जेठ ३, लण्डन (बेलायत) । शहरको सुन्दरता बढाउन र हरियाली कायम गर्न पछिल्लो समय सानाठूला हरेक शहरमा रूख बिरुवा रोप्ने चलन बढेको छ । सडकका दायाँबायाँ अनि चोक र तीनकुनेमा पनि ठाउँ हेरेर रूख बिरुवा लगाउने तथा बगैंचा बनाउने गरिएको छ । सिमेण्ट कारखानाजस्ता बढी धूवाँधूलो निकाल्ने कारखाना भएका स्थानमा कारखानाका चारैतिर ठूला र अग्ला रूख पनि रोप्ने गरिएको छ । तर, हालै बेलायतमा गरिएको एक अनुसन्धानले भने अग्लाअग्ला भवन भएका स्थानमा वायु प्रदूषण सोस्न अग्ला रूखभन्दा झाडी बढी उपयुक्त हुने देखाएको छ ।
खुला ठाउँ पर्याप्त भएको स्थानमा भने वायु प्रदूषण कम गर्न अग्ला रूखहरू नै उचित भएको समेत अनुसन्धाताहरूले बताएका छन् । सर्रे युनिभर्सिटीका अनुसन्धाताहरूका अनुसार खुला स्थान नभएका र घरैघरले ढाकिएका शहरमा सानासाना झाडी र झयाम्म परेका बुट्यानले भवन र सवारीसाधनबाट निस्किने प्रदूषणलाई एक्जष्ट पाइपको तहमै सोस्दछ । यसरी हानिकारक प्रदूषणले मानिसमा प्रत्यक्ष पर्ने प्रभावसमेत कम भएको पाइएको छ । नगरपालिका र शहर परिषद्ले सडक फराकिलो छ भने पैदलयात्री हिँड्ने बाटो र मूल सडकको बीचमा दायाँबायाँ नै होचा झाडी हुने बिरुवा रोप्नु उपयुक्त हुने प्रतिवेदनमा मुख्य लेखक तथा सुर्रे युनिभर्सिटीका प्राध्यापक प्रशान्त कुमारले सल्लाह दिएका छन् । आफू र आफ्ना सहकर्मीहरूले यूरोप र अमेरिकाका वायु प्रदूषण सोस्न सबैभन्दा उपयोगी बिरुवा र यसको उपयुक्त उचाइबारे अनुसन्धान गरिरहेको कुमारले बताएका छन् । यसो भन्दैमा अग्ला रूख लगाउनै नहुने र सबैतिर झाडी हुने साना बिरुवा मात्रै लगाउनुपर्छ भन्ने चाहिँ नभएको उनले तर्क दिएका छन् । अग्ला रूखका पातमा भन्दा होचा झाडीको पातमा धूलो धेरै जम्मा हुने त हामीले पनि त देख्दै आएका छौं नि होइन र ? एजेन्सी