तनावयुक्त वातावरणमा काम गरिरहनुभएको छ भने सावधान, यसले तपार्इंको ज्यानैसमेत लिन सक्छ । हालै गरिएको एक अध्ययनमा धेरै नै खटिरहनुपर्ने तर निर्णय गर्ने स्वतन्त्रता थोरै भएका कार्यालयमा काम गर्नेहरुलाई कम तनावयुक्त ठाउँमा काम गर्नेहरुको तुलनामा हृदयघातको सम्भावना २३ प्रतिशतले बढी हुने गरेको पाइएको छ ।
लण्डनको युनिभर्सिटी कलेजका अनुसन्धानकर्ताहरुले यूरोपभरका २ लाख कर्मचारीमा गरेको उक्त अध्ययनमा ३ दशमलव ४ प्रतिशतको हृदयघात कामसम्बन्धी तनावहरुले हुने गरेको छ । तर, अध्ययनमा कर्मचारीहरुले कामको तनाव कम गर्ने नाममा चुरोटको सेवन गर्दा योभन्दा पनि खतरनाक परिणाम निस्कने र हृदयघात एवम् मुटुसम्बन्धी रोगको सम्भावना उच्च हुने चेतावनी पनि अनुसन्धानकर्ताहरुले दिएका छन् ।
‘द लान्सेट मेडिकल जर्नल’मा प्रकाशित उक्त अध्ययनको रिपोर्टमा कार्यालयको तनावपूर्ण वातावरणलाई छल्न भनेर धूमपान गर्नेहरुमा हृदयघातको समस्या ३६ प्रतिशतसम्मले बढ्ने उल्लेख छ । अनुसन्धानकर्ताहरुले कर्मचारीहरुले उचित शारीरिक व्यायाम नगर्दा यी समस्याहरु चिन्ताजनक ढङ्गले बढिरहेको बताए । ‘हामीले तनावपूर्ण वातावरणमा काम गर्ने थुपै्र कर्मचारीलाई सानो तर दोहोरिन सक्ने खालको पहिलो हृदयघात भइरहेको पायौं,’ अनुसन्धानकर्ता टोलीको नेतृत्व गरेका प्राध्यापक मिका किभामिकले भने । आफ्नो स्वास्थ्यका लागि कर्मचारी आफै सचेत हुनुपर्ने उनको सुझाव छ । साथै, कार्यालयको तनावयुक्त वातावरण घटाउन उचित व्यवस्थापकीय नीति बनाउन पनि उनले सल्लाह दिए ।