ख्यालख्याल गर्दा स्याल पल्ट्यो भन्थे । चुनावको कुरा पनि ख्यालख्याल नै होला भन्दै गर्दा माहौल त साँच्चिकै चुनाव हुने जस्तो पो बन्दै गएको छ ।
मधेशवादी केही दलबाहेक बाँकी सबै दल, सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय आदि सबै सरोकारवाला निकायका पछिल्ला दौडधूप हेर्दा चुनाव हुने भयोजस्तो लागेको छ है । बाहिर जति विरोध गरे पनि मधेशवादी दलहरुले समेत भित्रभित्रै निर्वाचन आयोगलगायत देशैभरि चुनावमा भाग लिनेगरी दर्ता पनि गराइसकेका रहेछन् । त्यतिमात्र कहाँ हो र, अब त मधेशवादी दलहरुबीच पार्टी एकीकरण पनि भइसक्यो । यसको मतलब चुनाव चैं हुने पक्कापक्की भएजस्तो छ ।
चुनाव एकै चरणमा हुन्छ वा दुईमा भन्ने कुरा भने अझै टुङ्गो लागिसकेको छैन । जति चरणमा भए पनि चुनाव चैं गज्जबकै हुनेछ । एक त एउटै सरकारका दुई उपप्रधानमन्त्रीको जुँगाको लडाइँ नै मतदाताका लागि चुनावमा जान प्रशस्त आकर्षण भएको छ । एउटा उपप्रम निर्वाचन आयोगलाई नै थर्काउँदै चुनावै बहिष्कार गर्ने घुर्की देखाउने । अर्को वरीयतामा प्रथम हुन नपाए मन्त्रिमण्डल बैठकै बहिष्कार गर्ने । अझ चुनाव हुन सक्तैन भनी ट्विट गरिहिँड्ने, फेरि करेक्शन गरेर रिट्विट गर्ने । तर, दुबैले सरकार चैं नछाड्ने । अर्थात् तातो पानी नपाए चिसै पानीले नुहाइरहने । अन्ततः निर्वाचन आयोग आफै झुक्यो । उपप्रमको कुरो पनि मिल्यो । चुनावको उपक्रम पनि जुट्यो ।
अर्को थरी दलहरु यसो नि हुँदैन, उसो नि हुँदैन भनेर आन्दोलनको धम्की मात्र दिइरहने, तर आन्दोलन भने गर्न नसक्ने । कोही अति राष्ट्रवादी दलहरु जो चुनाव सबै सिट हाम्ले नै जित्ने हो भनेर गुड्डी हाँक्दै हिँड्ने तर मधेशमा टिकेर जनतालाई कुरा बुझाउन नसक्ने र त्यहाँ गएर कार्यक्रम गर्न पनि नसक्ने । यो पनि कम मनोरञ्जक छैन ।
यता, स्वयम् प्रधानमन्त्री आफू पनि मेयरको आकाङ्क्षी भएको कुरा गरी हिँड्ने । मेयर पदको पावर देखेर हो वा बेलाबेलामा लिक बाहिर बोल्ने बानी परेका कारण हो, प्रचण्डले मेयरमा उम्मेदवार बन्ने पनि भन्न भ्याएछन् । यसले पनि मतदातालाई थप मनोरञ्जन प्रदान गरिरहेकै हुनुपर्छ । साँच्चिनै एक ठाउँमा प्रचण्ड, अर्कोमा ओली र अर्कोमा देउवा गर्दै एवं रीतले माधव, झलनाथ, विजुक्छे, चित्रबहादुर, बाबुराम, उपेन्द्र महतो सबै एकएक ठाउँका मेयर भइदिए कति रमाइलो हुन्थ्यो । भूतपूर्व प्रम र वर्तमान मेयर श्री......... भनेर सम्बोधन गर्दाको मजै बेग्लै हुन्थ्यो । यसले मेयर पदको गरिमा पनि बढ्थ्यो ।
हुन त अहिलेसम्म सबै उम्मेदवार तय भइसकेका छैनन् । तर, केही नाम बाहिर आएका छन् । अहिले सार्वजनिक भएका मेयरका उम्मेदवारहरुको नाम हेर्दा पनि रमाइलै लाग्ने खालको छ । किनकि कोही भर्खर आफ्नी आमाको दूध चुुस्न छाडेका जस्ता छन् । कोही उसकै हजुरबाउजस्ता । कोही सरकारी जागिरमा असफल भएर कसैको उक्साहटमा राजनीतिमा होमिएका जस्ता । कोही आफ्नो कपाल सम्हाल्न नसक्ने तर हेर्दा बबाल फेशनवाल पनि उम्मेदवार छन्, जसले मन्त्रीभन्दा पावरफूल मेयर पद कसरी सम्हाल्लान् जस्ता ।
उम्मेदवार मात्र होइन, चुनाव चिह्न पनि गजब गजबका छन् । कसैको चिह्न लिपिष्टिक । कसैलाई लभ साइन अर्थात् मुटुजस्तो प्रेम चित्र । एउटा त उल्लुको चित्र पनि रहेछ । पाउने र भोट हाल्ने दुवै थरीलाई यस्ता चिह्न रमाइलै लाग्छन् होला ।
यस्तो रमाइलो वातावरणमा चुनाव हुन गइरहेको छ । यति भएपछि कतिपयले शङ्का गरेजस्तो चुनावै नहुने, वा भए पनि भयङ्कर मारकाट हुने वा झगडा हुने त कहीँबाट पनि देखिँदैन । संविधानसभाको चुनावमा पनि शङ्कालुहरु यस्तै ‘भयङ्कर’ केही हुन्छ भन्थे, भएन । र, संविधानसभाको चुनाव भएरै छाड्यो ।
भलै संविधान बनेपछि त सबै समस्याको समाधान हुन्छ, देश र जनताले के के न पाउँछन् भन्थे मान्छेहरु । तर, अहिलेसम्म केही पाएका छैनन् । सायद यो स्थानीय चुनाव भएपछि चाहिँ केही पाउने पो हुन् कि !