ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘मम’ ठूलो बनाऔं, ‘राम’ थपौं

Aug 25, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु गरे । इतिहासकै जम्बो मन्त्रिपरिषद् बनाएर पहिलेको आफ्नै रेकर्ड ब्रेक गरे । देउवाबाट जे अपेक्षा थियो, त्यै गरे । राम्रो गरे । केपी ओली प्रम हुँदा ६ जना उपप्रम बनाएर अरुको रेकर्ड ब्रेक गरेका थिए । तर देउवाले त राज्यमन्त्री मात्र बनाएर रेकर्ड तोडेका हुन् । तोड्नमा त देउवा माहिर छन् । पहिलेपहिले पनि धेरै कुरा तोडेकै हुन् । हुन पनि मन्त्री, उपप्रधानमन्त्री मात्र बनाएर त कसरी राज्य गर्न सकिन्छ र ? तिनले आफ्नै गाथगाधी ताक्न बेर लाउँदैनन् । त्यसैले देउवाले राज्यमन्त्री धेरै बनाएका हुन्, राज गर्नलाई । वास्तवमा मन्त्रीको सङ्ख्या यत्तिले मात्र पुग्दैन । हरेक मन्त्रालयमा मन्त्री पछिपछि राज्यमन्त्री हुनैपर्छ । मन्त्रीलाई, राज्यमन्त्रीलाई कहाँ अफिस दिने, कहाँ बस्न दिने भन्ने समस्या त मन्त्री वा मन्त्रालयको हो । प्रमको होइन । यता जम्बो मन्त्रिमण्डल बनाएर, राज्यमन्त्रीहरुको हूललाई सिंहदरबार हुलेर देउवा उता अर्थात् भारत पनि जम्बो प्रतिनिधिमण्डल लिएर गए । ‘थिङ्क बिग, एक्ट बिग’ भन्छन् । सानो चित्त गरेर, सानो मन्त्रिमण्डल बनाएर वा सानो प्रतिनिधिमण्डल बनाएर हिँड्नेजस्ता काम ठूलो चित्त भएका देउवाले गर्न कदापि सुहाउँदैनथ्यो पनि । त्यसैले देउवाको ठूलो चित्तअनुसार प्रम हुनेबित्तिकै ठूलठूलै कामहरु गर्न शुरु गरेका छन् । हुन पनि जमाना नै जम्बो मात्र होइन, सुपर जम्बोको छ । एमालेले ‘एक घर एक रोजगार’को नारा मात्र लिएर आएको थियो क्यारे । तर, देउवाको लक्ष्य ‘एक घर, एक मन्त्री’को हो, जसलाई उनले नारा मात्र होइन, गरेरै देखाउनेवाला छन् । त्यो लक्ष्य अहिल्यै हासिल गर्न नसके पनि कमसेकम ‘एक सांसदबराबर एक मन्त्री’ बनाउने सङ्केत उनले दिइसकेका छन् । यसो गर्न सके देशमा ठूलै उपलब्धि हुनेछ । पञ्चायतकालमा रेडियोमा एउटा गीत खूब बज्थ्यो, ‘चौतारीमा राजा भेटिए, भञ्ज्याङमा रानी भेटिइन्’ भनेर । तर, देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको परिप्रेक्ष्यमा अब गल्लीगल्लीमा मन्त्री भेटिनेछन् । किनकि त्यो अहिलेको आवश्यकता पनि हो । त्यसैले अब गीतको बोल पनि फेरिनेछ, ‘गल्लीमा मन्त्री भेटिए, भट्टीमा राज्यमन्त्री भेटिइन्’ भनेर । पहिलेकाले एउटैलाई दोहोर्‍याई तेहेर्‍याई मन्त्री बनाउँथे । तर, दूरदर्शी देउवाले त्यसो गरेनन् । उनले नयाँनयाँ अनुहार भएका र अनुहारै नभएकालाई समेत मन्त्री बनाइदिएका छन्, शपथ ख्वाइदिएका छन् । अब बाँकी कुरा खाने काम मन्त्रीहरु स्वयम्ले गर्नुपर्नेछ । कतिपय मानिसहरु संविधानअनुसार भएन भन्छन् । एउटा त संविधान नै बनाउने अख्तियार पाएकाहरुलाई यो लागू हुने होइन नि । यो त जनताका लागि पो बनाइदिएको हो त । दोस्रो, सबै कामहरु यो संविधानअनुसार नै भैरा’छ पनि । अबको सङ्घीय संरचनामा मन्त्रीहरुको माग बढ्ने कुरा संविधानमै लेखिसक्या छ । प्रान्तीय सरकार बनेपछि त्यस्का मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री सबै बनाउनुपर्छ । अहिलेका राज्यमन्त्रीहरु नै कुनै न कुनै प्रान्तका मुख्यमन्त्री बन्ने हुन् । ख्वै कुरा बुझ्या ? अनुभवै नभा’ मान्छेलाई मुख्य मन्त्री बनाउने कुरा पनि त भएन । त्यसैले अहिलेका राज्यमन्त्रीहरु कहिले मन्त्रीको, कहिले सचिवको पछिपछि लागेर केही सिक्छन्, अनुभव लिन्छन् भनेरै देउवाले यिनलाई ३ महिने राज्यमन्त्री वा राम बनाएका हुन् । अर्को शब्दमा भन्नुपर्दा निकट भविष्यमै मन्त्री बन्न योग्य मान्छेको उच्च माग हुने भएकाले देउवाले अनुभवी म्यानपावर सप्लाई गर्न भनेरै अहिलेको सरकारलाई मन्त्री ट्रेनिङ सेण्टरजस्तो बनाएका हुन् । यसरी धेरै मन्त्री बनाएपछि अर्थतन्त्र पनि चलायमान हुन्छ भन्ने कुरा अनुभवी देउवाले नबुझ्ने कुरै भएन । मन्त्रीको नयाँ कार्यकक्ष बनाउनुपर्‍यो, सोफा, पङ्खा, टेबल, कुर्सी, कुर्सीमा राख्ने रुमाल, डिक्सनरीलगायतका स्टेशनरी, मोबाइल, गाडी, इन्धन, दुई चालक, स्वकीय सचिवालय र एकएक उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, दुई कार्यालय सहयोगीलगायत सबै कुरा चाहिन्छ । त्यो सबै किन्दा अर्थतन्त्रमा तरलता प्रवाह हुन्छ र अर्थतन्त्र चलायमान हुन्छ । मन्त्रीहरुका आफन्त, नातागोता, पीएहरुको अतिरिक्त धन्दा पनि चलिहाल्छ । अहिले सरकारसँग ढुकुटीमा अर्बौं रुपैयाँ बचत छ, तर खर्च हुन सकिरहेको छैन । कर्मचारीतन्त्रले मात्र राष्ट्रको ढुकुटीबाट पैसा खर्च गरेर सिध्याउन नसकेको अवस्था छ । खर्च गर्ने भनेर छुट्याएको अर्बौं रुपैयाँ त खर्च नभएर फ्रिज हुने गरेको छ । अनि भएको पैसा खर्च गरेर देश चलाउन देउवाले धेरै मन्त्री, राज्यमन्त्री बनाएर उनीहरुलाई चर्न छाडिदिएका हुन् । त्यसैले, समग्रमा के भन्न सकिन्छ भने मन्त्रिमण्डल अर्थात् मम अझ ठूलो आकारको बनाउनु सबै दृष्टिकोणले उपयुक्त हुन्छ । बरु मम ठूलो बनाउने महान् कार्यमा सबै मिलेर देउवालाई सहयोग गरौं भन्ने यो पङ्क्तिकारको आग्रह रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)