काठमाडौं (अस) । हरेक महीना तपाईंकहाँ घरायसी रूपमा बिजुलीको उपभोगबापत कति रकमको बिल आउँछ ? घर परिवारका सदस्य, घरमा चलाइने विद्युतीय सामग्रीको सङ्ख्या र प्रकार अनि घरको आकार हेरी कसैको घरमा ४/५ सय बिल आउला, कसैकसैकोमा भने ८/१० हजारभन्दा धेरैको बिल पनि आउँला । व्यवसाय र उद्योगहरूको बिजुलीको महशुल पनि लाख करोडसम्म होला । तर, कुनै महीना अर्बौं रुपयाको बिजुलीको बिल आयो भने तपाई के गर्न हुन्छ ?
भारतमा यस्तै भएको छ । झारखण्डको जमशेदपुरमा एक व्यक्तिको नाममा अर्बौं रुपयाको बिजुलीको बिल आएको भारतीय न्यूज एजेन्सी एनआईले एक समाचारमा बताएको छ । समाचारअनुसार बीआर गुहाको नाममा आइतवार ३८ अर्ब रुपयाको बिजुलीको बिल आएको हो । महशुल भुक्तानी नभएको भन्दै उनको घरको बिजुलीको लाइनै काटिएको बताइएको छ ।
जम्मा ३ कोठा भएको घरमा ३ ओटा पङ्खा, ३ ट्युबलाइट र एउटा मात्र टीभी चलाउँदा एक महीनाको ३८ अर्ब बिल आउँछ भने तपाईं हामीमध्ये जो कोही पनि स्तब्ध हुन सक्छौं । यस विषयमा त्यहाँको विद्युत् विभागविरुद्ध उजुरी दायर भइसकेको बताइएको छ । भारतमा यस्तो भएको यो नै पहिलो पटक भने होइन । यसअघि सन् २०१४ को अक्टोबरमा हरियाणाका एक पान पसलेको नाममा १ अर्ब ३२ करोड २९ लाख रुपयाको बिजुलीको बिल आएको थियो ।