ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ठूला भालुको संरक्षणमा लागौं

Sep 8, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

देशमा काम छैन । काम नपाएपछि दाम र नाम हुने कुरा भएन । दाम र नाम नभएपछि माम त यसै हुँदैन । त्यै दाम र परिवारका लागि समेत मामको जुगाड गर्नकै लागि ४२ डिग्री तापक्रममा खाडी मुलुकमा हाम्रा २०औं लाख नेपाली दाजुभाइहरुले असिनपसिन बनेर, पैसा कमाएर स्वदेश पठाएको पठायै छन् । बदलामा अझ त्यसमध्ये कति जना त कफिनको बाकसमा फेरि कहिल्यै उता नफर्किने गरी यतै फर्किरहेका छन् ।

तर, वर्षेनि झण्डै ५ लाखका दरले बाहिर गएका तिनै नेपालीले श्रम गरेर पठाएको विप्रेषणले हामीले गाडी, टीभी, मोबाइल, बाइक, सुन आदि विदेशबाट भिœयाएर प्रयोग गर्न पाइरहेका छौं । नेपाली युवाले त्यसरी पठाएको पैसाले नपुगेर केही सीमित स्वदेशीले ऋण काढेर, रातविरात नभनी, दुनियाँको झमेला खेपेर, उद्यम गरेर, वस्तु तथा सेवा दिएर, एक÷एक थोपा कर सङ्कलनसमेत गरेर सरकारलाई बुझाएको बुझायै छन् । त्यै पैसाबाट झण्डै खर्बौं रुपैयाँका सामान विदेशबाट ल्याएर उपभोग गरिरहेका छौं । त्यै भएर होला, सरकारले नेपालको व्यापारघाटा १० खर्ब पुग्यो भनेर सगर्व घोषणा गरेको छ ।

तर, जति पैसा विदेशबाट आए पनि, स्वदेशबाट उठाए पनि देशमा पैसाको अभाव नै अभाव देखिन्छ । ‘अजिङ्गरको पेट जति खाए पनि कहिल्यै भरिँदैन’ भनेजस्तो भएको छ । सामान्य नेपालीहरुले नै विदेशबाट पैसा पठाइरहेका छन् । तर, नेपालका सामान्य मानिसहरु सामान्य औषधि पनि नपाएर मृत्युको मुखमा पुग्छन् । देशैभरि पानी नै पानीको स्रोत छ । तर, कृषकका खेतका धाँजा फाटेका छन्, टोपी र धोती फाटेका छन्, अनि दाँत र आँत टुटेका छन् । त्यसैले कति त पेटभरि खान नपाएरै उमेरै नपुगी बूढो हुन्छन् । किनकि वर्षेनि २२/२५ अर्ब रुपैयाँको चामल आयात गरे पनि त्यसले केहीका पेट मात्र भरिएका छन्, सबै नेपालीका पेट भरिएका छैनन् ।

यसरी हेर्दै जाँदा देशका हरेक क्षेत्रमा अपुग, अभाव, असन्तुलन मात्र देखिन्छ । त्यसैले अब सबै कुरामा पूर्णता, प्रचुरता र सन्तुलन ल्याउनका लागि अहिले भइरहेका कुरालाई अझ बढाउनुपर्ने देखिन्छ । एक त अझ थप नेपाली युवालाई वैदेशिक रोजगारमा पठाउनुपर्छ । थप चेलीहरुलाई साडी उतारेर भेष्ट र पाईण्टमा खाडी मुलुक पठाउनुपर्छ, मुम्बई र दिल्ली लघार्नुपर्छ । थप नेपालीका पेट भर्न थप धान चामल विदेशबाट झिकाउनुपर्छ ।

ट्रान्सपरेन्सी इण्टरनेशनलको रिपोर्टअनुसार अफगानिस्तान र बङ्गलादेशपछि सबैभन्दा भ्रष्टाचार हुने दक्षिण एशियाली मुलुकहरुमा नेपाल बल्ल तेस्रो स्थानमा आइपुग्न सफल भएको छ । अब अर्को वर्षभित्र पहिलो नम्बरमा ल्याउने प्रयास गर्नुपर्छ । त्यसका लागि नेपाल सरकार, राजनीतिक दल र सरकारी कर्मचारी र गैरसरकारी संस्थाहरु तथा केही निजीक्षेत्रका मानिसहरुसमेत चक्रीय भ्रष्टाचारलाई संस्थागत गर्न दिलो ज्यानले लागिपरेका छन् । आशा गरौं, भ्रष्टाचारको कोटीमा नेपाल छिट्टै पहिलो नम्बरमा पुग्न सफल हुनेछ । विगतमा नाइजेरिया पनि नेपालजस्तै परिस्थितिबाट गुज्रिएर आज विकासोन्मुख मुलुकमा अगाडि बढिसकेको छ ।

मुख्य कुरा खान चाहनेलाई खान दिनुपर्छ । देशको सफलता नै खानेलाई खुवाउन सक्नुमा निर्भर गर्दछ । नेपालमा ‘काम गर्ने कालु’ कम भए तर ‘मकै खाने भालु’ धेरै छन् । त्यसैले अब काम गर्ने धेरै कालुहरुलाई खाडी पठाएरै भए पनि मकै खाने भालुहरुलाई संरक्षण गर्नु जरुरी देखिन्छ । त्यसैले हामी सबै मिलेर यी खासगरी ठूल्ठूला भालुहरुको संरक्षण र संवद्र्धनमा जुटौं भन्ने यो पङ्क्तिकारको जोडदार अपिल छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)