ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राहतमा मन्त्रीको सेल्फी

Aug 18, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
तराई जलमग्न छ, पहाड पहिरोमा छ । त्यसैले देश शोकमा डुबेको छ । २ वर्षअघिको भूकम्प गएपछिको जस्तै दृश्य दोहोरिएको छ । बाढी प्रभावित क्षेत्रमा राहत सामग्री नपुगेका समाचार पनि आएका छन् । तर, स्वयम् प्रधानमन्त्री, गृहमन्त्री र अन्य मन्त्रीगणहरु हेलिकोप्टर चार्टर्ड गरेरै भए पनि आआफ्नो गृह जिल्ला मात्र होइन अरु जिल्लाहरुमा पनि पुगिरहेका छन्, बाढीपहिरो कहाँ, कसरी गयो भनेर निरीक्षण गरिरहेका छन् । ज्ञान बढाइरहेका छन् । यो कम उपलब्धिको कुरा होइन । त्यो ज्ञान उनीहरुले भोलि देशकै हितमा प्रयोग गर्नेछन् । सरकारले फेरि एकपटक राहतका बाक्लै योजनाहरु बनाइरहेको छ । अब फेरि एकपटक हाम्रा मन्त्री, प्रधानमन्त्रीहरु चढेका हेलिकोप्टर जलमग्न र शोकमग्न नेपाली आकाशमाथि उडिरहेका छन् । फेरि पनि मन्त्रीहरुका गलामा फूलका माला सुशोभित भइरहेका छन् । प्रकृतिले दिएको आहतमा मन्त्रीहरुका गतिविधिका यी दृश्यहरुले बाढीपहिरोबाट बाँचेकालाई राहत दिइरहेको छ । हुन पनि विगतमा कहिल्यै नपुगेका र भविष्यमा पनि चुनाव वा यस्तै प्राकृतिक बाध्यताबाहेक शायद फेरि कहिल्यै नपुग्ने ठाउँमा नेताहरु पुगिरहेका छन् । आश्वासन नै सही, बाँडिरहेका छन् । बिपत्ति परेका बेला आश्वासन पाउनु पनि ठूलै कुरा पो हो त । त्यसमा पनि भगवान्जस्तै साक्षात् मन्त्री, प्रधानमन्त्री आफ्नै खोला वा खोलो बगेको टहरोछेउ आइपुग्दा खुशी नहुने को होला र ? हुन पनि जे हुनु त भैगो । मन्त्री, प्रधानमन्त्रीले भनेर वा गरेर यसमा हुने कुरो क्यै थिएन र छैन पनि । प्रकृतिको लीलाको अगाडि कसको के लाग्छ र ? तैपनि फेसबुकेहरु र यो भएन र त्यो भएन मात्र भनेर कराइरहेका छन् । समाचार छाप्ने मिडियावालाहरु सरकारलाई गाली मात्र गर्छन्, बाढीपहिरो पीडितहरुकहाँ सरकार पुगेन भनेर । ए बाबा ! गएकै त हो, हेलिकोप्टर चढेर । गाडीबाट जाने कुरा भएन । किनकि देशभरिका बाटोघाटो, पुल धेरै ठाउँमा वर्षौंदेखि भत्किएका छन् । यो साउने बाढीले झन् बढी भत्काएको छ । १६ करोड लागतमा बनाएको मगरगाडी–गुलरियाको पुल होस् वा करोड खर्च गरेर बनाएको नरदेवीको पुल, मन्त्रीले उद्घाटन नै गर्न नपाईकन बर्खाको भेलका कारण भत्किएछन् । यस्ता थुप्रै पुलपुलेसा बनाएको केही समयपछि नै भत्किएका छन् । हिजोआज यो सिमेण्ट र छड नै कमसल बन्छजस्तो छ । त्यसैले कुनै चीज बनाउन भ्याछैन, भत्किन थालेको छ । अब भत्किने चीज भत्किइहाल्यो । यसमा सरकारले के नै पो गर्न सक्छ र ? कतिपय मानिसहरु सरकारले प्राकृतिक विपत्ति आउनुअघि नै पूर्वतयारी गर्नुपथ्र्यो भन्छन् । ए बाबा ! भूकम्प वा बाढीपहिरोले ‘म आउँदै छु है’ भनेर बाजा बजाएर, पहिल्यै सूचना दिएर आउँछ र भन्या ? सरकारले त बरु कतिपय व्यक्ति तथा संस्थाले प्राकृतिक विपत्तिपछि पीडितहरुकहाँ गएर आफूखुशी राहत बाँडेको थाहा पाएर दुःख व्यक्त गरेको छ । त्यसरी आफूखुशी राहत बाँडिएकै कारण पनि मन्त्री, नेता, सरकारले काम गरेको नदेखिएको हो । त्यसैले पीडितहरुकहाँ सोझै गएर आफूखुशी राहत नबाँड्न भनेर सरकारले कडा उर्दी जारी गरिसकेको छ । यसले पनि सरकार पीडितहरुप्रति कति संवेदनशील छ भन्ने प्रमाणित गर्दछ । त्यसैले अब उप्रान्त कसैले कसैलाई सीधै सहयोग दिन पाइँदैन । दिएको पाइएमा पीडितलाई उद्धार गर्न जाने जोकोहीलाई कारबाही गर्नुपर्छ र तु जेल चलान गर्नुपर्छ । सरकारी हाकिम, नेता र मन्त्री वा प्रधानमन्त्रीको सेल्फी फोटोविना दिइएको राहत वा कुनै पनि सहयोग सरकारलाई मान्य हुनेछैन । सेल्फी केवल धुर्मुसको वा दुई÷चार पोका चाउचाउ बाँड्न जानेहरुको मात्र हुनुपर्छ भन्ने होइन । मन्त्री आदिको पनि पीडित क्षेत्रमा हेलिकोप्टरमा फन्को लगाएको वा त्यस्तै अरु फोटो फेसबुक र पत्रपत्रिकामा राख्दिनु पर्छ । हुन पनि यो सबैका लागि लाभदायक नै हुन्छ । कमसेकम यो कदमले मन्त्रीहरुको अनुहार जनताले चिन्न पाउनेछन् । किनकि हरेक ६/८ महीनामा बनेका सबै नयाँ मन्त्रीहरुलाई जनताले चिन्नै पाएका हुँदैनन् । त्यसैले राहत सामग्रीसँगै उभिएका मन्त्रीको कानदेखि कानसम्म फैलिएको मुस्कुराहटसहितको सेल्फी पत्रपत्रिका र फेसबुकका वालहरुमा छापिदियो भने नयाँनयाँ मन्त्रीहरुलाई जनतासित राम्रोसँग परिचित गराउनलाई त्यो निकै राम्रो उपाय हुन सक्छ । बरु यसतर्फ सहयोग गर्न सबैलाई हार्दिक अपिल पनि गर्दछु ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)