस्थित लिह शहरमा रहेको बेलायती सुपरमार्केट चेन ‘एष्डा’का प्रवेशद्वारलगायतका स्थानहरुमा राखिएका थिए । डेली मेल पत्रिकाले बताएअनुसार पीसी बोर्डम्यानलाई साँच्चिकै प्रहरी ठान्दै केही ग्राहकले कुराकानीसमेत गर्न खोज्छन् ।
एष्डाले कार्डबोर्डका प्रहरी राख्न थालेपछि ह्वात्तै घटेको शपलिफ्टिङलाई देखेर उक्त क्षेत्रका अन्य डिपार्टमेण्ट स्टोर र सुपरमार्केट्सले पनि त्यसको अनुसरण गर्न थालेका छन् । यसबाट लिह शहरका प्रहरीलाई पनि राहत मिलेको छ । डेली मेलका अनुसार त्यहाँका प्रहरीहरुले पीसी बोर्डम्यानले दिएको ‘सुरक्षा’का कारण पसलहरुका चोरीबाट आफूहरुले शहरमा अन्यत्र हुने गरेका गम्भीर अपराधतर्फ ध्यान केन्द्रित गर्न पाएको बताएका छन् ।
कार्डबोर्डको सुरक्षाकर्मी नियुक्त गर्ने यो अभियान ग्रेटर म्यानचेष्टर क्षेत्रमा त्यहाँको प्रहरी विभागले एक पाइलट योजनाअन्तर्गत शुरु गरेको हो । सरकारले चालेको खर्च कटौती कार्यक्रमअन्तर्गत ग्रेटर म्यानचेष्टर प्रहरी विभागले सन् २०१५ सम्म प्रहरी सङ्ख्या घटाउँदै साढे १३ करोड पाउण्ड बचत गर्ने लक्ष्य राखेको छ ।