नेपालमा व्यवसाय गर्न झन् सजिलो बन्दै गएको छ । अझ जलविद्युत् क्षेत्रमा व्यवसाय गर्न त झनै सहज हुँदै जाँदो छ । उदाहरण थुप्रै छन् । अस्ति भर्खर एक जना एनारानले विनाकुनै टेण्डर, विनाकुनै प्रतिस्पर्धा तामाकोशी तेस्रोको सर्वेक्षण अनुमतिपत्र हात पारे । नर्वेको एसएन पावरले रू. १ अर्ब २० करोड खर्च गरेर सम्पूर्ण प्रतिवेदन तयार गरिसकेर पनि त्यो आयोजना बनाएर कुनै फाइदा नहुने देखेर ऊ त्यसबाट बाहिरिएको थियो । तर, यी एनारानले यसमा कसरी फाइदा देखेछन्, अब यी तामाकोशीमा डुब्ने भए भनेको त केही सरकारी कमिशनबाहेक सुको लगानी नगरी यो आयोजनाको लाइसेन्स अरु कसैलाई बेच्दा मात्रै पनि सोझै झण्डै एक/डेढ अर्ब कुम्ल्याउन पाउने भएपछि यिनले यो आयोजना फुत्काएका रहेछन् । यसरी विदेशीले नाफा नदेखे पनि विदेशिएका यी नेपालीले फाइदै फाइदा देखेछन्, अनि काम फत्ते गरेछन् । अझ मुख्य कुरा त उताबाट कालो रङ्गको पैसा ल्याएर नेपालमा लगानी गरेको देखाएपछि फेरि उता जाँदा सेतो भइहाल्ने रहेछ । यहाँको लगानीमा घाटा भएको देखाएपछि त झन् उता त कालो पैसा सबै सेतो हुने रहेछ । त्यो फाइदा त कति कति । बिजनेश त यस्तो पो गर्नु, नेपालमै बस्ने नेपालीहरु बिजनेश गर्नै जान्दैनन् ।
अर्को उदाहरण पनि छ । तिनै एनारानले २ हप्ताअघि मात्र एक अमेरिकी व्यवसायीलाई परिसकेको नेपाल एयरलाइन्सको पुरानो बोइङ जहाज किन्ने टेण्डर रातारात आफूले जिप्ट्याए । विगतमा पनि विमान सञ्चालन गर्न अनुमति रोकिएको अवस्थामा पनि यिनले केके गरेर जहाज चलाउन लाइसेन्स सरकारबाट फुत्काएका थिए । भलै यिनले जहाज त उडाएनन् क्यारे । शायद अब त्यै नेपाल एयरको पुरानो जहाज उडाइहाल्छन् कि ? कि त्यो पनि बीचैमा नाफा खाएर कसैलाई भिडाउँछन् कि ? जे होस्, नेपालमा व्यापार गर्न यिनले राम्रैसँग जानिसकेका छन् । शायद अब अरु एनारानहरुले पनि यिनीबाट सिक्लान् । यिनले एनारानहरुको अलिअलि बन्दै गरेको इज्जतलाई टुप्पैमा पुर्याउलान्जस्तो छ । यसरी यति सजिलै काम हुने नेपालजस्तो देशमा पनि काम गर्न गाह्रो हुँदै गयो भन्नेहरु देख्दा अचम्म लाग्छ ।
एनारान मात्र किन, विदेशीले पनि नेपालमा काम कसरी गर्नुपर्छ भन्ने जानिसकेका छन् । उदाहरणका लागि नेपाल सरकार आफैले सजिलै बनाउन सक्ने बूढीगण्डकी जलविद्युत् आयोजना रातारात चिनियाँ कम्पनीले पायो । उसलाई नेपालमा व्यवसाय गर्न न ऐन, नीति, नियमले छेक्यो, न त यसो गर्न हुँदैन भनेर यसको विपक्षमा कुनै दलले बोले । न यसमा सार्वजनिक खरीद ऐन उल्लङ्घन गरिस् भनेर कसैले बाधा विरोध गरे, न कसैसँग खुल्ला प्रतिस्पर्धा नै गर्नुपर्यो ।
हुन त संसदीय समितिले नेपालको जलविद्युत् क्षेत्रमा असफल सावित चिनियाँ गेजुवा ग्रूप कम्पनीसँग गरिएको बूढीगण्डकी दिने यो समझदारी खारेज गर भनेर एउटा निर्देशन त दिएको थियो क्यारे । तर, पूर्ण व्यावसायिक भइसकेको ऊर्जा मन्त्रालयले जाबो समितिको निर्देशन किन टेर्थ्यो ? रद्दीको टोकरीमा फ्याँकिदियो । यस्ता उदाहरण थुप्रैथुप्रै छन् । त्यसैले त भनेको कि काम गर्न जान्नेलाई यहाँ कहिल्यै, कुनै समस्या छँदै छैन भन्या । जस्तै, यहाँ विनोद चौधरीदेखि अजय सुमार्गीसम्म, चन्द्र ढकालदेखि मीनबहादुर गुरुङसम्म यै वातावरणमा काम गरेर पनि आज सफलै छन् । नाच्न नजान्नेहरुले आँगन टेढो भो भनेजस्तै हो नेपालमा व्यवसाय गर्ने वातावरण भएन भन्नेहरुका कुरा ।
मङ्सिरमा हुन गइरहेको चुनावलाई नै हेर्नुहोस् न । नेपालमा एकसे एक व्यापारी करोडौं रुपैयाँ नेताहरुलाई बुझाएर एकाएक समानुपातिक सिट हात पार्न सफल भएका छन् । हिजो एउटा पार्टीमा थिए, आज अर्कोमा गए । भोलि फेरि सजिलै अर्कोमा जालान् । जहाँ गए पनि उनीहरुका लागि माथिकै भाग सुरक्षित पनि छ । जाने व्यवसायीलाई पार्टीसँग उसको न सिद्धान्तसँग मतलव छ, न जनताका मायाले त्यहाँ जाने हो, बस एक हातले पैसो दियो, अर्को हातले टिकट वा पद लियो । भोलि सभासद् वा मन्त्री पड्काएपछि आफ्नो अनुकूल नीति बनायो, राष्ट्रिय, अन्तरराष्ट्रिय सम्पर्क बढायो, नाम बनायो, करोड खर्च गरेको भए अर्ब दाम कमायो । यस्तो पो हो जान्नेहरुले गर्ने व्यवसाय । नजान्नेहरु भने जिन्दगीभर पार्टीका नाममा चप्पल पड्कायो, जनताका नाममा परिवारबाट टाढा बस्यो, अनि टिकट पाइएन भनेर टिकट बाँड्ने मुखियाहरुलाई धारे हात लगायो । अनि भित्रभित्रै मुर्मुरिएर जीवन अझ बोझिलो बनायो । यस्ता नजान्नेहरुको कुरा के गर्नु । जान्नेहरुका लागि त नेपालमा जताततै नाफै नाफा पो छ त ।
शायद त्यसैले पनि विश्व बैङ्कले प्रत्येक वर्ष निकाल्ने ‘डुइङ बिजनेस रिपोर्ट २०१७’ का अनुसार नेपालमा व्यवसाय गर्न थप सजिलो हुँदै गएको देखाएको छ । त्यसैले त भनेको नेपालमा जति उद्योगधन्दा गर्न सजिलो दुनियाँमा कुनै मुलुक छैन भनेर ।