पछिल्लो समय वैज्ञानिकहरूले हरेक दिन ऊर्जाका क्षेत्रमा विभिन्न खोज र प्रयोग गरिरहेका छन् । वायु प्रदूषण नियन्त्रण गर्न र स्वच्छ ऊर्जा उत्पादनका लागि वायु, पानी र सूर्यका किरणबाट लगायत पृथ्वीमा उपलब्ध सबै स्रोत र साधनबाट ऊर्जा उत्पादन गर्ने प्रविधिको खोजी कार्य भइरहेको छ ।
अमेरिकी वैज्ञानिकहरूले मानिसको मूत्रबाट तुरुन्तै हाइड्रोजन निकाल्न सकिने बताएका छन् । यूएस आर्मी रिसर्च ल्याबोरेटरी (एआरएल)का वैज्ञानिकहरूले यसअघि नै पानीको सम्पर्कमा आउनासाथ विशुद्ध हाइड्रोजन उत्पादन गर्ने न्यानो ग्याल्भनिक आल्मुनियम पाउडर बनाएका थिए । उनीहरूले उक्त पाउडरलाई पिसाबलगायत पानीको मात्रा हुने विभिन्न तरल पदार्थमा प्रयोग गरेका थिए । यस क्रममा सामान्य पानीका तुलनामा पिसाबमा यस्तो पाउडर हाल्दा उच्च मात्रामा हाइड्रोजन उत्पन्न भएको बताइएको छ । हाइड्रोजनलाई फ्युल सेल्सलाई ऊर्जा दिन र स्वच्छ ऊर्जा निकाल्न प्रयोग गर्न सकिन्छ । फ्युल सेल्सबाट प्रदूषणविना बिजुली उत्पादन गर्न सकिने अनुसन्धाताहरूले बताएका छन् । एजेन्सी