ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९० दिनसम्म ताजा रहने दूध ’

Aug 21, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

रेफ्रिजेरेटर नभएर दूध भण्डारण गर्ने समस्याले पिरोलिएकाहरुलाई खुशीको खबर । भारतको गुजरात राज्यस्थित एक कम्पनीले ३ महीनासम्म भण्डारण गर्न सकिने दूध बजारमा ल्याएको छ । गुजरातको मेहसाना जिल्लामा रहेको दूधसागर डेरी पनि भनिने ‘द मेहसाना डिष्ट्रिक्ट को–अपरेटिभ मिल्क प्रोड्युसर्स युनियन’ले गत बुधवारदेखि यो दूधको विक्री शुरु गरेको हो । मोती सागर ब्राण्डको नाममा ल्याइएको यो दूध पाँचओटा तह भएका पाउचमा प्याक गरिएको डेरीले जानकारी दिएको छ ।

यो दूध कोठाको सामान्य तापमानमा पनि ३ महीनासम्म ताजा नै रहने उत्पादकको भनाइ छ । ‘यसका लागि हामीले यूरोपबाट १० करोड रूपयाको लगानीमा झिकाइएका विशेष प्रकारको नयाँ प्याकेजिङ मेशिन जडान गरेका छौं,’ कम्पनीका अध्यक्ष विपुल चौधरीले बिजनेश लाइन पत्रिकालाई बताए । मोती सागर ब्राण्डका दूधको प्रशोधन अति उच्च तापमान (अल्ट्रा हाई टेम्परेचर–यूएचटी)मा गरिने भएकाले प्याकेट खोल्दासम्म यसमा कुनै प्रकारको ब्याक्टेरिया र जीवाणु नहुने उनले जानकारी दिए ।

यो उत्पादनको मूल्य बजारमा आउने सामान्य प्याकेजिङका दूधभन्दा ४ रूपयामात्रले बढी भएको उनको भनाइ छ । ‘तर, ३ महीनाको लामो समयसम्म पनि ताजा रहने भएकाले भण्डारण, आपूर्ति र वितरणका खर्चहरु भने जोगिने हुनाले यसको मूल्य सस्तो पर्न जान्छ,’ उनको जिकीर थियो । आगामी दिनमा दूधसागर डेरीले आफ्ना सबै उत्पादनका प्याकेजिङ नयाँ प्रविधिबाट नै गर्ने चौधरीले बताए । चौधरीका अनुसार अन्य डेरीले पनि यो प्रविधिका लागि अर्डर दिइसकेका छन् । दूधसागर डेरी भारतको एक प्रमुख दुग्ध उत्पादक कम्पनी हो । गुजरातबाहिर यसका उत्पादनहरु ‘अमुल’ ब्राण्डका नामले प्रख्यात छन् । कम्पनीले दैनिक रुपमा औसत १९ लाख लिटर दूध प्रशोधन गर्ने गरेको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)