राष्ट्रिय गौरवका आयोजना : रू. १० अर्ब ६७ करोड फ्रिज
Jul 19, 2019
 
समाचार
मुख्य खबर
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७५/७६ मा राष्ट्रिय गौरवका आयोजनामा सरकारले छुट्ट्याएको करीब रू. १० अर्ब ६७ करोड ४८ लाख खर्च नभई फिर्ता हुने भएको छ । सरकारले १८ ओटा ठूला आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राखेको छ । ती आयोजनाका लागि गत आवमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको थियो । सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटा आवको अन्त्यमा ती आयोजनाको भुक्तानी बढेको बताउँछन् । उनका अनुसार गत माघसम्म त्यस्ता आयोजनाको वित्तीय प्रगति न्यून रहेको देखिन्छ । त्यसपछि मात्र भुक्तानी बढेको देखिने उनी बताउँछन् ।
ठूला आयोजनाहरूको निगरानीका लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिर ढुंगानाको नेतृत्वमा पूर्वाधार विकास एकाइ खडा गरेको छ । तैपनि, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा गत आवको खर्च अपेक्षाकृत देखिन सकेको छैन । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवर भने ठूला आयोजनाको बजेट खर्च हुन नसक्नुको कारणबारे अनभिज्ञता प्रकट गर्छन् । भन्छन्, ‘त्यसबारे सम्बद्ध मन्त्रालयहरूलाई जानकारी होला ।’
अर्थविद् डा. डिल्लीराज खनाल राष्ट्रिय गौरवका आयोजना तीव्र रूपमा अगाडि बढ्न नसक्नुलाई सरकारको कमजोरीका रूपमा लिन्छन् । सरकारले आयोजनाहरूमाथि प्रभावकारी रूपमा नियमित निगरानी गर्न नसक्नुलाई उनी एक कमजोरी मान्छन् । ‘नीतिगत रूपमा कुनै समस्या भए त्यसलाई हल गर्न राज्यले जोड दिनुपर्छ,’ उनी भन्छन् ।
राष्ट्रिय गौरवका आयोजनाहरूका लागि सरकारले गत आवमा रू. ८७ अर्ब ४९ करोड ८५ लाख छुट्ट्याएको थियो ।
तर, असार ३१ गते साँझ ९ बजेसम्म रू. ७६ अर्ब ८२ करोड ३७ लाख मात्र निकासा भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । महालेखाका एक उच्च अधिकारी भने असार मसान्तको मध्यरातसम्ममा थप करीब रू. १२ करोड निकासा भएको हुन सक्ने बताउँछन् ।
राष्ट्रिय गौरवका आयोजनाको वित्तीय प्रगति आव २०७५/७६ मा निराशाजनक देखिन्छ । त्यस्ता आयोजनामा छुट्ट्याइएकोमध्ये चालू खर्च उच्च देखिन्छ भने पूँजीगत (विकास) खर्च न्यून । खर्च परिमाणका आधारमा हेर्दा दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनामा सबैभन्दा बढी खर्च भएको छ भने सबैभन्दा कम वित्तीय प्रगति बाराको निजगढस्थित दोस्रो अन्तरराष्ट्रिय विमानस्थलमा देखिन्छ ।
बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि सरकारले रू. १७ अर्ब ९९ करोड छुट्ट्याएकामा रू. ९ अर्ब ९० करोड मात्र खर्च भएको छ । उक्त आयोजनाको वित्तीय प्रगति चालूतर्फ ७६ र पूँजीगततर्फ ५४ प्रतिशत छ । यस्तै, मेलम्ची खानेपानी आयोजनामा सरकारले कुल रू. ७ अर्ब छुट्ट्याएकामा रू. २ अर्ब २५ करोड खर्च भएको देखिन्छ । उक्त आयोजनाको वित्तीय प्रगति चालूतर्फ ६२ दशमलव २ र पूँजीगततर्फ ३१ प्रतिशत छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा रू. ५० करोड छुट्ट्याइएकामा सबै रकम खर्च भएको छ । काठमाडौं–तराई÷मधेश फास्ट ट्र्याकमा रू. १५ अर्ब ३९ करोड विनियोजन गरिएकामा रू. ५ अर्ब ७१ करोड मात्रै खर्च भएको छ । राष्ट्रिय गौरवका आयोजनाको वित्तीय प्रगति गत आवमा निराशाजनक देखिँदा चालू आव २०७६/७७ मा ती आयोजनामा सरकारले रू. १ खर्ब ३ अर्ब ८५ करोड खर्च गर्दै छ ।
प्रतिक्रिया [0]