समय त निकै बदलिएछ । एउटा जमाना थियो, हरेक सरकार बाहिर पुग्नेबित्तिकै उसको पहिलो नारा हुन्थ्यो, ‘प्रधानमन्त्री राजीनामा दे’ भन्ने । तर, अस्ति प्रचण्डले प्रमबाट राजीनामा गर्छु भन्न भ्या’थिएनन्, ‘राजीनामा नदे नदे’ भनेर प्रतिपक्षले होहल्ला गरे । यता एकपटक कुर्ची पाएपछि सकेसम्म नछाड्ने कम्युनिष्ट नेता प्रचण्डले १० महीनामै राजीनामा गरे । यो किन, कसरी, के कारणले भयो पाठक आफै जानकार हुनुहोला । तर जे कारणले भए पनि समय फेरिएको त पक्कै हो ।
स्थानीय चुनावमा पनि हिन्दू धर्म र राजतन्त्रको नाराका कारण राप्रपा अझ शक्तिशाली होला, माओवादीको पत्तासाफ होला, नयाँ दल साझा र विवेकशीलका उम्मेदवारहरुको जमानतसमेत जफत होला भनेर विश्लेषण गर्नेहरु फेल खाए । किनकि प्रायः सबै कुरा उल्टो पो भइदियो । गाई पूरै दुब्लाएर सुक्यो, सूर्य उदायो, रुख झ्याङ्गियो, हँसिया हथौडा पनि चम्कियो । केके भयो भयो । समय त साँच्चिकै पो बदलिएछ त । समय केवल राजनीतिमा मात्र बदलिएको होइन । सामाजिक, आर्थिकलगायत सबैसबै क्षेत्रमा ‘बदलाहट’ देखिन्छ ।
अब हिजोका गाउँहरु गाउँ रहेनन्, नगरपालिका भए । कति नगरपालिका महानगर बने । के भएपछि गाउँ नगर बन्ने हो र नगरचाहिँ महानगर भन्ने कुराको भेद भने यो पङ्क्तिकारलाई थाहा छैन । किनकि सबै गाउँ र नगर उस्तैउस्तै देखिन्छन् । नयाँ घोषणा गरिएका नगरपालिका अर्थात् नपामा कुनै नयाँ बाटो, घाटो, पुल वा पूर्वाधार बनेका छैनन् नै । गाउँमा त यसै बन्ने कुरै भएन । गाउँ र नगर उस्तैउस्तै भएर होला नगरपालिका बने पनि त्यो अनुसार सुविधा नपाइने भएर नपा भनेको हो कि ? वा गाँउमाजस्तै नगरमा पनि ‘केही नगर’ भनेर पो नगर—पालिका भनिएको हो कि ?
यता पहिलेजस्तो रहनसहन, लवाइखवाइमा पनि गाउँ र नगरबीच खासै भेद देखिँदैन । को शिक्षित, को अशिक्षित, को गाउँले, हो शहरिया, चाइनिजहरुले सबै नेपालीलाई आधुनिक पहिरन लगाउन यसरी समर्थ बनाइदिएका छन् कि विगतमा जस्तो मान्छेको रुप, रङ, पहिरन हेरेर को कस्तो भनेर छुट्याउनै सकिँदैन । त्यस्तै, नेपाली राजनीतिक दल र कार्यकर्ता, तिनका घोषणापत्र र प्रतिबद्धता आदि हेर्दा पनि एकअर्काबीच खास कुनै भेद देखिँदैन । शायद त्यसैले पनि नगर र गाँउबीच कुनै भेद नराखिएको हो कि ?
यसरी बदलाहट आर्थिक, व्यावसायिक, नीतिगत, व्यवहारगत सबैतिर देखिन्छ । नेता र सरकारी कर्मचारी जो हिजो ‘अण्डर द टेबल’मा विश्वास गर्थे, अहिले सीधै ‘अबभ द टेबल’मा पुगेका छन् । हिजो एउटा बीमा कम्पनीको लाइसेन्स पाउन दशकौंसम्म कुर्नुपरेको थियो, आज एकैचोटि १०÷१५ ओटाले पाए । विगतमा एकपटक बैङ्क बीमा कम्पनीको अध्यक्ष तथा सीईओ भएपछि आजीवन त्यही पदमा बस्न पाइन्थ्यो, अब नपाइने भएको छ ।
यता प्रविधिमा त क्रान्ति नै भइसकेको छ । हिजोका प्रत्येक तेस्रो किराना पसल अहिले मोबाइल फोनसम्बन्धी पसलमा परिणत भएका छन् । पीसीओ त ५/७ वर्षअघि नै बन्द भइहाले । अब विस्तारै नोटको सट्टा डिजिटल पैसाले काम चल्ने बन्दै गएको छ । नेपालमै पनि अफिसहरुमा धेरै मानिसका काम सफ्टवेयरहरुले स्याहार्न थालेका छन् । विकसित मुलुकमा त धेरै काम रोबोटलाई नै गराउन थालिसके रे, यहाँसम्म कि गर्लफ्रेण्ड ब्वायफ्रेण्ड बन्ने बनाउनेसम्म पनि । तर नेपालमा चैं यो प्रविधिको क्रान्ति खासगरी फेसबुक र फोनबाट धेरै भएको देखिन्छ । त्यसैले फेसबुकबाट फ्रेण्ड हुने अनि फोन गरेर घरबाट भाग्ने काम धेरै हुँदै गएको तथ्याङ्कहरुले देखाएका छन् । यसले कतिलाई जोडेको छ भने कतिको परिवार तोडेको छ । अर्थात् जमाना बदलिइसकेको छ ।
त्यसैले पक्ष, विपक्ष, जनता, जनार्दन सबैलाई समयअनुसार बदलिन यो पङ्क्तिकारको फ्रि सल्लाह छ है । नत्र पछि पर्नुहोला नि !