बूढापाकाहरु भन्ने गर्थे ‘बाँचिरहनुपर्छ, के के देख्न पाइन्छ के के ।’ नभन्दै नेपालका वाम एक ठाम हुन लागेको दृश्य पनि देख्न पाइयो । वामहरुले दशैंलगत्तै नेपाली जनतालाई सरप्राइज दिए ‘जोरका झट्का धीरेसे’ भनेजसरी ।
वामहरुले माक्र्सवाद त्याग गरिसकेको, कम्युनिष्ट सिद्धान्त छाडेर काङ्ग्रेसभन्दा बढी बुर्जुवा बनिसकेको भनिरहेका बेला वामपन्थीलाई हामपन्थी मात्र देखेर प्रचण्डपथ छाडेर नयाँ शक्ति भन्दै हिँडेका बाबुरामसमेत कसरी एक ठाम आए, अचम्म भएको छ । यो घटना नेपाली जनतालाई फेरि उल्लु बनाउने खेल मात्र होला कि राजनीतिको झेल होला कि साँच्चै दलहरुबीचको मेल होला, कसरी थाहा पाउने होला ?
कतै यो वर्तमानको श्रीमान् वा श्रीमतीसँग डिभोर्स नगरी अर्को नयाँ व्यक्तिसँग ‘लिभिङ टुगेदर’ मात्र गरेका हुन् कि राजनीतिका महान् खेलाडीद्वय प्रचण्ड र ओलीले ? कि सत्ताबाट बाहिरै बसिरहनुपर्ने पीरले एमालेलाई सताएकाले यो नतिजा आएको होला ? कि प्रचण्डलाई एकीकृत कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने लोभले कात्तिकको पूर्वसन्ध्यामा जोडिन आइपुगेको गठबन्धन होला ? अर्थात् यो अभूतवपूर्व वाम मिलनको प्रमुख कारण के होला ?
कारण जेजे होला दैवले जानून्, कि उनै नेताहरुले नै जानून् । तर, नयाँ गठबन्धनको मार्गदर्शक सिद्धान्त के हो ? माओवाद हो कि ? बहुदलीय जनवाद पो हो कि ? कि धनवाद मात्र हो ? वा के हो ? भन्नेलगायतका प्रश्नहरुको उत्तर कसले र कहिले देलान् ? हुन त यी र यस्ता थुप्रै प्रश्न विगतमा पनि आए र हराए । यो पनि त्यसै बिलाउला । हाम्ले पनि बिर्सौंला ।
यता आगामी मङ्सिरमा हुने निर्वाचनका लागि एमाले र माओवादीबीच ६० र ४० को भागबण्डा तय भएछ । अर्थात् माओवादी ४० कटेसी रमाउने भएछन्, एमाले ६० कटेसी । हिजो काङ्ग्रेसले प्रयोग गरेको सूत्र अहिले वामहरुले पनि लगाएछन् । यसबाट सुखै पाउलान् । तर माओवादी छाडेर एमाले छिरेका र एमाले छाडेर माओवादी छिरेकाहरुको भूकम्पबाट उठिबास भएकाहरुको जस्तो बिचल्ली पो हुने हो कि ?
हिजोसम्म माओवादी र एमाले एकअर्काको दृष्टिकोणमा एउटा चरम लम्पसारवादी थियो भने अर्को सङ्कीर्ण राष्ट्रवादी । एउटा ‘घोर उग्रवादी’ थियो, अर्को संसदीय भासमा फसेर बिग्रिएको साम्यवादी । अब यिनीहरुले एकअर्कालाई गर्ने सम्बोधनमा कुनकुन नयाँ शब्दावली पर्लान् ? फेरि यो गठबन्धन चैं उत्तरले चाँजोपाँजो मिलाएर सम्भव भएकाले रे । यसको मतलब अब दक्षिणले के भन्छ भनेर कुर्नेहरु पनि होलान् । सके कुरा बुझ्न दिल्ली धाउनेहरु पनि होलान् । फेरि मिलाउनेहरुले फुटाउन बेर पनि नलाउलान् ।
यता वाम एक ठाम हुन पा छैन, काङ्ग्रेसमा भने ठूलै भूकम्प गए जस्तो छ । ‘अब तेरा क्या होगा कालीया’ भनेजस्तै काङ्ग्रेसको हाल भएको छ । लोकतान्त्रिक शक्तिको नयाँ खिचडी पाक्न शुरु भएको छ । अब शेरबहादुर देउवाद्वारा रामचन्द्र पौडेल, खुमबहादुर खड्का र शशाङ्क कोइरालासँग चुनावी तालमेलसँगै पार्टी एकताको घोषणा गर्नेछन् भनेर भविष्यवाणी गर्नेहरुको पनि कमी छैन । त्यस्तै, कम्युनिष्टहरु मिलेसी तानाशाही जन्मने भो भनेर डराउनेहरु पनि धेरै छन् । तर, नेपाली कम्युनिष्टहरु शाही भएकाले तानाशाही बन्न सक्दैनन् भन्ने यो पङ्क्तिकारको बुझाइ रहेको छ ।
‘कसलाई के धन्दा, घरज्वाइँलाई खानकै धन्दा’ भनेजस्तो शेयरबजारका थुप्रै लगानीकर्ताहरु भने अब बजार घट्ला कि बढ्ला भनेर नेप्से परिसूचक हेरी जिल्ल पर्दै टोलाएर बसेका छन् । एमाले बैङ्क, माओवादी विकास बैङ्क र नयाँ शक्ति फाइनान्स कम्पनी मर्ज हुने कुरा गर्नेबित्तिकै शेयरबजारमा त्यत्ति उतारचढाव नआउला । त्यसैले सुझाव के छ भने वाम सबै टुक्रिए पनि एकै ठाम भए पनि अहिले सबै नेपाली नेताहरुलाई शेयरको नशा बसिसकेको छ । प्रायः सबैको थुप्रै कम्पनीमा ठूलै लगानी पनि भइसकेको छ । भनेसी शेयर बजार वाम एकताकै कारण किन डराउँथ्यो र अब पनि ? त्यसैले लगानीकर्ता अब डराइरहन नपर्ला ।
धेरै मानिस ‘वाम एक ठाम’ हुन लागेको कुरा यो देश बन्न लागेको सङ्केत हो कि सिद्धिन लागेको भन्ने द्विविधामा पनि देखिन्छन् । फुट्नुभन्दा त जुट्नु नै राम्रो हो नि, होइन र ? एउटा दलले चुनावमा बहुमत ल्याएर ५ वर्ष सरकार चलाउन पाए अरु क्यै नआए पनि देशमा राजनीतिक स्थायित्व त आउँछ कि ? यसले सत्ताको च्याँखे थाप्नेहरुको भाउ पनि घट्ला । बरु एउटा कुरामा भने पनि नेपाल अब बेलायत वा अमेरिकाजस्तै हुन्छ । किनभने त्यहाँ जम्मा दुई पार्टी मात्र छन्, यहाँ पनि ‘हामी र हाम्रा दुई’ भनेजस्ता वाम र काङ् दुई मात्र हुने भए । त्यसैले वाम नेताहरुको एकै ठाममा उठेका हातहरुले मुलुकको समृद्धिका लागि अठोट देखाए भने देश बन्ने सङ्केत हो । होइन रहेछ भने यो पनि हिन्दी सिरियलको अर्को एउटा ‘एपिसोड’ जस्तो मात्र हुनेछ । हेरुञ्जेल एकछिन के के नै होला जस्तो, एपिसोड सिद्धिएपछि फेरि अन्धकार । अर्थात् चुनाउ सिद्धिएपछि नेपाली राजनीतिमा एकता नभई ए ! कता भनेर सोध्नुपर्ने हुन्छ ।