बुटिक विमानस्थल निर्माण : रू. २९ करोडमध्ये डेढ करोड मात्र खर्च
Jul 19, 2019
 
समाचार
मुख्य खबर
काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रूपमा रूपान्तरण गर्न छुट्याएको रू. २९ करोडमध्ये गत आर्थिक वर्ष २०७५/७६ मा करीब डेढ करोड रुपैयाँ मात्र खर्च भएको छ । प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा २०७५ पुसमा ६ महीनाभित्र उक्त विमानस्थललाई ‘बुटिक विमानस्थल’को रूपमा विकास गर्नेगरी सुधारको काम थालिएको थियो । तर ‘बुटिक’ विमानस्थल सम्बन्धी कार्यविधि, २०७५ भने गत वर्ष फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले मात्र स्वीकृत गरेको थियो ।
कार्यविधि ढिलो गरी आएकोले बुटिक विमानस्थल निर्माणसम्बन्धी काम ढिलो शुरू भएको थियो । ‘बुटिक’ भन्नाले नेपालको परम्परा र संस्कृति झल्काउने गरी सौन्दर्यीकरण गर्ने कार्य हो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले पनि बुटिक विमानस्थलको काममा ढिलाइ भएको मन्त्रालयका अधिकारीहरूले बताए । अधिकारीको निधनपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैले हेर्दै आउनुभएको छ ।
ढिला बजेट आएकोले निर्धारित समयमा तोकिएका काम नसकिएपछि सरकारले बुटिक विमानस्थलसम्बन्धी कार्यविधि २०७५ लाई संशोधन गरेको छ । मन्त्रिपरिषदको गत साता बसेको बैठकले कार्यविधि संशोधन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । संशोधित कार्यविधिमा विमानस्थललाई बुटिकमा रूपान्तरण गर्ने समय चैत मसान्तबाट बढाएर असार मसान्त कायम गरिएको छ । असार सकिएपछि गरिएको यो संशोधनबाट गत आवको कामको भुक्तानी दिन सहज हुने सम्बद्ध स्रोतले बताएको छ ।
काम बाँकी रहेकोले समयको विषय मात्र संशोधन गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । गत वर्षको बजेटबाट करीब डेढ अर्ब रुपैयाँ मात्र खर्च भएको र बाँकी बजेटबाट थप काम सम्पन्न गरिने उनले बताए । उनले भने, ‘बाँकी बजेटबाट अबको ६ महीनाभित्रै सबै काम सम्पन्न हुनेछन् ।’ यस सम्बन्धी टेन्डर लगायतका धेरै काम सकिएकोले नेपाल भ्रमण वर्षअघि नै काम सकिने क्षत्रीले बताए ।
बुटिक विमानस्थल बनाउने क्रममा नेपाली मौलिकता प्रदर्शन हुनेगरी एकसिङे गैंडा, पानी भरिएको गाग्री, तामाको ताउलो, नेपाली कलात्मक आँखिझ्याल र ढाकाका सामग्री राखिसकिएको छ । त्यसबाहेक विमानस्थलको सम्पूर्ण सौन्दर्यीकरण गर्ने क्रममा नेपालीपन झल्किने गरी रङरोगनसहित अन्य कामहरू भइरहेको क्षत्रीले जानकारी दिए । बुटिकमा बदल्ने कामअन्तर्गत टर्मिनल भवन अगाडिको पार्किङलाई तल्लो स्थानमा सारिसकिएको छ । अहिलेको पार्किङ क्षेत्रमा प्राचीन मूर्ति, पानीको फाउन्टेन र फूलबारी बनाइने क्षेत्रीले जानकारी दिए ।
विमानस्थलले बुटिकको अवधारणाअनुसार काम शुरू गरेपछि अहिले विमानस्थलको स्वरूपमा परिवर्तन आएको छ । यात्रु आउने जाने स्थानमा राखिएका सामग्रीले नेपाली मौलिकता झल्काएको छ । विमानस्थललाई बुटिकमा बदल्न मार्बलको ठाउँमा तेलिया इँटा तथा पुराना ढुंगा, स्टीलका कमसल धाराको ठाउँमा नेपालीपन झल्किने पित्तल र तामाका टुटी र ब्यागेज ट्याग, बोर्डिङ पासजस्ता सामग्री नेपाली कागजबाट बनाइएका प्रयोग गरिने क्षत्रीले बताए ।
यस्तै अध्यागमन, भन्सार र विमान कम्पनीका काउन्टरमा प्राचीन काष्ठकला झल्किने डिजाइन बनाइनुका साथै सबै होर्डिङबोर्ड, ब्यानर, सूचनापाटी हटाई थिम्याटिक पेन्टिङ, विशिष्ट कलाकौशल झल्किने धातु, काष्ठ तथा ढुंगाका मूर्ति राखिने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको सन्दर्भमा नेपाललाई विश्वमा चिनाउन बुटिक विमानस्थल एउटा नयाँ प्रडक्ट हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । उनले भने, ‘संसारभरका धेरै विमानस्थल स्टील या कंक्रिटले बनेका ठूला हुन्छन् । यो विमानस्थलको भित्री भाग पनि नेपाली शैलीको भएकाले बुटिक विमानस्थलमा बदल्न सजिलो हुनेछ । २०४५ सालमा एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण गरिएको विमानस्थलको डिजाइन दुई जना जर्मन र जापानी इन्जिनीयरहरूले गरेका थिए ।
प्रतिक्रिया [0]