कुनै पनि काम गर्दा पाइने फिडब्याक (पृष्ठपोषण)ले कार्यसम्पादनलाई प्रभावित बनाउने गरेको हालै गरिएको एक अध्ययनमा पाइएको छ । युनिभर्सिटी अफ लण्डनकी एक वरिष्ठ मनोविज्ञले गरेको उक्त अध्ययनमा सबै प्रकारका फिडब्याकले कार्यसम्पादनलाई कुनै न कुनै रुपमा प्रभावित पारिराखेका हुन्छन् । ‘फ्रण्टियर्स इन न्यूरोसाइन्स’ नामक जर्नलमा प्रकाशित डा. माग्डा ओस्मानको एक सोध रिपोर्टअनुसार मानिसहरुले पाउने सकारात्मक अथवा नकारात्मक फिडब्याकले उनीहरुका निर्णय क्षमतालाई नै प्रभावित बनाउन सक्छन् ।
‘अत्यधिक मात्रामा सकारात्मक अथवा नकारात्मक फिडब्याक पाएका मानिसहरुको अध्ययन गर्दा उनीहरु जानकारीका थुप्रोले थिचिने र सही निर्णय लिनबाट चुक्ने पाइएको छ,’ रिपोर्टमा उल्लेख छ । मुख्य रुपमा लक्षित काम गरिरहँदा दिइने फिडब्याकले मानिसहरुको निर्णय क्षमता र कार्यसम्पादनमा नकारात्मक असर पार्ने डा. ओस्मानको भनाइ थियो ।
विशेषगरी व्यवस्थापकीय पदमा रहेकाहरुले आफूमातहतका कर्मचारीलाई फिडब्याक दिँदा ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘जटिल प्रकारका निर्णय गर्नुपर्ने अवस्थामा रहेका मानिसहरुलाई दिइने फिडब्याकले सहयोग पुर्याउँदैन, व्यवस्थापकहरुले कुनै पनि जटिल काम गरिरहेका आफूमातहतका कर्मचारीलाई विश्लेषण र मूल्याङ्कन गर्न समय दिनुपर्दछ,’ डा. ओस्मानले लेखेकी छन् । अनावश्यक फिडब्याकबाट कर्मचारीको ध्यान कामभन्दा अन्यत्रै तानिने हुनाले समस्याको समाधान पहिल्याउन यस्तो गरिनुपर्ने उनले बताइन् ।