ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यसरी पो बढेछ वृद्धिदर

Apr 28, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हिजोआज नेपालमा केके हुन थाल्यो केके । बिजुली उत्पादन खासै नबढीकनै लोडशेडिङको करीब अन्त्य भएको छ । देशमा कट्टर काङ्ग्रेस र कट्टर कम्युनिष्टको जोडी मिलेर सरकार चलाएको पनि ९ महीनाभन्दा बढी भइसक्यो । २०औं वर्षपछि देशमा स्थानीय निकायको चुनाव होलाहोलाजस्तो भएको छ । अस्ति कसले हो नेपालको खुशीको सूचकाङ्क बढ्यो भनेर प्रतिवेदनै निकाल्द्याथ्यो । यो वर्षको आर्थिक वृद्धिदर पुग नपुग ५÷६ प्रतिशतले बढ्छ होला भनेर अनुमान गरेकोमा अहिले तथ्याङ्क विभागले यो झण्डै ७ प्रतिशतले पो बढ्ने भयो भनेर हिसाब निकालिदियो । आखिर यो सबै कसरी सम्भव भयो त भनेर विज्ञहरुको कुरा सुन्दा अलिकति कुरो बुझ्न पाइयो ।

आर्थिक वृद्धिदर बढ्ने एक मुख्य कारण पानी रहेछ । अर्थात् गतवर्ष धेरै पानी पर्दिएका कारण कृषि उत्पादन बढेर आर्थिक वृद्धिदरले पनि वृद्धि हुने मौका पाएछ (वृद्धिदर भएपछि वृद्धि हुनैपर्‍यो नि, होइन ?) । यसको मतलव आर्थिक वृद्धि गर्ने हो भने आइन्दा पानी पार्ने व्यवस्था गर्नुपर्ने रहेछ । कता हो ‘क्लाउड सिडिङ’ अर्थात् प्लेन उडाएर बादलमा लगेर के हो एउटा केमिकल छर्दिएपछि ह्वारर्र पानी पर्छ रे । अब नेपाल एयरलाइन्समा सीईओलाई यो टुरिष्ट बोक्नेभन्दा पनि बादलमा मिशन पठाउने वा बादल छेड्ने जहाज चैं पहिले ल्याउन भन्नुपर्‍यो जस्तो छ । फेरि ‘माथि बादल नै भएन भने के गर्ने ?’ भनेर सोध्नुहोला ।

वैज्ञानिकका अनुसार त गर्मीमा समुद्रबाट खासगरी बङ्गालको खाडीबाट र हिउँदमा अरब उपमहासागरबाट वाफ माथि उडेर गएर नेपालमा पानी पर्ने हो । तर, बङ्गालको खाडी र अरब उपमहासागरमा गएर पानी तताएर त्यसबाट वाफ उठाएर नेपाल पठाउन त हामीलाई गाह्रै पर्ला । तैपनि चिन्ता गर्नु पर्दैन । हाम्रा ऋषिमुनिहरुले गर्ने गरेजस्तो ठूल्ठूला होम लगाएर पानी पार्न सकिन्छ । यो कुरा हाम्रा वैज्ञानिकहरुले पनि स्वीकार गरिसकेका छन् । केही वर्षअघि विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानमा नै रुद्री लगाएर होम गरेको समाचार पढ्नुभएकै होला । तर, आगो धेरै बाल्न दाउरा नपुगेका कारण होला, त्यस बेला पानी चैं परेन क्यार । धेरै नै आगो बाल्ने हो भने अब रामबहादुर थापा ‘बादल’ वा बाबुराम, त्यस्तै कुनै क्रान्तिकारीलाई जिम्मा दिनुपर्छ । उनीहरुले पहिलेजस्तै देशैभरि आगो लगाउन शुरु गरे भने केही भइहाल्छ कि । अब मधेशवादी दलहरु त सरकारसँग सम्झौतामा गइसकेको अवस्थामा उनीहरुले शायद हाललाई आगो बाल्दैनन् होला देशमा ।

यो वर्ष आर्थिक वृद्धिदर बढ्नुमा एउटा अर्को कारण रहेछ निर्माण । हुन पनि हो, चाइनिजहरुले एकताका धेरै वर्षसम्म १०/११ प्रतिशतले आर्थिक वृद्धि गरेको कुरा आएको थियो । कसरी गरेछन् त चाइनिजहरुले भनेको त निर्माण गरेर नै रहेछ । हाम्रोमा पनि निर्माणको काम धेरै तीव्र रुपमा भइरहेको छ नि । पत्याउनु भएन ? कुरो यसरी बुझौं न । भत्काएको ठाउँमा त निर्माण गर्ने हो । अर्थात् भत्काउनु भनेको निर्माणको पहिलो चरण हो । भत्काइनुपर्छ, बनाउनुपर्छ र फेरि भत्काउनुपर्छ । यसरी हेर्दा अहिले नेपालमा पनि धेरै वर्षदेखि विकास निर्माण नै त भइरहेको छ नि । जस्तै, सडक विभागले बाटो भत्काएर पछि कालोपत्रे गर्छ । त्यसको ठीक १ हप्तापछि खानेपानीले भत्काउँछ र फेरि पिच गर्छ वा नगरी छोडिदिन्छ । त्यसपछि सडक विभाग वा अर्कैले भत्काउँछ । अहिले मेलम्ची आयोजनाले भत्काएर कति ठाउँमा बाटो बनाइरहेको पनि छ क्यारे । अब नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् वितरण प्रणाली बनाउने भएको छ रे । मेलम्चीले पिच गरेको भत्काउने पालो सायद प्राधिकरणको हो । यसरी भत्काउँदै बनाउँदै गरेपछि जीडीपी बढ्दो रहेछ ।

यत्तिका वर्ष नेपालको आर्थिक वृद्धिदर किन बढेन भन्ने प्रश्नको उत्तर यसरी छर्लङ्ग भयो । धेरै समयदेखि देशमा ठूलो ध्वंस नभएकाले आर्थिक वृद्धिदर नबढेको रहेछ । २ वर्षअघि भूकम्प आयो र ध्वंस गर्दियो । अनि त्यो भूकम्पको अनुकम्पाले अहिले आर्थिक वृद्धिदर बढ्यो । यसरी हेर्दा नेपालको अहिले अविश्वास लाग्ने किसिमले आर्थिक वृद्धिदर बढ्नुमा अन्यभन्दा पनि बढी प्राकृतिक कारणले भएको देखिन्छ । अर्थात् पानीका कारण । भूकम्पका कारण । सरकारी क्रान्तिकारी हाकिमहरुका अनुसार त खानेपानी, ग्यास र बिजुलीका क्षेत्रमा पनि वृद्धिदर बढेर समग्र वृद्धिदर बढेको हो रे । तर, अलिक कुरो बुझिएन । ल बिजुली त नेपालमै पनि उत्पादन बढ्यो यस वर्ष, छिमेकीका दयाले पारिबाट ल्याएकोले मात्रै होइन । तर, यो ग्यास र पानी चैं कहाँबाट आएछ वृद्धिदर बढाउन ? त्यो पनि नेपाली जनतालाई थाहै नदिई ? म बिलखबन्दमा परेको छु ।

ओलीले पाइपबाटै घरघरमा ग्यास दिन्छु भन्थे । मकहाँ त अहिलेसम्म आएको छैन । एमालेका कार्यकर्तालाई मात्र बाँडेछन् कि क्या हो हँ ? कि भारतबाट आयात गरेको ग्यासले नेपालमा आर्थिक वृद्धि गर्दिएछ ? खानेपानीको आपूर्ति पनि मेरो टोलमा चैं छैन । तपैंकहाँ आउँछ कि क्या हो पानी ? त्यसो हो भने अब हामी पनि पानी कहाँबाट आउँदो रहेछ भनेर सडक खोतल्न हिँड्नुपर्छजस्तो छ । सडक खनेपछि पनि आखिर विकासै हुन्छ । आर्थिक वृद्धिदर पनि बढ्छ ।

कि कसो ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)