विश्वभरको विद्युत् आवश्यकता पूरा गर्न वायुऊर्जा नै पर्याप्त हुने हालै गरिएका दुई अध्ययनमा पाइएको छ । अमेरिकी वैज्ञानिकहरुका दुई फरक समूहले गरेका ती अध्ययनमा अहिले उपलब्ध ‘विण्ड टर्बाइन’ प्रविधिलाई अधिकतम स्तरमा प्रयोग गर्न सकिए सयौं खर्ब वाट विद्युत् उत्पादन हुने उल्लेख छ । आइतवार र सोमवार गरी ‘नेचर क्लाइमेट चेञ्ज’ र ‘नेशनल एकेडेमी अफ साइन्सेज’ नामक दुई फरक जर्नलहरुमा ती अध्ययन प्रकाशित भएका थिए । ‘वायुऊर्जाको क्षमता साँच्चिकै असीमित छ,’ वाशिङटन राज्यस्थित क्याम्पस कार्नेजी इन्ष्टिच्युशन फर साइन्सका वातावरण वैज्ञानिक केन काल्देइराले भने ।
काल्देइराको समूहले गरेको अध्ययन आइतवार नेचल क्लाइमेट चेञ्ज जर्नलमा छापिएको थियो । उक्त अध्ययन गर्ने वैज्ञानिकहरुले हावामा अहिले विश्वले खपत गरिरहेको भन्दा २० प्रतिशत बढी ऊर्जा उत्पादन गर्ने क्षमता रहेको बताएका छन् । ‘वर्तमानमा वायुबाट अत्यन्तै न्यून परिणाममा मात्र ऊर्जा निकाल्न सकिएको छ । यो स्तरमा वृद्धि गर्न सकिए नाटकीय निष्कर्ष पाइनेछ,’ काल्देइराले भने । तर, वायुऊर्जाबारेका प्रश्नहरु स्रोतको उपलब्धतासँग सम्बन्धित नरहेर आर्थिक र इञ्जिनीयरिङसँग जोडिएको उनको भनाइ छ ।
त्यसैगरी नेशनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित अर्को शोधमा अहिले विश्वभर सञ्चालन गरिएका एक विण्ड टर्बाइनको ठाउँमा १ सयओटा स्थापना गर्न सकिए विश्वको विद्युत् आवश्यकता पूरा हुने बताइएको छ । स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक मार्क ज्याकोब्सनको टोलीले गरेको उक्त शोधअनुसार तेल, ग्यासलगायतका इन्धनमा सरकारहरुले दिने गरेका सहुलियतले वायुऊर्जाको विकासमा अवरोध खडा गरेको औंल्याइएको छ । विश्व वायुऊर्जामा अहिले नै नगइहाले तापनि जैविक इन्धन सकिँदै गएको अवस्थामा भने त्यसतर्फ जानैपर्ने बाध्यता सृजना हुने ज्याकोब्सनले दाबी गरे ।