महँगी बढेर तरकारी र उपभोग्य वस्तुको भाउ छुनै नसक्ने भयो भनेर पछिल्लो समय आम नेपालीहरू निकै चिन्तित बनेका छन् । छिमेकी देश भारतलगायत देशमा महँगीको मारमा जनता परेको भन्दै सरकारको निकै विरोध भइरहेको छ । दक्षिण अमेरिकी देश भेनेजुएलामा जनताहरूले एक प्याकेट दूधकै लागि हजारौं रुपया तिर्न परिरहेको छ । राजनीतिक सङ्कटका कारण मुद्रास्फीति आकाशिएको र जगेडा विदेशी विनिमय पनि निकै न्यून स्तरमा झरेपछि स्थानीय मुद्रा बोलिभारको मूल्य निकै घटेको छ । अहिले एक डलरको मूल्य ८४ हजार बोलिभर आसपास रहेको छ । त्यसैले जनताहरूले एक प्याकेट दूध किन्न पसलमा जाँदा समेत बोराभरि पैसा लानुपर्ने स्थिति उत्पन्न भएको छ । एक त पसलमा आवश्यक दैनिक उपभोग्य वस्तु पाइँदैन । पाइहाले पनि किन्न लाखौं बोलिभार तिर्नुपर्ने स्थिति छ । एक हप्ताको राशन किन्न कम्तीमा ८ लाख बोलिभार चाहिने स्थिति आएको छ । यसले गर्दा गरीबीको रेखामुनि भोकमरीको अवस्था चर्किएको छ भने हिंसात्मक प्रदर्शन पनि निकै बढेको छ । अहिले एक दर्जन अण्डाको मूल्य करीब १ सय ५० डलर तिर्नुपर्ने भन्दै एक समाचारमा छापिएको थियो । एक किलो पिठोको मूल्यसमेत ९ डलर ५० सेण्ट रहेको बताइएको छ । स्थानीय मुद्राको मूल्य दिनानुदिन घट्तै जाँदा सङ्कटसमेत चर्किंदै गएको छ । १५ नोभेम्बरमा एक डलर किन्न ६० हजार ९ सय ४२ बोलिभार तिर्नुपर्थ्यो , तर २१ नोभेम्बरमा यो दर बढेर ८४ हजार ३ सय ७२ बोलिभार पुगेको छ । एजेन्सी