ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चाडपर्वपछिका अनुहारहरू

Oct 27, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
दशैं, तिहार हुँदै छठ पर्व पनि सकियो । प्रायः मानिसहरु आआफ्ना अफिस, काममा फर्किए । तर, उनीहरुको अनुहारमा खुशीको सट्टा केही नपुगेजस्तो देखिन्छ । मनभित्र अझै रमाइलो गर्ने लालसा सिद्धिएको देखिँदैन । त्यसैले होला प्रायःको अनुहार कतै हराएजस्तो, अमिलो, अल्छीपन र सुस्तता झल्किन्छ । मानिसहरुको यही भावनालाई बुझेर होला सरकारले सकिसकेको छठका लागि आज फेरी १ दिन विदा थप गरिदिएको । यसपाला आतिसबाजी र पटाका अलि कम पड्केकाले कानका सबै कीरा नमरेका कारण पनि त्यस्तो भएको हुनुपर्छ । चाडपर्वमा आफन्तहरुबाट आउने राम्रा शुभकामना पनि अलि कम भएजस्तो छ । नत्र त्यसमा लेखिएका राम्रा कुराहरुले थप ऊर्जा र मानिसको जीवनमा धेरै सकारात्मक परिवर्तन देखिनुपर्ने हो । यसपाला म्यासेजको सङ्ख्या कम भएर पो त्यस्तो भएको हो कि ? ठूला सांस्कृतिक चाडपर्व चाँडै सकिएकोमा मानिसहरु त्यति खुशी नदेखिए पनि राजनीतिक चाड अर्थात् चुनावी पर्व मनाउन भने नेपालीहरु साह्रै उत्साहित देखिन्छन् । तिहार, छठ सकिए पनि राजनीतिक रुपमा प्रशिक्षित भएर शहर फर्किन पाएकोमा धेरै दङ्ग छन् । सबैलाई थाहै छ, नेपालीहरु संसारमै सबैभन्दा धेरै राजनीतिक रुपमा चेतनशील प्राणी हुन् । प्रत्येक चौतारी, चिया पसलदेखि २/४ जना जम्मा हुनेबित्तिकै शुरु हुने चीया गफ राजनीतिक शिक्षाका लागि कुनै विश्वविद्यालयभन्दा कम छैनन् । त्यसैले प्रायः नेपाली संसारका कुनै पनि राजनीतिक दल, तिनका नेता, अबको राजनीतिक बाटो, चुनावमा कसले जित्छ वा हार्छ, कसले बहुमत ल्याउँछ वा कसले कुन ठाउँमा बाजी मार्छ, कसले कसलाई साथ दिन्छ, कहिले कसले कसलाई लात दिन्छ आदि इतिवृत्तान्त बताउन सक्छन् । हिजोआज त कुन पार्टीलाई दुई तिहाइ भोट दिने, कुन पार्टीलाई हराउने आदिजस्ता योजनासमेत चियापसल र चौतारीमै बन्छन् । त्यसैले त नेताहरु बेलाबेलामा चियाको कपमा तुफान ल्याउने कुरा गरिरहन्छन् । हुन पनि दीपक मनाङ्गे, गणेश लामा, मिलन चक्रे, पर्शुराम बस्नेतजस्ता गुण्डा नाइके दाम कमाइसकेपछि अब राजनीतिमा नाम कमाउन आउने रे । अनि प्रहरीमा नाम कमाएका नवराज सिलवालजस्ता चाहिँ राजनीतिमा बद्नाम हुन आउने रे । यी दुई प्रवृत्तिका दुईथरी मानिस अब एउटै प्लेटफर्ममा मूलधारको राजनीतिमा स्थापित हुन चाहने रे । त्यसैले यता समाजसेवा र राजनीतिमै आफ्नो जीवन बिताएका चुनावका आधिकारिक उम्मेदवारलाई फिर्ता बोलाएर बागी र दागी उम्मेदवारलाई मान्यता दिने खालको राजनीतिक परिवेश देशमा आएपछि चियाको कपमा तुफान नआए कहाँ आउँछ त ? अब चियाको कपमा तुफान आउने भएपछि राजनीति रमाइलो त हुने नै भयो । चाडपर्व र त्यसपछिको एउटै नमज्जा भनेको खाद्यान्न, फलफूल र तरकारीको अत्यधिक मूल्यवृद्धि नै हो । तर, चिसो मौसम र तातो राजनीतिक वातावरणका कारणले होला, अरु बेला अलिअलि हल्लाखल्ला गरे पनि चाडपर्वपछिको महँगीका बारेमा कुनै उपभोक्ता चुँसम्म पनि बोल्दैनन् । शायद अहिले सबैको ध्यान चुनावमा कसले बाजी मार्ला, आफ्नाहरु कसकसलाई चुनाव जिताउने र कसलाई हराउने भन्ने धुनमा लागेकाले होला । कसैलाई वामजति एक ठाम आएकाले भोलि सरकारमा पुगेर भएजति सबै दाम उनैले मात्र कुम्ल्याउने भए भन्ने चिन्ता होला । कसैलाई बाबुराम र देउवाको चचहुईं के नमिले नमिलेजस्तो लागिराको होला । कसैलाई चीनमा सीको पुनर्विजयले उत्साहित बनाएको होला । कसैलाई किम जोङ उन र ट्रम्पका कारण टेन्सन बढेको पनि होला । तर, आफूलाई भने महँगीको गर्मी र मौसममा बढ्दो ठण्डीका कारण चैं अलि टाउको दुख्न थालेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)