आजकल हामी सबै नक्कली सामानबाट पीडित छौं । बजारमा सामान खरीद गर्दा नक्कली पर्ने हो कि भन्ने चिन्ताले हामीलाई सताइरहन्छ । सामानको सही पहिचान गर्ने विभिन्न उपायहरू अपनाउँदै आए पनि ती उपाय त्यति उपयोगी नभएका र कुनैले त जाँचको क्रममा उत्पादनलाई समेत नष्ट गर्ने गरेको पाइएको छ ।
तर, हामीले बोक्दै आएको स्मार्टफोनको प्रयोग गरी नक्कली सामानको पहिचान गर्न सकिने भएको छ । भारतीय मूलका अमेरिकी अनुसन्धानकर्ताहरूले एक नयाँ प्रणालीको विकास गरेका छन् जसले आर्टिफिसियल इण्टेलिजेन्स एल्गोरिदम र स्मार्टफोन एपको प्रयोग गरेर उही उत्पादनको नक्कली र सक्कलीबीचको फरक पत्ता लगाउन सक्छ । यस प्रणालीले फ्याब्रिक, छाला, पिल्स, विद्युतीय उपकरण, खेलौना र जुत्ताजस्ता वस्तुको ३० लाखओटा इमेजको डाटाबेस जडान गरेर काम गर्छ । ‘यसको प्रयोग गरेर हामीले दैनिक प्रयोग गर्ने वस्तुको सत्यता प्रमाणित गर्न स्मार्टफोनको प्रयोग कसरी हुन्छ भन्ने कुरा देखाउँछौं,’ न्यूयोर्क युनिभर्सिटीका प्राध्यापक लक्ष्मीनारायणन सुब्रह्मण्यनले भने ।
यस विकसित सिष्टमलाई क्यानडामा हुन लागेको नलेज डिस्कभरी एण्ड डाटा माइनिङसम्बन्धी सम्मेलनमा अगष्ट १४ मा सार्वजनिक गरिने भएको छ । यसलाई अश्लेष शर्मा, विद्युत् श्रीनिवासन र सुब्रह्मण्यनले स्थापना गरेको न्यूयोर्क युनिभर्सिटीको स्टार्टअप इण्ट्रपी इङ्कले डिजाइन गरेको हो ।
यसबाट नक्कली वस्तुको पहिचान गर्न पनि सजिलो छ । जुन वस्तुको जाँच गर्ने हो त्यसमाथि डिभाइस राखेर स्मार्टफोन वा टयाब्लेटमा इण्ट्रपी एप खोल्ने र त्यसपछि एपले भनेजस्तै गरेर त्यसको तस्वीर लिई वस्तुको पहिचान गर्न सकिन्छ । आर्टिफिसियल इण्टेलिजेन्स एल्गोरिदमले वस्तुको सत्यता पहिचान गर्न त्यसको जाँच गर्छ ।
नक्कली सामानको पहिचान गर्ने अन्य उपायहरू भए पनि ती उपायहरूले अनुसन्धानका क्रममा उत्पादित वस्तुलाई नष्ट गर्न सक्ने खतरा पनि उत्तिकै हुन्छ । तर, इण्ट्रपी प्रक्रियाले भने उत्पादनलाई कुनै प्रकारको हानि नपुर्याई नक्कली र सक्कली वस्तुको पहिचान गर्न सक्छ । एजेन्सी