ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनाव र समृद्धिका सपना

May 12, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पर्सी त चुनाव । छुट्टि नै छुट्टि । आहा क्या मज्जा ! अस्ति मङ्गलवार कानून दिवस, बुधवार बुद्धजयन्ती । शुक्रवार सधैं आधा छुट्टि हुन्छ । शनिवार त यसै स्थायी छुट्टि भैहाल्यो । आइतवार चुनावकै छुट्टि । मतदाता परिचयपत्र हुनेहरु त मतदान गर्न जानुहोला, नहुनेलाई त  त्यो दिन पनि यसै छुट्टि भैहाल्यो । मतगणना गर्न भनेर पनि सरकारले थप दुई/चार दिन छुट्टि दिन बेर छैन । छुट्टि दिने विषयमा हाम्रो सरकार अलि बढी उदार छँदै छ । सरकारले छुट्टि नदिए पनि चुनावभन्दा धेरै दिन पहिलेदेखि नै प्रायः कर्मचारीहरुले सेवाग्राहीलाई चुनाव सकिएपछि आउनुस् भन्थे । किनकि उनीहरु छुट्टिको ‘मुड’मा पुगिसकेका थिए । अब नतिजा निस्किएपछि आउनुस् भन्न बेर छैन । छुट्टिप्रिय सबै नेपालीलाई बधाई नै बधाई छ ।

अब कुरा गरौं स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर प्रमुख दलहरुले सार्वजनिक गरेका घोषणापत्रहरुको बारेमा ।

सर्वप्रथम त वर्षभरि यति धेरै छुट्टिहरु हुँदाहुँदै पनि सबै दलले देशमा आर्थिक समृद्धि ल्याउने कुरा घोषणापत्रमा छाप्नु चानचुने साहसको कुरा होइन ।

दोस्रो, हाम्रा राजनीतिक दलहरु कति दूरद्रष्टा छन् भन्ने कुरा प्रायः सबै दलहरुको घोषणापत्र पढ्दैमा थाहा हुन्छ । किनकि स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बनाएको भए पनि घोषणापत्र पढ्दा यो त केन्द्रीय संसद्को चुनावका लागि बनाइएको हो भन्ने मान्नै पर्छ अर्थात् यसपछि हुने भनेको प्रदेश सभा र केन्द्रीय संसद्को चुनावका लागि फेरि घोषणापत्र बनाउनै परेन । किनकि स्थानीय चुनावमा स्थानीय मुद्दाहरु उठाउनुको साटो दूरद्रष्टा भएकै कारण प्रायः सबै दलले राष्ट्रिय मुद्दाहरु नै उठाएका छन् ।

तेस्रो कुरा, पैले पैलेका घोषणापत्रहरुमा राजनीतिक विषयहरुले प्राथमिकता पाएका हुन्थे । तर, योे पाला आर्थिक सपनाहरुको फेहरिस्त राखिएको छ अर्थात् आर्थिक मुद्दाहरु केन्द्रविन्दुमा छन् । अर्थात नेपाली नेताहरुमा पैसा कमाउनुपर्छ भन्ने आकाङ्क्षा अझ दरो भएर आएजस्तो छ । यो साह्रै खुशीको कुरा हो ।

उदाहरणका लािग, एउटा दल छ जो आफूलाई प्रजातन्त्रको ठेकेदार नै हो जस्तो व्यवहार देखाइरहन्छ, उसले आफ्नै नेतृत्वमा समृद्धि ल्याउने दाबी गरेको छ । १० वर्षभित्र १० प्रतिशत निरन्तर आर्थिक वृद्धि गर्ने, हरेक वर्ष ५ लाखलाई जागिर दिलाउने, १० वर्षमा १० हजार मेवा बिजुली निकाल्ने, प्रतिवर्ष १० लाख पर्यटक भित्र्याउने रे । (यसपाला यो पार्टीले आफ्नो घोषणापत्रमा समाजवादको उल्लेख गरेनछ । यसको मतलब उसले समाजवाद छाडेको होला कि आफ्ना पुराना नेतालाई बिर्सेको बुझ्न सकिएन । कट्टर कम्युनिष्टहरुसँग चुनावी तालमेल गरेको देख्ता त यो पार्टी समाजवादको सट्टा अब साम्यवादतिरै पो लागेको हो कि जस्तो लाग्छ) ।

एउटा अर्को दलले त गाउँदेखि केन्द्रैसम्म आफ्नै सरकार बनाउने रे । त्यस्तै, १५ वर्षमा देशलाई धेरै नै धनी बनाउने रे । २० वर्षमै प्रतिव्यक्ति आम्दानी ५ हजार डलर बनाइदिने रे । १८ वर्ष पुगेका सबैलाई जागीर दिने रे । १० वर्षमा १५ हजार मेवा बिजुली निकालेर विदेशमा पनि बेच्ने रे । १० वर्षमै रेल, पानीजहाज केके सबै निर्माण गर्दिने रे । पाँचै वर्षमा खाद्यान्न निर्यात गर्ने देश बन्ने, १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने रे । (ग्यासको पाइप घरघर पु¥याउने कुराचाहिँ यो पार्टीले लेख्न बिर्सिएछ जस्तो छ ।)

अर्काे दलले त गाउँघरमा पनि सिंहदरबारै पु¥याउने रे । त्यो भत्किन लागेको सिंहदरबारको इँटा, माटो लाने भनेका हुन् कि गाउँगाउँमै आ–आफ्नो नयाँ सिंहदरबार बनाउने भनेका हुन्, अलि बुझिएन । अनि प्रत्येक नेपालीलाई बिजुली कम्पनीको रु. १/१ लाखको शेयर दिने रे । किसानलाई पेन्सन दिएर जनतालाई टेन्सन कम गर्ने रे । गाउँगाउँमा फ्रि वाईफाई बाँड्ने रे । त्यसो भएपछि श्रीमान् विदेश गएका कारणले घर नबस्ने वाइफहरु घरमै रहन्छन् भनेर होला ।

उता, अर्काे दलले त देशमा सकारात्मक परिवर्तन गरेर देखाउने रे । त्यो सकारात्मक भनेको के हो त्यो चैँ पाठक आफैले बुझ्नुहोला । सबै प्रकारका स्थानीय कर पनि मिनाहा गर्दिने रे, त्यो पनि १० वर्षभित्रै । १० वर्षभित्र जुँगाका रेखा माथि पुगेका जति सबैलाई गरीबीको रेखाभन्दा माथि ल्याइदिने रे । शायद टुप्पी तानेर माथि उचाल्ने भनेको हो कि ।

एउटा अर्काे पार्टी छ, जसमा मान्छे पुरानै भए पनि पार्टीको नाम चैँ नयाँ छ । उसले पनि आफ्नै पालामा देशमा कहाँबाट हो समृद्धि ल्याइदिने रे । कृषिमा मात्र होइन क्रान्ति, पाएसम्म सबै क्षेत्रमा क्रान्ति गर्दिने रे । अरुले कुरा गरे पनि यो पार्टीले चाहिँ साँच्चै नै २ अङ्कको वृद्धि गर्दै सर्पलेझैं नभई हवाईजहाजले जस्तै विकासलाई छलाङ मार्न लगाउने रे । पहिले सर्पजस्तो घस्रिने नभई भ्यागुतो जस्तो उफ्रिने विकासको कुरा हुन्थ्यो । अहिले भ्यागुताको ठाउँमा हवाईजहाज नै आइपुगेछ । जे होस् प्रगति त छ है !

यसरी दलहरुका घोषणापत्रहरु हेर्दा नेपालीहरुका समृद्धिका सपना चाँडै नै पूरा होला जस्तो छ है ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)