यो मङ्गलवार जताततै सडक जाम थियो । किन भनेर बुझ्दा थाहा भो, त्यो त स्थानीय चुनावमा मेयर, उपमेयर, वडाध्यक्ष आदि पदका उम्मेदवारहरुको नाम दर्ता गर्नेहरुको तामझाम र लामका कारण रहेछ । सडकका खाल्टाखुल्टी, धूलो, हिलोको कसैलाई वास्तै थिएन । के उम्मेदवार, के कार्यकर्ता, परिवारजन र शुभचिन्तक, सबै कुनै बिहेका जन्तीजस्ता देखिन्थे । १६ वर्षपछि चुनाव हुन लागेकोले हो कि किन हो, सबै जना सडकै कब्जा गरेर नातिको बिहेका हजुरबाहरुजस्तै प्रफुल्लित र उत्साहित देखिन्थे । अझ चुनावअगाडि नै फूलमाला, अबिर र बाजागाजाका साथ चुनावै जितेसरि हिँडिरहेको देख्दा केटाकेटीहरु पनि ताली ठोकेर रमाइरहेका देखिन्थे ।
उम्मेदवार पनि कस्ता कस्ता । २१ वर्षदेखि ८१ वर्षसम्मका । राजनीतिक क्षेत्रका कार्यकर्ता उम्मेदवार हुने भइहाले । त्योबाहेक नेउवा महासङ्घका वर्तमान उपाध्यक्ष, सुन व्यापारीदेखि पूर्वप्रहरीसम्म । कोही जोगी, कोही भोगी, कोही विद्यार्थी त कोही पत्रकार । कोही त तस्कर पनि छन् भनिन्छ । बागी उम्मेदवारहरु पनि थुप्रै छन् । पार्टीले टिकट नदिएपछि बागी बनेकाहरु जितेर बाघ बन्छन् कि स्याल, चुनावपछि नै थाहा होला । तर, एउटै परिवारका हजुरबा र नातिनी पनि उम्मेदवार । त्यसमा पनि कसैकी श्रीमती उपमेयरको उम्मेदवार, श्रीमान् वडाध्यक्षको । कुनैमा श्रीमान् एउटा दलबाट, श्रीमती अर्कै दलबाट । कुनै उम्मेदवार डीभी छाडेर, कुनै जागिरै हापेर ।
चुनावी भाषण पनि कत्ति रमाइला । दलहरुको घोषणपत्र त झन् कुनै चुट्किला र जोकको किताब पढेजस्तो । आफ्नै रेल बनाउनेदेखि कति वर्षमा नेपाल विश्वकै धनी देश बन्नेसम्मका ‘एलिश इन वण्डरल्याण्ड’ को धारावाहिक पढेजस्तो रमाइला प्रतिबद्धताहरु पनि छन् घोषणापत्रमा । अझ कम्युनिष्टका घोषणापत्रमा पूँजीवादी अर्थतन्त्रभन्दा एक कदम अगाडि बढेका प्रतिबद्धता छन् भने प्रजातान्त्रिक नामधारी दलका घोषणापत्रमा कम्युनिष्ट शैलीका दृढता पनि व्यक्त छन् ।
सबैभन्दा रमाइलो त चुनावी तालमेल देखिन्छ । न घोषणापत्र मिल्छ, न विचार । तर, चुनावी तालमेल भएको छ । चुनाव जित्नैका लागि उत्तर–दक्षिण फर्किएका माओवादी र राप्रपाबीच साँठगाँठ बनेको छ । त्यस्तै एकअर्काका कट्टरविरोधी एमाले र काङ्ग्रेसको सहकार्य छ कतै । कतै सङ्घीय पनि सँगै, फोरम पनि सँगसँगै । वाह ! क्या जोडीहरु मिलेका छन् काग र बकुल्लाका जोडीजस्ता लाग्ने । यसरी कहीँ सूर्य र गाईको मिलन भएको छ । कतै हँसिया, हथौडा र रुख वा हँसिया र हलोको पुनर्र्मिलन भएको छ । आहा ! कस्ताकस्ता दृश्यहरु हेर्न पाइएको छ जीवनमा यो चुनावले गर्दा ।
एउटा दृश्य यस्तो देखियो । एक जनाले उम्मेदवारमा मनोनयन पाउने आश्वासन पाएपछि काठमाडौंबाट हेलिकोप्टर नै चार्टर्ड गरेर भरतपुर पुगेछन् । तर, नेताका बाहुलीबाट उम्मेदवारीचाहिँ अर्कैले पड्काए । नेताको पूजा नगरी केवल लक्ष्मी वा सरस्वतीको उपासना गरेर मात्र पुग्दैन भन्ने कुरा नेपाली मोडलको संसदीय प्रजातन्त्रको मर्म नै उनले बुझेका रहेनछन् । त्यसैले उनको हालत ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ गीतको जस्तो भएछ । त्यसैले नेपालमा केही गर्ने हो भने बेलैमा नेताको आशीर्वाद लिन जान्नुपर्छ ।
उदाहरणका लागि, नेताहरुकहाँ आशीर्वाद थाप्न नगएकै कारण प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग लाग्यो । नेताकै आशीर्वाद नभएर वरीयतामा प्रथम भए पनि सिलवाल हिस्स परे, अर्कैले आईजीपी पड्काए । आशीर्वाद केवल राजनीतिक क्षेत्रमा मात्र चाहिने होइन । नेपालमा यो सर्वत्र चाहिन्छ । उद्योग वाणिज्य महासङ्घमै हेर्नुस् । जगजाहेर छ– पूर्वअध्यक्षहरुको आशीर्वाद नपाएको भए शायद भवानी पहिले वरिष्ठ उपाध्यक्ष र अहिले अध्यक्ष बन्ने थिइनन् । भलै उनलाई पहिलेदेखि नै चण्डीको विशेष आशीर्वाद थियो नै । चन्द्र र शेखरको पनि साथ त छँदै थियो ।
यसरी विगतमा पनि राजनीतिक नेतादेखि उद्योगी व्यापारीका नेताहरुका आशीर्वाद प्राप्त गरेकै कारण यस्ता उस्ता कस्ता कस्ता भए । तर, आशीर्वाद पाउन नसक्ने कस्ता कस्ता पनि यस्ता उस्तामै रहिरहे । त्यसैले सबैले समयमै बुझिराखौं । नेपालमा केही गर्ने हो, यहीँ टिकेरै बस्ने हो भने ठूलाका आशीर्वाद चैं थापिहालौं । आजैदेखि ठूलाठालू नेताको चाकरीमा धाउन थालिहालौं । नत्र पछि सिलवालले जस्तै पछुताउनुपर्ला है !