प्रख्यात कार्टून शृङ्खला ‘द फ्लिण्टस्टोन्स’का पात्रहरुले पेडलविनाको साइकल दौडाएको त सबैले देखेकै हो । तर, दुई जना जर्मन इञ्जिनीयरले द फ्लिण्टस्टोन्सकै चरित्रले प्रयोग गर्ने यातायातबाट सृजनात्मक प्रेरणा लिएर निर्माण गरेको त्यस्तै एक साइकलले मानिसहरुको ध्यान आकृष्ट गरिरहेको छ । ‘फ्ल्जि बाइक’ नाम दिइएको यो साइकलका चालकले हिँडेर अथवा दौडेर आफ्नो गति कायम राख्ने गर्दछन् ।
अहिले बजारमा उपलब्ध साइकलहरुभन्दा नितान्त फरक ढाँचाको फ्ल्जि बाइकमा चालकको ढाडपट्टिको भाग साइकलको मुन्तिर हार्नेस बेल्टले बाँधिएको हुन्छ । चालकले हिँडेर वा दौडेर साइकल चल्न सक्ने पर्याप्त गति बनाइसकेपछि फ्ल्जि बाइक गुड्ने गर्दछ । त्यसपछि उनले आफ्ना दुवै खुट्टालाई पछिल्तिरको पाङ्ग्रामा राखिएको ‘फूटरेष्ट’मा राख्न सक्छन् र साइकललाई आफूले चाहेको गति वा दिशामा दौडाउन सक्छन् ।
पेडलविनाको साइकलको अवधारणा नयाँ भने हैन । यसका निर्माताहरु इञ्जिनीयरद्वय टम हाम्ब्रोक र जुरी स्पेट्टरका अनुसार फ्ल्जि बाइकको निर्माण विश्वको पहिलो साइकल ‘लौफ्राड’को डिजाइनमा आधारित छ । पेडलविनाको लौफ्राड साइकललाई जर्मन विकासकर्ता कार्ल डारिसले सन् १८१७ मा बनाएका थिए । हाम्ब्रोक र स्पेट्टरले आफ्नो वेब साइटमा फ्ल्जि बाइकले चालकलाई साइक्लिङको नितान्त नयाँ अनुभूति प्रदान गर्ने लेखेका छन् । ‘यो पूर्णरुपमा सुरक्षित छ, यसको ५ बिन्दुको हार्नेस बेल्ट प्रविधिले चालकलाई निकै आरामदायी साइक्लिङको अनुभूति गराउनेछ,’ इञ्जिनीयरद्वयको दाबी छ । उनीहरुले साइकलको फ्रेमले चालकको शारीरिक अवस्थालाई स्वतः समायोजन गर्ने (मिलाउँदै जाने) जानकारी दिए ।
‘हामीले यो साइकलको निर्माणबाट भीडभाडयुक्त शहरी क्षेत्रमा वातावरणमैत्री सवारीको प्रयोग बढाउने लक्ष्य राखेका छौं,’ वेब साइटमा उल्लेख छ । हाम्ब्रोक र स्पेट्टरले आफ्नो डिजाइन यो वर्षको जेम्स डायसन एवार्ड कम्पिटिशनमा दर्ता गराइसकेका छन् । सृजनात्मक उत्पादनका लागि १० हजार पाउण्ड पुरस्कार राशिको प्रथम पुरस्कार भएको जेम्स डायसन एवार्ड कम्पिटिशन प्रत्येक वर्ष बेलायतमा आयोजना गरिन्छ ।