भारतको केरला राज्यका कलेजमा अध्ययनरत केही वरिष्ठ विद्यार्थीले परीक्षामा चिट चोर्ने नयाँ प्रविधिको विकास गर्दै विक्री गर्न थालेपछि राज्यका शिक्षा अधिकारीहरुको टाउकोदुखाइ बढेको छ । यो प्रविधिअन्तर्गत मोबाइल कनेक्टिभिटी प्रयोग गरिएको पाइएको छ । यो प्रविधि प्रयोग गर्ने विद्यार्थीले परीक्षामा उपस्थित हुँदा एक माइक्रोमिनी ब्लूटुथ उपकरण आफ्नो कानभित्र राख्ने गर्दछन् । त्यसैगरी माइकका रुपमा प्रयोग गर्न नङ अथवा शर्टमा माइक्रो स्पीकर लुकाइएको हुन्छ ।
विद्यार्थीले उक्त स्पीकरमार्फत प्रश्नपत्रमा लेखिएका प्रश्नको उत्तर बाहिर रहेका साथीलाई सोध्ने गर्दछन् । परीक्षार्थीले लुकाएका माइक्रो ब्लूटुथ र स्पीकर मोबाइलका कनेक्टिभिटीमा जोडिएका हुन्छन् । उक्त प्रश्नलाई बाहिर रहेका साथीले सुनेपछि मोबाइलबाट फोन गरी आफ्ना परीक्षार्थी साथीलाई बताउने गर्दछन् । त्यसपछि अर्को प्रश्नको उत्तर सोध्नचाहिँ परीक्षार्थीले आफ्नो जुत्ताभित्र राखिएको एक ब्लूटुथ बटनलाई थिच्ने गर्दछन् । परीक्षा अवधिभरि एवम्रीतले प्रश्नोत्तरको यही प्रक्रिया जारी रहने गर्दछ । यो प्रविधिको एक सेट २ हजार ५ सय रुपयामा विक्री–वितरण भइरहेको छ ।
यसको शुरुआत कहिलेदेखि भयो भन्ने यकिन भइनसके पनि राज्यको थ्रिसुर जिल्लास्थित ‘गभर्नमेण्ट मेडिकल कलेज’का विद्यार्थीले परीक्षामा यसको प्रयोग व्यापक रुपले गरेको पाइएको थियो । कलेजका प्रधानाध्यापक डा. गिरिजा केआरका अनुसार यो हाइटेक प्रविधि विक्री–वितरण गर्न एक समूह नै सक्रिय रहेको छ ।
चिकित्साशास्त्र जस्तो संवेदनशील विषयका विद्यार्थीले नै चिट चोरेर परीक्षामा उत्तीर्ण हुन प्रविधिको दुरूपयोग गरेपछि कलेजले पनि त्यसलाई रोक्न हाइटेक प्रविधि अँगालेको उनले बताए । ‘यसलाई दोहोरिन नदिन परीक्षाहलमा वायरलेस कनेक्टिभिटी रोक्न हामीले मोबाइल जामरको प्रयोग गरेका छौं,’ केआरले बताए । यसका साथै एक समूहलाई पक्राउ गरिसकेको पनि उनको भनाइ थियो ।