मानिसहरु आफ्नो पीडा र दुःख भुलाउन मदिरा सेवन गर्छन् र भोलिपल्ट ह्याङओभरका कारण उनीहरुलाई पेट तथा टाउको दुख्ने समस्या हुन्छ । यस्तोमा पीडा कम गर्न उनीहरु पेनकिलर वा प्यारासिटामोल प्रयोग गर्छन् । तर, हालै भएको एक नयाँ अध्ययनले भने पेनकिलरको सट्टा बियर पिउनु पीडा कम गर्न बढी प्रभावकारी हुने देखाएको छ । द जर्नल अफ पेनको पछिल्लो संस्करणमा प्रकाशित अध्ययनले यस्तो देखाएको हो । बेलायतको युनिभर्सिटी अफ ग्रिनविचका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार दुई पिण्ट बियर पिएमा व्यक्तिको पीडा चौथाइले घट्छ ।
रगतमा मदिराको मात्रा शून्य दशमलव शून्य ८ प्रतिशतले बढाउँदा शरीरमा पीडाको मात्रा थोरै भए पनि कम गराउँछ । मदिरा एक किसिमको प्रभावकारी पेनकिलर रहेको र यसले पीडाको मात्रा घटाउन महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने अध्ययनले देखाएको छ । केही समयदेखि पीडाको अनुभव गरिरहेका व्यक्तिहरुले मदिराको बढी दुरूपयोग गर्नुका कारण पनि यही हुन सक्ने बताइन्छ । यद्यपि, यस अध्ययनले मदिराले दिमागी रिसेप्टरलाई प्रभावित गरेर वा चिन्ता घटाएर पीडा घटाउँछ वा घटाउँदैन भन्नेबारे भने केही पनि बताएको छैन । मदिरालाई कोडिन (पीडा घटाउने औषधि)सँग पनि तुलना गर्न सकिने ग्रिनविच युनिभर्सिटीका अनुन्धानकर्ता ट्रेभर थोम्पसनले बताएका छन् । उनका अनुसार मदिरा प्यारासिटामोलभन्दा पनि बढी असरदार हुन्छ । यद्यपि, यसको मतलब मदिरा शरीरका लागि राम्रो हो भन्नेचाहिँ पक्कै पनि होइन । अत्यधिक मदिरा सेवनले मानिसलाई दीर्घकालीन समस्या दिन सक्छ । एजेन्सी