भगवान्लाई धन सम्पत्तिले खुशी पार्न सकिँदैन भने आममान्यता विश्वका सबै धर्ममा पाइन्छ । तर, यो आमधार्मिक मान्यतालाई चुनौती दिँदै जर्मनीको प्रमुख क्याथोलिक गिर्जाघरले भने धार्मिक करबापतको शुल्क नतिर्ने सदस्यहरुलाई आशीर्वाद नदिने बताएपछि त्यहाँ ठूलो विवाद उत्पन्न भएको छ । जर्मनीका क्याथोलिक चर्चका विशपहरुले गत हप्ता जारी गरेको नयाँ आज्ञप्तिअनुसार धार्मिक कर नतिर्ने सदस्यहरुलाई आशीर्वादका अलावा जन्मसंस्कार, बाप्तिस्ता, विवाह र मृत्युसंस्कारबाट समेत विमुख गराइनेछ ।
देशभरका गिर्जाघर सञ्चालन गर्ने धार्मिक कर नै आम्दानीको प्रमुख स्रोत भए तापनि केही वर्षयता शुल्क नतिर्नेहरुको सङ्ख्या बढेकाले यस्तो कडा नियम लागू गरिएको विशपहरुको दाबी छ । त्यसमाथि यूरोपको ऋणसङ्कट र जर्मनीको खस्किँदो अर्थतन्त्रका कारण क्याथोलिक गिर्जाघरले यसअघि बेलाबेलामा ठूला साहू महाजन र दानीहरुबाट पाउने चन्दा र सहयोगसमेत उल्लेख्य रुपमा घटेकाले कडाइ गर्न बाध्य भएको उनीहरुको भनाइ छ । यसका साथै नयाँ आज्ञप्तिले क्याथोलिक गिर्जाघरको एकतालाई पनि थप बलियो बनाउने विशपहरुको दाबी छ । ‘यो आज्ञप्तिले गिर्जाघरका सदस्यहरु पूर्णरुपमा सक्रिय बन्नुपर्ने स्पष्ट पारेको छ । यसले क्याथोलिक गिर्जाघरको आध्यात्मिक समुदायलाई संस्थागत चर्चसँग छुट्ट्याउन नसकिने बनाउनेछ,’ विशपहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
तर, विशपहरुको कडा आज्ञप्तिप्रति थुप्रै सदस्यले रोष प्रकट गर्दै क्याथोलिक गिर्जाघर नै छाड्नेसम्मका धम्की दिन थालेका छन् । ‘म यही चर्चको सदस्य बनेरै विवाह गर्न चाहन्छु, तर विशपहरुको कर तिर्नैपर्ने निर्देशलाई हेर्दा भने अन्तिममा सदस्यता त्याग्नेसम्मको विचार आउँछ,’ फ्राङ्कफर्टकी ३१ वर्षीय बैङ्कर एना एइन्स्लेले भनिन् ।