जुलियान ट्राउथिग
वाशिङटनस्थित क्यापिटोल हिल । बिहानको ९ बज्न केही मिनट बाँकी छ । एरिक हप्किन्स आफ्नो शरीरको भार एउटा खुट्टाबाट अर्कोमा सार्छन् । ‘थाकियो,’ अनुहारमा बलजजफती मुस्कान ल्याउँदै उनी भन्छन् । होचा कदका ४४ वर्षे हप्किन्स बिहान ४ बजेदेखि टलक्क टल्किएको क्यापिटोल भवनलाई घेरेर उभिएको अमेरिकी कङ्ग्रेस (संसद्)का कार्यालयहरूमध्ये एकमा लागेको एउटा लामो लाइनमा उभिएका थिए । उनलाई आफ्ना आँखा खुला राख्न पनि गाह्रो हुँदै गएको छ । उनी झण्डै पाँच घण्टा लाइनमा उभिइसकेका छन् । उनलाई अझै एक घण्टा यसैगरी उभिनु छ ।
हप्किन्स ‘लाइनस्ट्याण्डर’ हुन्, जसले संसदीय सुनुवाइका बेला क्यापिटोलमा वा सर्वोच्च अदालतबाहिर लाग्ने लामा लाइनमा खडा हुने जागीर खान्छन् । हप्किन्स र उनका झण्डै १ सयजति साथीहरूको पेशा नै यी भवनबाहिर लाइनमा खडा हुनु हो, त्यो पनि अरू कसैका लागि । उनीहरूको काम भनेको वाशिङटनका प्रभावशाली ‘लबिष्ट’हरूका लागि क्यापिटोल वा अदालतमा प्रवेशका लागि ठाउँ सुरक्षित गरिदिनु हो ।
प्रतीक्षामा खेर फाल्ने समय छैन
‘उनीहरू ठूला मान्छेहरू हुन् । उनीहरू लाइनमा उभिएर समय खेर फाल्दैनन्,’ हप्किन्स भन्छन् । यस कामका अनुभवीहरूका लागि पाँच घण्टाको प्रतीक्षा सामान्य हो । तर, धेरै गम्भीर तथा विवादास्पद विषयहरूका बेलामा भने उनीहरूले अझ बढी दुःख गर्नुपर्छ । पछिल्लोपटक उनीहरूले बाराक ओबामाले ल्याएको स्वास्थ्य विधेयकको विरुद्धमा मुद्दा पर्दा यस्तै मेहनत गर्नुपरेको थियो । ‘त्यसबेला हामी तीन दिन अघिदेखि नै सर्वोच्च अदालतअगाडि लाइनमा बसेका थियौं,’ हप्किन्स भन्छन्, ‘हामीले शिफ्टमा काम गर्नुपरेको थियो ।
आफ्नो पालो नपरेका बेलामा हामी कारमा सुत्थ्यौं । घर जाने त कुरै थिएन ।’ व्यवसायी र कम्पनीहरूका लागि, मजदूर सङ्गठनका लागि तथा नागरिक सङ्घसंस्थाहरूका लागि लबी र स्वार्थ समूहहरूले अमेरिकी राजनीतिमा महत्वपूर्ण भूमिका खेल्छन् । यस्ता संस्था तथा समूहका आलोचकहरूले त उनीहरूको यो भूमिका अनावश्यक रूपमा ठूलो भएको बताउँदै आएका छन् । ठूला लबी तथा स्वार्थ समूहले नेताहरूलाई प्रभावमा लिन दशौं लाख अमेरिकी डलर खर्च
गर्छन् ।
यस्ता लबिष्टहरूमा धेरैजसो वकील तथा पूर्वकङ्ग्रेस सदस्यहरू हुन्छन् । यी समूहहरूले आफ्नो प्रभाव बढाउन र उनीहरूको मागमा समर्थन जनाउने उमेदवारहरूलाई सहयोग गर्नका लागि राजनीतिक क्याम्पेनहरूमा ठूलो रकम चन्दा दिनेदेखि ‘राजनीतिक एक्शन कमिटी’ सञ्चालन गर्ने र रकम सङ्कलनका लागि विभिन्न ‘फण्ड राइजिङ’ कार्यक्रम चलाउने सम्मका काम गरिरहेका हुन्छन् । तर, लाइनमा खडा हुनु उनीहरूको मूल्यको तुलनामा निकै तुच्छ काम हो । ‘हामी यहाँ नहुने हो भने हाम्रा ग्राहकहरूले ठूलो तलब खाने कर्मचारीलाई लाइनमा उभिन पठाउनुपर्ने हुन्छ,’ मार्क ग्रोस भन्छन् ।
व्यवस्थित सेवा
ग्रोस क्विक मेसेज सर्भिस (क्यूएमएस) नामको कम्पनीका प्रमुख हुन् । हाल ‘लाइन स्ट्याण्डिङ’का क्षेत्रमा उनको कम्पनी सबैभन्दा ठूलो हो । यो क्षेत्रमा आउने कम्पनीहरूको सङ्ख्या वर्षेनि बढ्दो छ, जसले रोजगारीका लागि यो क्षेत्र आकर्षक बन्दै गएको प्रस्ट हुन्छ ।
लबी समूहले क्यूएमएसलाई प्रतिव्यक्ति प्रतिघण्टा ३६ डलर तिर्छन् । सन् १९८५ मा कुरियर कम्पनीका रूपमा स्थापना भएको क्यूएमएसले सन् १९९२ देखि लाइनस्ट्याण्डिङ सेवा शुरू गरेको हो । अहिले कम्पनीले ५० जनालाई लाइनस्ट्याण्डरको जागीर दिएको छ । उनीहरूमध्ये अधिकांश विद्यार्थी, सेवानिवृत्त कर्मचारी र एउटा काम छोडेर अर्को कामको प्रतीक्षामा रहेका व्यक्ति छन् । तर, हप्किन्सजस्ता प्रोफेशनल भने निकै कम छन् । २ वर्षअघि यो पेशामा प्रवेश गरेका उनी सफलताको खुडकिलो उक्लिंदै कम्पनीमा सुपरभाइजर बनेका छन् । ‘यो सजिलो पेशा होइन,’उनले भने ।
उनी लाइनमा उभिएको झण्डै पाँच घण्टापछि कालो सुटमा सजिएका एक व्यक्ति आउँछन् र हप्किन्सले रोकेको ठाउँमा उभिन्छन् । थकित स्वरमा उनी भन्छन्, ‘अन्ततः अब चैं घर गएर सुत्न पाइने भयो ।’
डोयचे प्रेसे एजेन्टुर