ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक नगरी वीरगञ्जमा त्रिपक्षीय चुनावी भिडन्त, कसले मार्ला बाजी ?

Nov 16, 2017  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
कात्तिक ३०, वीरगञ्ज । मुलुककै आर्थिक गतिबिधिको केन्द्र मानिएको वीरगञ्ज यतिखेर चुनावमय बनेको छ । आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि राजनीतिकर्मीको मात्रै होइन उद्योगी व्यापारीहरूको पनि चासो बढेको छ । भर्खरै सम्पन्न स्थानीय तह चुनावमा व्यापारिक पृष्ठभुमिका व्यक्तिले वीरगञ्ज महानगरको प्रमुख पद जितेकाले पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावप्रति व्यवसायी र अर्थराजनीतिक क्षेत्रको रुची बढी केन्द्रित भएको हो । पर्साबाट प्रतिनिधिसभामा ४ र प्रदेशसभाका लागि ८ सदस्य चुनिने भए पनि प्रतिनिधिसभा चुनाव धेरैको लागि चासोको विषय बनेको छ । क्षेत्र नं. १ [caption id="attachment_161284" align="aligncenter" width="1024"] Print[/caption] वीरगञ्ज महानगरका ३२ मध्ये १९ ओटा वडा समावेश क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसले व्यावसायिक पृष्ठभुमिका अनिलकुमार रुङ्गटालाई प्रतिनिधिसभा सदस्यमा उठाएको छ । दोस्रो संविधानसभामा समेत मनोनित सभासद् बनेका रुङ्गटा लामो समयदेखि काङ्ग्रेसको राजनीतिमा सक्रिय हस्ती हुन् । ६ महीना लामो मधेश आन्दोलन र नकाबन्दीको केन्द्र बनेको वीरगञ्जमा आन्दोलनको मोर्चामा अग्रणी भुमिका निभाएका प्रदीप यादवलाई मधेशवादी गठबन्धनले साझा उम्मेदवार बनाएको छ । बाम गठबन्धनकातर्फबाट एमालेले विचारी यादवलाई मैदानमा उतारेको छ । यादव तत्कालिन पर्सा क्षेत्र नम्बर २ बाट दोस्रो संविधानसभामा निर्वाचित भएका थिए । मधेशी गठबन्धनका यादव त्यसबेला एमालेका विचारीसँग पराजित भएका थिए । ६७ हजार ४ सय ५ मतदातासहितको यो क्षेत्रमा काङ्ग्रेस, मधेशी र बाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तीनै दलले आआफ्नो जीत हुने दाबी गरेका छन् । सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्षसमेत रहेका मधेशी गठबन्धनका उम्मेदवार यादव आफू मधेशको अधिकारका लागि आन्दोलनमा निरन्तर लागेको र जनताको सुखदुःखमा सहभागी भएकाले मतदाताले आफूलाई नै जिताउनेमा विश्वस्त देखिन्छन् । आपूmसँग मुख्य प्रतिस्पर्धामा रहेका दुवैजना अघिल्लो संविधानसभा र रुपान्तरित संसद सदस्य भए पनि स्थानीय विकासमा खासै काम गर्न नसकेका कारण यसपटक जनमत आफ्नो पक्षमा रहेको दाबी मधेशी गठबन्धनका यादवको छ । ‘स्थानीय तह निर्वाचनमा देखिएको मतले पनि मधेशी दलको अवस्था बलियो देखिएकाले मेरो जीत निश्चित छ,’ यादवले भने । स्थानीय चुनावमा वीरगञ्जको मेयरमा सङ्घीय समाजवादी फोरमका उम्मेदवारले जितेका थिए । स्थानीय चुनावमा यो क्षेत्रमा खसेको मतलाई आधार मान्दा अहिले मधेशी गठबन्धनमा रहेका फोरम र राजपाको मत १६ हजार २ सय ४१ हुन्छ । दोस्रोमा काङ्ग्रेसको १५ हजार ४ सय ५० र १० हजार ८ सय ६० मतससहित बाम गठबन्धन तेस्रोमा छन् । काङ्ग्रेसका रुङ्गटा स्थानीय चुनावमा फोरमले ‘पैसाको प्रभाव’मा ल्याएको भोटको अङ्कगणितले यो चुनावमा अर्थ नराख्ने दाबी गर्छन । विगत संविधानसभामा आफूले संविधान निर्माण, शान्ति र निजीक्षेत्रका माग पूरा गराउने सन्दर्भमा महत्वपूर्ण भूमिका खेलेको र अबको आर्थिक समृद्धिको अभिभारा पनि काङ्ग्रेसले मात्र पूरा गर्न सक्ने भएकाले मतदाताले आफूलाई नै जिताउनेमा रुङ्गटा ढुक्क छन् । साङ्ठनिक हिसाबले तुलनात्मक रुपमा कमजोर बाम गठबन्धन टिकट वितरणमा काङ्ग्रेस र मधेशवादी दलमा चुलिएको असन्तुष्टिलाई उपयोग गरेर चुनाव जित्ने दाउमा छ । देउवा पक्षले टीकट वितरणमा एकलौटी गरेको भन्दै केही काङ्ग्रेसी नेता कार्यकर्ता रुष्ट देखिन्छन् । यो क्षेत्र फोरमको भागमा परेपछि राजपाका नेता कार्यकर्तामा पनि असन्तुष्टी बढेको छ । काङ्ग्रेस र मधेशी गठबन्धनका पक्षधरले भने असन्तोष समाधान भइसकेको दाबी गरे । ‘असन्तुष्टी भजाएर चुनाव जित्छौं भन्नु दिवास्वप्नजस्तै हो,’ काङ्ग्रेसका एक जिल्ला नेताले भने । यसोत सबै उम्मेदवारहरूले प्रतिद्वन्द्वी कित्ताको असन्तुष्टीमा खेल्ने प्रयास छोडेका भने छैनन् । क्षेत्र नम्बर २ [caption id="attachment_161285" align="aligncenter" width="700"] Print[/caption] यहाँ काङ्ग्रेस र मधेशी गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । वीरगञ्जका १३ वडा, बहुदरमाई नगरपालिकाका ४ वडा र पर्सागढी नगरपालिका समेटिएको यो क्षेत्रमा बितेको स्थानीय चुनावमा काङ्ग्रेसको पक्षमा १८ हजार ८ सय ८६ मत थियो । त्यसमा अहिले लोकतान्त्रिक गठबन्धनमा परेको राप्रपाको ८ सय ५ मत पनि छ । १४ हजार १ सय ८२ मत मधेशी गठबन्धनको छ । बाम गठबन्धनको मत ९ हजार ६ सय ५५ छ । यो क्षेत्रबाट काङ्ग्रेसका उम्मेदवार अजयकुमार चौरसिया मधेशी गठबन्धनका विमल श्रीवास्तव र बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महमद सलिम मन्सुर प्रतिस्पर्धामा छन् । दोस्रो संविधानसभाको चुनावमा तत्कालिन ३ नम्बर क्षेत्रमा एमालेका राजकुमार गुप्तासँग पराजित चौरसियालाई क्षेत्र परिवर्तनपछि यो चुनावी प्रतिस्पर्धा केही सहज देखिएको छ । मधेशी गठबन्धनका श्रीवास्तवलाई उम्मेदवारी मनोनयनको केहीअघिमात्र फोरमले टिकट दिने शर्तमा पार्टीमा भित्र्याएको थियो । स्थानीय चुनावमा राजपा नेपालले वीरगञ्जको मेयरमा टीकट नदिएपछि उनी तत्कालिन लोकतान्त्रिक फोरमबाट लडेर पराजित भएका थिए । विगतमा ४ पटक वीरगञ्ज नगरको प्रमुख भइसकेका पञ्चायत पृष्ठभूमिका श्रीवास्तवको छवि पदका लागि दल फेर्न सिपालु नेताको रुपमा स्थापित छ । क्षेत्र नम्बर ३ [caption id="attachment_161286" align="aligncenter" width="700"] Print[/caption] स्थानीय चुनावमा खसेको मतका आधारमा पर्सा क्षेत्र नम्बर ३ मा मधेशी गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका सङ्घीय फोरमका हरिनारायण रौनियार अगाडि देखिएका छन् । निर्माण व्यवसायी रौनियारले काङ्ग्रेसका सुरेन्द्र चौधरी र बाम गठबन्धनका राजकुमार गुप्तासँग मुख्य प्रतिस्पर्धा गर्दैछन् । स्थानीय चुनावमा यो क्षेत्रमा मधेशी गठबन्धनमा १६ हजार २ सय ९८, लोकतान्त्रिक गठबन्धनको काङ्ग्रेसलाई १४ हजार ६ सय १ र बाम गठबन्धनको एमालेको पक्षमा १२ हजार ६५ मत देखिन्छ । आफ्ना दुवैजना प्रतिस्पर्धी विगतमा सांसद हुदाँ स्थानीय विकासमा चासो नदिएको र जनमत आफ्नो पक्षमा भएकाले आफू सजिलै विजयी हुने दाबी रौनियारको छ ।  अन्य प्रतिस्पर्धीहरू स्थानीय चुनावको विषयबस्तु र आधार अहिलेको चुनावभन्दा फरक भएकाले त्यो मतलाई हेरेर आसन्न चुनावी परिणामको अनुमान गलत हुने भन्दै आआफ्नो जित निश्चित भएको बताउँछन् । क्षेत्र नम्बर ४ [caption id="attachment_161287" align="aligncenter" width="700"] Print[/caption] ७४ हजार ४ सय ७१ मतदाता रहेको ४ नम्बर क्षेत्रमा बाम गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्यालको काङ्ग्रेसका सदाबहार उम्मेदवार रमेश रिजाल र मधेशी गठबन्धनका लक्ष्मणलाल कर्णसित प्रतिस्पर्धा छ । स्थानीय चुनावको मत परिमाणले बाम गठबन्धन सबैभन्दा अगाडि देखिए पनि यो मतका आधारमा आउँदो चुनावको मत आँकलन तथ्यपरक नहुने भन्दै अन्य उम्मेदवारले आआफ्नो जीत हुने दाबी गरिरहेका छन् । विगतमा पर्सालाई काङ्ग्रेसको गढ मानिए पनि पछिल्ला वर्षहरूमा काङ्ग्रेसको अन्तरकलह र साङ्गठनिक सुस्तताले त्यो मान्यता भत्किइसकेको छ । बितेको संविधानसभा चुनावका ५ क्षेत्रमध्ये ३ मा काङ्ग्रेस र २ ओटामा एमालेले जीत हात पारेका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)