‘मेरो माग फ्याँकिएका वस्तुहरु जम्मा गर्न दिइरहनुपर्छ भन्नेबाहेक अरु केही छैन,’ भारतको राजधानी नयाँ दिल्लीनजिकैको एक ल्याण्डफिल्ड साइटमा फोहोरको थुप्रोबाट सामग्रीहरु सङ्कलन गरिरहेका अकबरले भने । २९ वर्षका अकबरजस्तै फोहोरमा फ्याँकिएका वस्तुहरु जम्मा गरेर विक्री गर्दै जीविकोपार्जन गर्ने नयाँ दिल्लीमा अनुमानित साढे २ लाख मानिसहरु भने अहिले त्यहाँको सरकारले ल्याएको नयाँ योजनाले चिन्तित बन्न पुगेका छन् । उक्त योजनाअन्तर्गत फोहोरबाट ग्यास निकालेर विद्युत् उत्पादन गरिने कार्यक्रम रहेको छ ।
दैनिक निस्कने ८ हजार टन घरेलु र औद्योगिक फोहोरको व्यवस्थापन कठिन बन्दै गएपछि नयाँ दिल्ली सरकारले फोहोरबाट ऊर्जा निकाल्ने योजना बनाएको हो । यसका लागि त्यहाँको विद्युत् विभागले फोहोरबाट निस्कने ग्यासबाट चल्ने एक ऊर्जाकेन्द्र परीक्षणस्वरुप सञ्चालन गरिरहेको छ । त्यसैगरी दुईओटा यस्ता केन्द्र निर्माणाधीन अवस्थामा छन् । सबै काम योजनामुताबिक सम्पन्न भएमा नयाँ दिल्लीका ५० हजार घरलाई पुग्ने बिजुली उत्पादन हुनेछ । यसबाट विद्युत् उत्पादनका अन्य स्रोतबाटभन्दा सस्तो दरमा बिजुली निकाल्न सकिने सरकारको विश्वास छ ।
तर, यहींनेर फोहर सङ्कलन गरेर जीविकोपार्जन गर्नेहरु र नयाँ दिल्ली सरकारबीच एक प्रकारको द्वन्द्व शुरु भएको देखिन्छ । योजना कार्यान्वयन भएपछि दैनिक निस्कने फोहोर सङ्कलकहरुले पाउने छैनन्, ऊर्जाकेन्द्रले नै घर, बजार र उद्योगहरुबाट सङ्कलन गरेर लैजाने छन् । फोहोरमा फ्याँकिएका वस्तुहरु जम्मा गरेर विक्री गर्नेहरुको आम्दानी पनि राम्रै रहेको देखिन्छ । पुनप्र्रयोग गर्न जम्मा गरिएका दैनिक १० किलोग्राम वस्तुहरु विक्री गर्नेले ६ अमेरिकी डलरसम्म आर्जन गरिरहेका छन् ।