आईफोन फाइभ, ग्यालेक्सी एसथ्री अथवा एचटीसी वान एक्स ? विश्वमा निकै लोकप्रियता हासिल गरिरहेको यी स्मार्टफोनमध्ये कुन चाहिँ राम्रो हो भन्ने प्रश्नको उत्तर दिन अहिले ताइवानी मन्त्रीहरुलाई हम्मेहम्मे परिरहेको छ । यीमध्ये कुनै एकलाई राम्रो भन्नु वा प्रयोग गर्नु प्रयोगकर्ताको छनोटको व्यक्तिगत स्वतन्त्रताको विषय हो । तर, केही दिनअघि ताइवानका सञ्चारमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता हु यु–वेईले एप्पलको आईफोन फाइभ राम्रो भएको बताएपछि उनले सर्वसाधारणबाट तिखो आलोचना र खप्कीहरु पाएपछि त्यहाँका उच्च सरकारी अधिकारीहरु आफ्नो छनोटबारे खुलेर बोल्न हिच्किचाइरहेका छन् ।
‘देशको अर्थतन्त्रमा योगदान गर्न आन्तरिक खपत बढाऔं,’ उनले आफ्नो फेसबूक पेजमा राखेको आईफोन फाइभको तस्वीरमुनि एक ‘क्याप्सन’ पनि राखेका थिए । त्यसको लगत्तै उनले इण्टरनेट प्रयोगकर्ताहरुका साथै स्थानीय सञ्चारमाध्यमहरुबाट तिखो आलोचना सुन्नुपर्यो । उनीहरुले ताइवानी स्मार्टफोन निर्माता एचटीसीका उच्च गुणस्तरका उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने ठाउँमा देशका मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले विदेशी प्रतिस्पर्धी कम्पनीलाई समर्थन गरेको आरोप लगाए । आलोचनाको बाढी बढ्दै गएपछि त्यसलाई शान्त गर्न मन्त्री वेईले आफूले आईफोन फाइभ किनी नसकेको तर भविष्यमा किन्ने योजना बनाएको प्रतिक्रिया दिए । तर, आफूले अहिलेसम्म एचटीसीको स्मार्टफोन नै प्रयोग गरेको र भविष्यमा पनि आफ्नो पहिलो छनोटमा कम्पनीकै उत्पादन रहने उनले बताए । एचटीसी ताइवानको सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो । कम्पनीको आम्दानीले त्यहाँको अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने गरेको छ ।