कर्मचारीहरुमाझ देखिने ‘निष्ठाको कमी’ अहिले रोजगारदाताहरुले भोगिरहेको एक समस्या हो । तर, हालै गरिएको एक अध्ययनमा कर्मचारीले पटक–पटक जागीर फेरिरहँदा कम्पनीका साथै त्यस्ता कर्मचारीहरुलाई पनि नोक्सान हुने देखिएको छ । क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयअन्तर्गतको स्टानफोर्ड ग्राजुएट स्कूल अफ बिजनेशका अनुसन्धानकर्ताहरुले गरेको उक्त अध्ययनअनुसार कुनै कम्पनीमा लामो समय काम गर्नेहरुले त्यहाँबाट अन्त गएका कर्मचारीको तुलनामा आर्थिक लाभहरु बढी पाउने गर्दछन् ।
उक्त अध्ययन विश्वका प्रमुख सूचना प्रविधि कम्पनीहरुका कार्यालय रहेको क्यालिफोर्नियाको प्रख्यात ‘सिलिकन भ्याली’ क्षेत्रका ५० हजार कर्मचारीमाझ गरिएको थियो । अध्ययनमा सिलिकन भ्यालीका कुनै कम्पनीमा ५ वर्षसम्म निरन्तर काम गर्ने कर्मचारीले त्यसभन्दा कम समयसम्म काम गर्नेको भन्दा वार्षिक ८ प्रतिशतले बढी तलबभत्ता पाउने गरेको पाइएको थियो । उता, कम्पनी छाडेर हिंडेकाको आम्दानी वृद्धिदर भने ५ प्रतिशतमात्रै हुने अनुसन्धानकर्ताहरुले बताए । त्यसैगरी स्थिर रुपमा काम गर्नेहरु अरुको तुलनामा बढी उत्पादनशील र सृजनात्मक पनि हुने गरेको उनीहरुको भनाइ छ ।
‘धेरै तलब पाउने लोभमा व्यावसायिक जीवनकालमा पटक–पटक जागीर परिवर्तन नगर्न कर्मचारीहरुलाई हाम्रो सल्लाह छ,’ अनुसन्धानकर्ता टोलीको नेतृत्व गरेकी प्राध्यापक क्याथरिन शले भनिन् । आफूभन्दा बढी कमाउने सहकर्मीको आम्दानी स्थिर भएर काम गर्दाको परिणाम भएको बुझ्न उनले जागीर परिवर्तन गर्ने मनस्थिति बनाएका कर्मचारीलाई सुझाव दिइन् । शको भनाइलाई डुकास पब्लिक रिलेशन्स नामक एक वित्तीय पब्लिक रिलेशन कम्पनीका कार्यकारी प्रमुख रिचार्ड ड्युकले पनि समर्थन गरे । ‘आफ्नो व्यक्तित्वलाई मिल्ने अथवा गरिरहेको कामभन्दा चुनौतीपूर्ण र प्रोत्साहनात्मक भएमा मात्र जागीर परिवर्तन गर्न म सुझाव दिन्छु,’ ड्युकले बताए । जागीर परिवर्तनमात्रले ‘कर्पोरेट भर्याङ’ निर्माण नहुने उनको कथन छ ।