ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चमेलियाको परीक्षणका लागि ‘विद्युत् चार्ज’

Nov 24, 2017  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । कुल ३० मेगावाट क्षमताको बहुचर्चित चमेलिया जलविद्युत् आयोजना शुरू भएको करीब ११ वर्षमा उत्पादन परीक्षणका लागि प्रक्रिया शुरू भएको छ । सुदूरपश्चिमाञ्चलको आर्थिक तथा सामाजिक विकासको सेतुका रूपमा हेरिएको यस आयोजनाको व्यावसायिक उत्पादनका लागि बिहीवार अत्तरियाको नेशनल ग्रीडसम्म विद्युत् प्रवाह (चार्ज) गरिएको हो । आयोजनाले निर्माण गरेको १ सय ३२ केभी प्रसारण लाइनबाट बिहीवार दिउँसो १ : ५५ मा विद्युत् चार्ज गरिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । उनले भने, ‘निर्माणको कामले लिएको गतिसँगै डिसेम्बर १२ (मङ्सिर २६)मा चमेलियाको एउटा युनिटको परीक्षण (वेट टेष्ट) गरी व्यावसायिक उत्पादन शुरू गर्ने तयारीका लागि विद्युत् चार्ज गरिएको हो, यसलाई आयोजनाको मुख्य उपलब्धिका रूपमा हामीले लिएका छौं ।’ उक्त आयोजनाको परीक्षण उत्पादन शुरू गर्नुअघि चमेलियाको विद्युत् जोडिने बलाँच–अत्तरिया १ सय ३२ केभी प्रसारण लाइन चार्ज गरिएको हो । आयोजनाले यसअघि ड्राइ टेष्ट गरिसकेको छ । उक्त आयोजना सन् २०११ मा सम्पन्न गर्ने गरी सन् २००७ जनवरीदेखि शुरू भएको हो । निर्माणमा ढिलाइ भएको आयोजनाले ६ वर्षपछि यो उपलब्धि प्राप्त गरेको छ । आयोजना प्रमुख दाहालका अनुसार डिसेम्बरदेखि परीक्षण उत्पादन गरिने भएको छ । आयोजनाले डिसेम्बर १२ (मङ्सिर २६)देखि परीक्षण शुरू गरेर १ महीनाभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य राखेको छ । उनले आयोजनाको प्रारम्भिक चरणदेखि हालसम्म  १५ अर्ब ६० करोड रुपैयाँ खर्च भएको बताए । त्यसो त, २००७ मा आयोजना शुरू गर्दाको लागत अनुमान भने रू. ८ अर्ब ५० करोड रहेको थियो । आयोजनाको काम समयमै सम्पन्न हुन नसक्दा लागत भने करीब दोब्बर हुन पुगेको छ । आयोजनाका अनुसार ठेकेदारसँगको असमझदारी, सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्यालगायतका कारणले निर्धारित समयमा काम सम्पन्न हुन नसकेको हो । उक्त आयोजना दार्चुलाको शैलशिखर नगरपालिकाको बलाँचमा रहेको छ । यसो त, नेपाल विद्युत् प्राधिकरणले कैलालीको अत्तरियासम्म प्रसारण लाइन पूर्णरूपमा निर्माण गरिसकेको छ । अहिले आयोजनाको सिभिलको काम चाइना गेजुवा ग्रूप अफ कम्पनी सीजीजीसीले पूरा गरेको छ भने इलेक्ट्रोनिक, हाइटेन्सन र ट्रान्समिशनको काम कोरियन हाइड्रो एण्ड न्यूक्लियर कम्पनीले गरेको छ । सुदूरपश्चिम क्षेत्रमा जलविद्युत् क्षेत्रमा ठूलो सम्भावना देखिए पनि कार्यान्वयनमा आउन लागेको यो पहिलो आयोजना हो । आयोजना प्रमुख दाहालले भने, ‘यो आयोजना कार्यान्वयनमा आउँदादेखि नै विकासका कामहरू शुरू भएका छन्, आयोजनाको व्यावसायिक उत्पादन शुरू भएपछि उद्योग, कलकारखानालगायत अन्य विकासका गतिविधिहरू अघि बढाउन थप सहज हुनेछ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)