सामान्यतया विद्यालयमा पढ्ने भर्खरका किशोर–किशोरीहरु धेरै बोझ नभएको विषय पढ्न बढी लालायित हुन्छन् । तर, बेलायतका किशोर–किशोरीहरु भने विश्वका अन्य देशका आफ्ना समकक्षीले पढिरहेकोभन्दा बोझिलो मानिने वित्तीय शिक्षा पढाउनुपर्ने माग गरिरहेका छन् । बेलायतमा हालै गरिएको एक अध्ययनमा सामेल ९६ प्रतिशत स्कूले विद्यार्थीले आर्थिक र व्यक्तिगत वित्त व्यवस्थापनबारेका विषय पढाइनुपर्ने बताएका थिए । विश्वव्यापी वित्तीय सङ्कट र त्यसपछि जारी आर्थिक मन्दीले बेलायती समाज र परिवारहरुमा परिरहेको असर प्रत्यक्ष रुपमा देखिरहेकाले उनीहरुले यो विषय पढ्न चाहेको उत्तर दिए । वित्तीय शिक्षाले आफूवरिपरि भइरहेको आर्थिक गतिविधि बुझ्न सहयोग गर्ने र समस्या आइपरेमा समाधानको बाटो सुझाउने उनीहरुको भनाइ छ ।
बेलायतभरिका १ हजार १ स्कूले विद्यार्थीमाझ गरिएको यो अध्ययनमा सामेल गरिएकामध्ये ४३ प्रतिशतले व्यक्तिगत वित्तीय स्रोतहरु घटिरहेकोप्रति चिन्ता जाहेर गरेका थिए । त्यसैगरी झण्डै १२ प्रतिशतले आफूहरुले आफ्ना परिवार अथवा साथीभाइहरुसँग लिएका ऋण तिर्न नसकिरहेको जानकारी दिएका थिए । त्यस्तै, ८५ प्रतिशतले आफूहरुलाई विद्यालयमा पैसा र वित्तीय स्रोतबारे उचित ज्ञान नदिइने गुनासो गरेका थिए । यो अध्ययन त्यहाँका दुई प्रमुख च्यारिटीहरु नेशनल चिल्ड्रेन्स ब्युरो (एनबीसी) र पसर्नल फाइनान्स एजुकेशन ग्रूप (पीएफईजी)को संयुक्त प्रबन्धनमा प्यानलबेस नामक बजार अनुसन्धान संस्थाले गरेको थियो । प्यानलबेसका अनुसार उक्त अध्ययनमा ७ वर्षका बालबालिकादेखि १६ वर्षका किशोर– किशोरी सामेल गरिएका थिए ।
अध्ययनमा स्कूले विद्यार्थीको रूचि सोचेभन्दा निकै फरक पाइएपछि बेलायती शिक्षा मन्त्रालयले पनि पाठ्यक्रममा वित्तीय विषय सामेल गर्ने गृहकार्य शुरु गरेको छ । मन्त्रालयका एक उच्च अधिकारीले आफूहरु अहिलेको पाठ्यक्रमको समीक्षा गर्दै अनिवार्य विषयका रुपमा यसलाई सामेल गर्न आफूहरु अग्रसर भएको जानकारी दिए ।