जापान विश्वमा रोबोटिक विकासमा अगुवा राष्ट्र हो । जापानमा विश्वका आधाभन्दा बढी औद्योगिक रोबोटहरु प्रयोग गरिन्छन् । तर, औद्योगिक प्रयोजनसँगै मनोरञ्जनमा पनि त्यहाँ रोबोटहरू व्यापक रूपमा प्रयोग गर्न थालिएका छन् । यसैक्रममा टोकियोको रेड लाइट क्षेत्रनजिकै एक अनौठो रेष्टुराँ सञ्चालनमा ल्याइएको छ । खानपिन र साजसज्जा अन्य रेष्टुराँहरुजस्तै भए पनि यहाँ नर्तकीहरु भने निकै भिन्न छन् । यहाँका नर्तकीहरु मानिस नभएर रोबोटहरु हुन् । ‘रोबोट रेष्टुराँ’ नामक यो रेष्टुराँ अहिले टोकियोको एक प्रमुख मनोरञ्जन केन्द्रका रुपमा उदाइरहेको छ । यो रेष्टुराँका तीन रोबोट नर्तकी इञ्जिनीयरहरुले हातैबाट निर्माण गरेका हुन् ।
यिनीहरुको उचाइ ३ मिटर ६ सेण्टिमिटर रहेको रोबोट रेष्टुराँका प्रवक्ता वान्तानाबेले जानकारी दिए । यी रोबोटहरुलाई ज्वाइष्टिकको माध्यमबाट दुई जनाले सञ्चालन गर्ने गर्छन् । तर, यिनीहरुको नाच हेर्दा भने नर्तकहरु नाचिरहेका नभई झगडा गरिरहेका जस्ता लाग्दछन् । ‘यहाँ देखाइने नृत्य पनि बलिया महिलाहरु झगडा गरिरहेको अवधारणामा आधारित छ,’ वान्तानाबेले भने । हुन पनि रोबोट नतर्कीहरुको शारीरिक आकार हेर्दा तिनीहरु निकै बलिया महिलाहरुझैं लाग्छन् ।
यो रेष्टुराँमा देखाइने प्रत्येक रोबोटिक नाच एक घण्टाको हुने गर्छ । तिनमा लोकप्रिय जापानी र अङ्गे्रजी सङ्गीतका धुन बजाइने गरिन्छ । यहाँ ग्राहकलाई गरिने सेवा पनि अन्य स्थानको भन्दा निकै फरक छ । १ घण्टाको नृत्यपछि सैनिक पोशाक लगाएकी एक बेट्रेस एउटा अनौठो रोबोटिक बाहनमा पेय पदार्थ र खानेकुरा लिएर ग्राहकको टेबुलमा आउने गर्छिन् । यहाँ भेटिने ग्राहकले यो आफूले भ्रमण गरेको रेष्टुराँमध्येकै सबैभन्दा सृजनशील भएको प्रतिक्रिया दिने गर्दछन् । रेष्टुराँका प्रवक्ता वान्तानाबेका अनुसार यसको स्थापना र शुरुआतका लागि १२ करोड ५८ लाख अमेरिकी डलर खर्च भएको छ ।