लाखौं बेरोजगार स्पेनीमध्ये एक भए पनि २२ वर्षीया सिल्भिया मार्टिनले अहिलेको अप्ठ्यारो अवस्थामा एक बैङ्कको सहारा भेटेकी छन् । तर, यो कुनै ऋण प्रवाह गर्ने व्यावसायिक वित्तीय संस्थाजस्तो नभई समयको बैङ्किङ गर्ने संस्था रहेको छ । यो बैङ्कमा आबद्ध सुश्री मार्टिनजस्ता ४ सय सदस्यले आफ्नो समयको आधारमा सेवा विनिमय गर्ने गर्दछन् । एक प्रकारले हेर्दा यो नेपालको पर्मप्रथाकै विकसित रुपजस्तो देखिन्छ । यो बैङ्कमा घण्टाको आधारमा विनिमय गर्ने नियम बनाइएको छ ।
उदाहरणस्वरुप यसका सदस्यहरुले एक अर्काकोमा गएर घर ममर्तजस्ता सेवाहरु दिने गर्दछन् र त्यसको बदलामा अन्य सदस्यहरुबाट आफ्नोमा यस्तै खालका सेवा पाउने गछ्र्रन् । यो बैङ्कमा सबै सदस्यको बेग्लाबेग्लै खाता बनाइन्छन् र तिनमा समयको आधारमा गरिएका सेवाहरुको ‘क्रेडिट’ जम्मा गरिन्छ । ‘समयको बैङ्कले मेरो खर्चमात्र जोगाएको छैन, यसले अप्ठ्यारो समयमा सामुदायिक कार्य गर्ने तीव्र भावना पनि उत्पन्न गराइदिएको छ,’ मार्टिनले भनिन् ।
हो, ऋणसङ्कटले देशको बैङ्किङ क्षेत्र क्षतविक्षत हुँदै गएपछि स्पेनभरि अहिले सेवा विनिमय गर्ने यस्ता बैङ्कहरु धमाधम सञ्चालनमा आइरहेका छन् । ४ वर्षअघि घरजग्गा व्यापार धराशयी भएपछि शुरु भएको ऋणसङ्कटले उत्पन्न गरेको समस्यासँग जुध्न स्पेनी युवा आफ्नै तरीकाले सृजनशील बन्दै गर्दा यी बैङ्कहरु सञ्चालनमा आएका हुन् । तर, समयको बैङ्किङ गर्ने यी संस्थाहरुले स्थानीय खुद्रा व्यापारलाई गति दिन ‘बार्रीओस’ भनिने मुद्रा पनि प्रचलनमा ल्याएको छ । यो मुद्राको प्रयोग गर्दै बैङ्कका सदस्यहरुले आफैले चलाइरहेका स्थानीयस्तरका खुद्रा पसलहरुमा सस्तो दरमा खाद्यान्नलगायतका घरायशी सामग्री खरीद/विक्री गर्ने गर्दछन् । त्यसैगरी फ्याँकिने गरिएका पुराना घरायशी सामग्रीको पुनःप्रयोग र विक्री गर्न च्यारिटी नेटवर्कहरु पनि शुरु गरिएका छन् ।
स्पेनमा हालै गरिएको एक अध्ययनअनुसार देशभरि सामुदायिक सङ्गठन र स्थानीय सरकारले सञ्चालन गरेका समयका बैङ्कहरुको सङ्ख्या २ सय ९१ पुगेको छ । यस्ता संस्थाका सञ्चालकहरु समय बैङ्कको अवधारणा १९औं शताब्दीका अमेरिकी र यूरोपेली अराजकतावादी र समाजवादी चिन्तकहरुबाट मिलेको बताउँछन् । ती चिन्तकहरुले मानवीय श्रम र वस्तुको उत्पादनबारे व्यक्त गरेका धारणालाई अहिले वास्तविक रुपमा परीक्षण भइरहेको उनीहरुको भनाइ छ ।