मदिराजन्य पदार्थको सेवन गरी गाडी चलाएर जरीवाना तिर्न बाध्य भएकाहरुलाई खुशीको खबर । अमेरिकी सूचनाप्रविधि कम्पनी गूगल इङ्कले निर्माण गरेको स्वचालित ‘गूगल कार’ बजारमा आउने तरखरमा रहेको छ । यो कार बजारमा आएपछि गाडी चलाउनका लागि चालकको आवश्यकता पर्ने छैन र यात्रु ड्राइभरविनै आरामसँग गन्तव्यमा पुग्नेछन् । यसले मदिरा सेवन गरी ड्राइभिङ गर्नेहरुलाई ठूलो राहत दिनेछ । तर, यो ठट्टाको विषय भने अवश्य होइन । किनकि गूगलले यो कारको निर्माण मादक पदार्थ सेवन गरेकाहरुलाई लक्षित गर्दै बनाएको छैन । कुनै बेला विज्ञानकथा र चलचित्रमा मात्र देख्न पाइने यो कार प्रविधिको अनुपम उदाहरण त बन्ने नै छ, यससँगै यसले आँखा देख्न नसक्ने, हातखुट्टा नचल्ने वा नभएका अपाङ्गहरुलाई गन्तव्यमा पुर्याउन निकै ठूलो भूमिका निर्वाह गर्नेछ ।
त्यसैगरी यो कारको सफल परीक्षणपछि व्यावसायिक उत्पादन भएमा मानिसहरुले तीव्र गतिमा गाडीहरु दौडिने ठूला ‘इण्टरष्टेट’ राजमार्गमा निर्धक्कसँग सुरक्षित र आरामदायी यात्रा गर्ने मौका पाउनेछन् । यो कारलाई पूर्णरुपमा कम्प्युटर प्रणालीले सञ्चालन गर्ने भएकाले डिजाइन र निर्माणका क्रममा यात्रुको सुरक्षालाई केन्द्रमा राखिएको गूगल इङ्कको भनाइ छ । गूगल कारमा उच्च प्रविधियुक्त कम्प्युटर जडान गरिएको छ । कारको सबैभन्दा माथिल्लो भागमा प्रकाशको माध्यमले दूरी नाप्ने ‘लाइट डिटेक्शन एण्ड रेञ्जिङ’ (लिडार) नामक एक अप्टिकल रिमोट सेन्सिङ उपकरण राखिएको छ । कम्पनीका अनुसार यो कार सञ्चालन गर्ने सबैभन्दा महत्वपूर्ण उपकरण हो । लिडारमा रहेको ग्लोबल पोजिशनिङ सिष्टम (जीपीएस)ले कारलाई भू–उपग्रहसँग निरन्तर रुपमा जोड्दै दिशा निर्धारण गराइरहने बताइएको छ ।
यससँगै कारभित्र जडान गरिएको एक ‘हाई रिजोल्युशन’ भिडियो क्यामेराले अगाडिका सबै दृश्य कम्प्युटरलाई दिने र त्यसैअनुसार गति र अघिल्तिरका अवरोधको पूर्वजानकारी लिन सकिने कम्पनीले जनाएको छ । यसको कम्प्युटरमा राखिएको एप्लिकेशन ‘गूगल स्ट्रिट भ्यू’ले सडक र स्थानका बारेका जानकारी यथार्थ समय (रियल टाइम)मा दिने गर्दछ । स्मरण रहोस्, ‘गूगल स्ट्रिट भ्यू’ एण्ड्रोइड अपरेटिङ सिष्टमयुक्त स्मार्टफोन र ट्याब्लेट पीसीका लागि कम्पनीले अहिले निःशुल्क वितरण गरिरहेको प्रख्यात एप्लिकेशन हो । अहिलेसम्म गोप्य राखिएको कृत्रिम बुद्धि (आर्टिफिसिएल इण्टेलिजेन्स–एआई)युक्त एक सफ्टवेयर पनि कारमा राखिएको छ ।
यसले कार गुडाउँदा लिनुपर्ने सम्पूर्ण निर्णय गर्नेछ । हालै क्यालिफोर्नियाका सडकमा परीक्षण गरिएको यो कारलाई गूगलले त्यसअघि नै नेभाडा राज्यको मरुभूमिमा निकैपटक परीक्षण गरिसकेको छ । कम्पनीका अनुसार कारले अहिलेसम्म ३ लाख माइल दूरी पूरा गरिसकेको छ ।
कम्पनीले सरकारबाट यो कारलाई क्यालिफोर्निया राज्यका सडकमा परीक्षणका लागि गुडाउन स्वीकृति पाएको छ । क्यालिफोर्नियाका गभर्नर एडमण्ड ‘जेरी’ ब्राउनले राज्यका सडकहरुमा स्वचालित गाडी परीक्षणका लागि चलाउन एक विधेयकमा हस्ताक्षर गर्दै औपचारिक स्वीकृति प्रदान गरेका थिए । विधेयकमा हस्ताक्षर गर्ने कार्यक्रम गत मङ्गलवार माउण्टेन भ्यूस्थित गूगलको मुख्यालयमा आयोजना गरिएको थियो । त्यहाँ गभर्नर ब्राउनसँगै क्यालिफोर्नियाबाट अमेरिकाको माथिल्लो सदन सिनेटका सदस्य बनेका एलेक्स पाडिल्ला र गूगलका सह–संस्थापक सर्गेई ब्रिनसमेत उपस्थित थिए । कार्यक्रममा ब्रिनले स्वचालित कार भविष्यमा यातायातको सबैभन्दा भरपर्दो साधन हुने दाबी गरे । उनले भने, ‘तपार्इंहरुले आगामी ५ वर्ष वा त्योभन्दा पनि कम समयमा यस्ता कार सडकमै गुडिरहेको देख्न पाउनु हुनेछ ।’ एजेन्सी