ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजीक्षेत्रलाई छुट्टै पदक

Jun 2, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

नेपाल सरकारको सिफारिशमा यसै हप्ता राष्ट्रपतिज्यूको वरद बाहुलीबाट विभिन्न क्षेत्रका झण्डै ५ सय मानिसको झुण्डलाई विभिन्न पदक तथा विभूषणले सुशोभित गरिएको छ । तर, त्यसमा निजी क्षेत्रका व्यक्तिहरु जम्मा ८ जना मात्र परेछन् । निजीक्षेत्रका व्यवसायीहरु पदक तथा सम्मान पाउन त्यति योग्य नभएर हो, भनसुन नपुगेर हो वा सरकारी हाकिमहरुले आफू र आफ्नालाई मात्र सिफारिश गर्ने क्रममा भाग नपुगेर हो भन्ने कुरा पदक दिलाउनेलाई थाहा होला । त्यसैले अहिले त्यतातिर नलागौं ।

त्यस्तै, अस्ति बजेट भाषणमा पनि निजीक्षेत्रका सुझावहरुलाई बेवास्ता गरिएको गुनासा आएका छन् । त्यसैले नेपालको निजीक्षेत्रका व्यक्तित्वहरुलाई उत्साहित बनाइराख्नुपर्ने आवश्यकता बढ्दै गएको देखिन्छ । त्यसका लागि उहाँहरुलाई प्रदान गर्न केही नयाँ पदक तथा विभूषणहरु सिफारिश गरिएको छ । यी पदकहरु वितरण गर्न सकिएमा आशा छ, यसले नेपाली उद्यमशीलतालाई अरु माथिल्लो तहमा उचाल्नेछ ।

१. नेपाल रत्न तथा आभूषण पदक
सुनचाँदी तथा घरजग्गा कारोबारीहरुमध्ये यो वर्ष सबैभन्दा कम व्यवसाय भएकोलाई छानेर यो पदक प्रदान गरिनुपर्छ । किनकि यो वर्ष अन्यको तुलनामा यो क्षेत्रमा अलि बढी नै मन्दी आएकोले व्यवसायीहरुलाई ढाडस दिइराख्नु आवश्यक छ ।

२. स्वीकृतिमय दीप
यो पदक चैं सबैभन्दा बढी व्यावसायिक लाइसेन्स लिन सफल व्यवसायी वा समूहलाई प्रदान गरिनु उपयुक्त हुन्छ ।

३. विकासे किर्ती प्रथम श्रेणी
यो चैं बाउआमा वा देशको पैसाबाट विदेशमा अर्थशास्त्र वा बिजनेश म्यानेजमेण्ट पढेर स्वदेशमा बसेर आईएनजीओमा काम गरेर देश सेवा गरिरहेका विद्वान्हरुमध्येबाट २÷४ जनालाई छानेर दिइनु उपयुक्त हुन्छ । आईएनजीओ÷एनजीओहरुलाई सरकारी भन्न त्यसै मिलेन । अनि त ती व्यक्ति पनि निजीक्षेत्रकै भइहाले ।

४. राष्ट्र ऊर्जा रत्न
घरखेत बेचेरै भए पनि जसरीतसरी विदेश जान लागेका आजका युवालाई विदेश जानबाट रोकेर स्वदेशमै आगो बाल्न उक्साउन सक्ने क्षमता भएका व्यक्ति तथा समूहलाई लगातार सहयोग गरेर ऊर्जा प्रदान गरिरहने उद्यमी वा व्यवसायीलाई यो पदक दिन सकिन्छ ।

५. अति पौरख तस्कर भाष्कर प्रवीण
नेपालको अन्तरराष्ट्रिय विमानस्थलवरिपरि सबैभन्दा बढी आवतजावत गर्ने र खासगरी त्यो भन्सारबाट हात्तीसमेत छिराउन सकिन्छ भन्ने अन्तरराष्ट्रिय विशिष्टतालाई चरितार्थ गराउन लागिपरेका व्यवसायीलाई यो पदक दिनैपर्छ ।

६. सुप्रबल (सुधारिएको प्रचण्ड बहादुरको लफङ्गो) दक्षिणबाहु
जुँगाको रेखी नबस्दै घरजम व्यवसायमा हात हालेर दुई वा सोभन्दा बढी आफ्नै परिवार बनाउन सफल विशेष खुबी भएको निजीक्षेत्रको युवालाई खोजेर यो सुकीर्ति सम्मान प्रदान गरिनु न्यायोचित हुन्छ ।

७. चाचा रत्न
यो चैं आफ्नो बारेमा मार्केटिङ गर्न शिपालु, पर्‍यो भने चाचा अर्थात् चाकडी चाप्लुसी गर्न पनि अप्ठेरो नमान्ने र विशेष पीआरको खुबी भएको ‘डिफरेण्टली सबल’ व्यवसायीलाई यो सम्मान दिइनुपर्छ ।

८. लोकश्री मरणोपरान्त गोदबा
व्यावसायिक क्षेत्रमा जीवनभरि खास कुनै योगदान दिन नभ्याए पनि सधैं कोटको खल्तीमा ‘हिङ हालेको टालो’ राखेर हिँड्ने उद्योगी, व्यवसायी घरानामध्येका कसैलाई उसको मृत्युपछि सम्झेर दिइने पदक हो यो । यो पदकको दाबेदार एकभन्दा बढी हुन आएमा दोस्रो दाबेदारको विषयमा किताबसिताब निकालेर पनि सम्मान व्यक्त गर्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)