ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोस्रो क्रेडिट रेटिङ कम्पनी : केयर रेटिङ्स नेपाललाई सञ्चालन अनुमति

Nov 19, 2017  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । दोस्रो क्रेडिट रेटिङ कम्पनी ‘केयर रेटिङ्स नेपाल प्रालि’ले नेपाल धितोपत्र बोर्डबाट कारोबार सञ्चालनका लागि अन्तिम अनुमति पाएको छ । गत वैशाख २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको सो कम्पनीले बिहीवार बोर्डबाट अनुमति पाएको हो । यसअघि विसं २०६९ मा स्थापना भएको इक्रा नेपालले मात्र विभिन्न धितोपत्र, कम्पनी तथा व्यावसायिक सङ्संस्थाको रेटिङ तथा ग्रेडिङको काम गर्दै आएको थियो । कम्पनीको सञ्चालक समितिका एक सदस्य (बोर्ड अफ डाइरेक्टर) तथा इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले बोर्डको अनुमतिपछि सञ्चालनको तयारीमा लागेका बताए । उनका अनुसार कम्पनी तथा व्यावसायिक सङ्घसंस्थाको साख मूल्याङ्कन गरी त्यसको रेटिङ र ग्रेडिङका साथै अनुसन्धान, तालीम तथा सूचना प्रवाह केयर रेटिङ्स नेपालको मूख्य कार्य हुनेछ । ‘अब कम्पनीले उचित र प्रतिस्पर्धी लागतमा छिटो तथा छरितो सेवा विस्तार गर्नेछ,’ उनले भने, ‘बोर्डको सहमतिमा भारतको मुम्बईस्थित क्रेडिट एनालिसिस एण्ड रिसर्च लिमिटेड (केयर)सँग सहकार्य गरी केयर रेटिङ्स नेपाल स्थापना भएको हो ।’ गत मङ्सिरमा नै साझेदारसँग सहमति भए पनि सेबोनको अनुमति र भारतीय शेयर बजार नियामक सेबी तथा केन्द्रीय बैङ्कको समेत अनुमति लिनुपर्ने भएकाले कम्पनीले कारोबार गर्न समय लागेको डा. आत्रेयले जानकारी दिए । केयर रेटिङ्स नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले केयर नेपालले बोर्डले तोकेअनुसार नै धितोपत्र, ऋणपत्रलगायतको रेटिङबाट काम थाल्ने छ । गोयल भन्छन्, ‘नेपालमा २ सयभन्दा बढी कम्पनी दोस्रो बजारमा सूचिकृत रहेकोमा बैङ्क तथा बीमा कम्पनीहरूमात्रै करीब १ सय ५० ओटा रहेका छन् । ती कम्पनीहरूले आफ्नो शेयर तथा व्यवसायलाई बढाउन हामीसँग सेवा लिन सक्नेछन् ।’ नेपालमा रेटिङ कम्पनी सञ्चालन हुन विदेशी साझेदारको न्यूनतम ५१ प्रतिशत शेयर स्वामित्व हुनुपर्ने प्रावधान छ । यसै प्रावधानअनुसार केयर नेपालमा केयर इण्डियाको ५१ प्रतिशत लगानी छ भने बाँकी इमर्जिङ नेपाल, विशाल ग्रूपलगायत सातओटा कम्पनीको लगानी छ ।  सेबोनका सहप्रवक्ता निरञ्जय घिमिरेका अनुसार क्रेडिट रेटिङ नियमावली २०६८ बमोजिम सो संस्थालाई कारोबारको अन्तिम सञ्चालन अनुमति (अपरेटिङ लाइसेन्स) दिइएको हो । यसले क्रेडिट रेटिङ व्यवसाय थप प्रतिस्पर्धी हुने र सेवा गुणस्तरीय तथा सहज हुने बोर्डको विश्वास रहेको उनले बताए । अन्तरराष्ट्रिय अभ्यासको तुलनामा नेपाल क्रेडिट रेटिङको क्षेत्रमा धेरै पछाडि परेको छ । भारतमा सन् १९८७ बाट क्रेडिट रेटिङ शुरू भए पनि नेपालमा भने करीब ४/५ वर्ष अघिदेखि मात्र शुरू भएको हो । नेपालमा क्रेडिट रेटिङको धेरै अवसर भएको सरोकारवालाको भनाइ छ । यहाँ बैङ्क तथा वित्तीय संस्था, बीमा, पब्लिकलगायतका कम्पनी धेरै छन् । नेपालमा भएको वित्तीय संरचनाअनुसार यसको बजार र सम्भावना धेरै भएको सञ्चालक डा. आत्रेयको भनाइ छ । के हो क्रेडिट रेटिङ ? कम्पनीको वित्तीय अवस्था, जोखीमको स्थितिका साथै प्रतिफल दिन सक्ने क्षमतालगायतका विस्तृत मूल्याङ्कन गर्नु नै क्रेडिट रेटिङ हो । सेबोनका अनुसार ३ करोड रुपैयाँभन्दा बढीको प्राथमिक शेयर निष्कासन गर्ने कुनै पनि सङ्गठित संस्थाले अनिवार्य क्रेडिट रेटिङ गराउनुपर्ने नियम छ । राष्ट्र बैङ्कले पनि ऋणीहरूको समेत रेटिङ गर्ने व्यवस्था गर्ने बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)