देशमा खास कुनै विशेष गतिविधि नभइरहेको बेला स्थानीय चुनाव साँच्चिकै पो भयो । यसले निराश बसेका नेपाली जनता धेरैलाई उत्साहित र केहीलाई उत्तेजित बनायो । त्यसमा रौनक थप्यो चुनावी तालमेल र विभिन्न रमाइला घटना परिघटनाहरुले ।
नतिजा चाँडै सुन्न आतुर मतदाता र जिज्ञासुहरुका लागि कछुवालाई पनि आत्मग्लानि हुने किसिमले मतगणना भइरह्यो । त्यसैले भोट गनिसक्दा युवा रञ्जु दर्शना न्यौपाने बूढी हुने भइन् भन्ने चिन्ता पनि कतिपय शुभचिन्तकहरुमा देखियो । तर, चुनाव हुन २० वर्ष कुर्न सक्नेहरु नतिजाका लागि जाबो १०÷२० दिन कुर्न पनि नसक्ने भनेर प्रमुख आयुक्तले दिएको जवाफले नेपाली अधिकारीहरुमा प्रत्युत्पन्न मति रहेको तथ्य पनि उजागर गर्यो ।
चुनावी नतिजा पनि थप रोमाञ्चक विषय बन्यो । किनकि ८० प्रतिशत हिन्दू भएकै कारण देशमा राजतन्त्र, हिन्दू राज्यको नारा बजारमा राम्रै चल्छ भन्ठानेर चुनावमा होमिएको गाई पार्टी राप्रपाको मतजति खोलाले बगाएजस्तो छ राष्ट्रिय बेइज्जत हुने गरी । नयाँ शक्ति पार्टी र अन्य नयाँ खोलेका दलहरुको हालत पनि पार्टी प्यालेसमा पार्टी चलेको बेला यसो चहलपहल भएजस्तो तर ‘भरे फेरि एकान्तमा रुनु त छँदै छ’ भनेजस्तै भएको छ ।
चुनावी तालमेलले पनि जनता हँसायो । एक त उठ्दै नउठेका एउटा पार्टीका एक उम्मेदवारका नाममा पनि थुप्रै भोट आएछ । भलै यसले पुराना दलहरुप्रति अझै जनताको मन मरिसकेको रहेनछ भन्ने पनि देखायो । दोस्रो, ठूला टाउकेहरु मिलेर गरेको चुनावी तालमेलले परिणाम त उल्टो पो ल्यायो । समय बलवान् हुन्छ भन्थे । हो रै’छ । पहिले टाउकाको मूल्य तोक्ने र मूल्य तोकिएको टाउकोवाला दुवै मान्छेको टाउको एउटै बनाएर आफ्ना कार्यकर्ता, छोराछोरीका लागि तालमेल र तारतम्य मिलाएर चुनावमा भोट मागे पनि छुट्टाछुट्टै टाउकोले छुट्टाछुट्टै मागेका भए आउनेजति भोट पनि आएन । सबैभन्दा ताल नमिलेको तालमेल चैँ फोरम नयाँ शक्तिको देखियो । किनकि फोरमलाई नयाँ शक्ति भनेको हो कि नयाँ शक्तिलाई नै फोरम अर्थात् टुक्र्याम भनेको हो भन्ने द्विविधाले यो गठबन्धनलाई भोटरहरुले त्यत्ति भोट दिएनन् ।
उता मत पनि थुप्रै बदर भएछन् । किनकि भोटरले क्रसभोट धेरै हालेछन् र त्यो गर्दा निकै झुक्किएछन् । यसको मतलब देशमा साक्षरता बढे पनि मतदाता पूर्ण शिक्षित अझै भाका रैन्चन् । हुन त एक त नाङ्लोजत्रो मतपत्र, दोस्रो दल र उम्मेदवार पनि कति कति । त्यसैले जनता झुक्किए होलान् । निर्वाचन आयोगले जति तयारी पूरा भयो भनेर दाबी गरे पनि मान्छेलाई पढाउने काम चैं गर्न अझै सकेका रैन्चन् भन्ने पनि थाहा भयो । अथवा मतदाताले खुरुखुरु एउटै चिह्नमा छाप लगाउँदै गएको भए भैहाल्नेमा धेरै जान्ने भएर आफ्नै बुद्धिले राम्रा–राम्रा उम्मेदवार छान्नतिर लागेका हुनाले त्यस्तो भएको पनि हुनसक्छ ।
वर्षौं राजनीति गरेका, पुराना पार्टीवालाहरु देशमा थुप्रै भए पनि चुनाव जित्ने ट्रिक चैं केवल एक/दुई पार्टीले मात्र थाहा पाएका छन् जस्तो छ देशमा । त्यो ट्रिक हो जनतालाई फिल्म देखाएजस्तै सपना देखाइरहने । पहिलेजस्तो बियर, मासुभात खुवाएर मात्र अहिले चुनाव जितिँदैन । नेपाली जनता अलिअलि त शिक्षित भइसके जस्तो छ । अहिले बूथ कब्जा गरेर चुनाव जितिँदैन र त्यो पहिलेजस्तो सजिलो पनि छैन । नत्र आफैं प्रधानमन्त्री भएका बेला प्रचण्डले छोरीलाई जिताउँदैनथे र ?
त्यसैले यो चुनावमा त्यै दल र उम्मेदवारले बढी भोट पाएका छन्, जसले बढी सपना देखाउन सकेका छन् । हुन त यो नियम संसारभरि नै सबै देशका मतदाताका लागि लागू हुन्छ । तर, अरु देशमा देखाएका कतिपय सपना पूरा पनि गर्नुपर्छ, नेपालमा चाहिँ पर्दैन । नपत्याए २०औं वर्षदेखिका नेपाली राजनीतिक दलहरुका घोषणापत्र मात्र पढे पनि पुगिहाल्छ । ती घोषणापत्रहरुअनुसार त अहिलेसम्म नेपाल भ्रष्टाचारमुक्त देश भइसक्यो । नेपालमा २०औं हजार मेगावाट बिजुली उत्पादन भइसक्यो । विकासमा नेपालले सिङ्गापुरलाई उछिनिसक्यो । शिक्षा, स्वास्थ्य, पूर्वाधार आदिमा विश्वमै नमूना बनिसक्यो । केके बन्यो बन्यो ।
यसरी नेपालमा चुनाव जित्न सपना देखाए पुग्छ, वाचा गरे पुग्छ, त्यो पूरा गरिरहन पर्दैन । शायद त्यसैले होला, केही समयअघि एक नेपाली ठूला क्रान्तिकारी नेतालाई अमेरिकाका राष्ट्रपतिले गुरु मान्न तयार भएर सोधेका थिए रे, ‘कहाँबाट कसरी आउँछ हौ त्यति धेरै मीठामीठा सपनाहरु तपाईंहरुका दिमागमा ? लौ न जनतालाई नयाँनयाँ सपना देखाउने केही तरीका हामीलाई पनि सिकाइदिनुस् न ।’