ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनाव, आचारसंहिता र अधिनायकवाद

Dec 1, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
साँच्चैको चुनाव त बल्ल पो शुरू भोजस्तो छ । पहिलो चरणको चुनाव शान्त थियो, चुनावमा हुनुपर्ने गुण देखिया थेन । वास्तवमा चुनाव त एक प्रकारको युद्धजस्तै पो हुनुपर्ने त । कम्मर तल हान्ने, माथि हान्ने । ढाडमा टेकेर टाउकोमा हान्ने । बोलीले हान्ने, गोलीले हान्ने, बम पड्काउने, मतदाता छड्काउने । तर, पहिलो चरणको चुनावमा यस्ता केही थिएनन् । त्यो युद्धजस्तो थिएन । लटरपटर खालको भएकाले होला, त्यो चुनाव शान्त थियो । तर, अहिले आएर भने सबैतिर डाङडुङ शुरू भएको छ । बल्ल विहारी शैलीको चुनावी माहौल बन्दै गएको छ । बरू विहारमा अब शान्त चुनाव हुन थाल्यो भन्छन् । जसै जताजतै बम विष्फोट र नेताहरूको वाणी विष्फोट शुरू भएको छ, तसै निर्वाचन आयोगले पनि आचारसंहिता पालना भएन भनेजस्तो गर्न थालेको छ । तर, आचारसंहिता कहाँकहाँ केकेमा, कसकसले उल्लङ्घन गरे, उल्लङ्घन गर्नेलाई के कारबाही हुन्छ आदि कुरा भने निर्वाचन आयोगले भनेको छैन । यसको मतलव अब नेपालको चुनावको आचारसंहिता केके हुन सक्छन् भनेर जनता जनार्दन आफैंले पुनर्विश्लेषण गर्ने बेला आएको छ । यस्सो हेर्दा आचारसंहिता (आसं) मात्रामा फरक भए पनि सबैजसो दलले धेरथोर उल्लङ्घन गरेकै देखिन्छ । ‘प्रेम र युद्ध’ मा सबै कुरा जायज हुन्छ भनेर बुझेकाले सबै दल र प्रायः उम्मेदवारले आसंको पर्खाल नाघेका होलान् । कति ठाउँमा रैथाने उम्मेदवारलाई पाहुना उम्मेदवारका कारण पीडा भएको छ । तर, अब मतदाताले आफ्ना र पराई छुट्याउँछन् वा ‘अतिथि देवो भव’ भनेर जिताउँछन्, अहिल्यै भन्न सकिन्न । ठूला भनिएका नेता ओली, देउवा काठमाडौंमै स्थायी बसोबास गर्छन् । तर, उनीहरू एउटा झापा र अर्को डडेलधुराबाट चुनावमा उठेका छन् । यी रैथाने हुन् कि अतिथि, मतदाताले कसरी छुट्याउने ? प्रम देउवा पत्नी आरजुलाई पनि रैथाने होइन भनेर हायलकायल पारे । तर, आरजु पनि के कम ! धनगढी बजारमै घर किनेर आफू त्यहाँको रैथाने भएको प्रमाणितै गरिदिइन् । हुन पनि महिलाको त घर र थर स्थायी हुन्न भन्छन् । अर्थात् जहाँ घर भयो, त्यहीँको थर, त्यहीँको रैथाने । कि कसो ? अब आरजुले जस्तै सबैले आफू उठेको ठाउँमा घरै किन्न त नसक्लान् नि ! यता पेशै परिवर्तन गरेर ललितपुरबाट काठमाडौंमा पाहुना उम्मेदवार बनेर आएका रवीन्द्र मिश्रले त आफूले जित्ने पक्कापक्की भएको दाबी नै ठोकिसके । गोल्छे सार्की र नानीमैयाँ दाहाललाई जिताएको काठमाडौंका मतदाताले मिश्रलाई जिताउन बेर लाउँदैनन् भन्नेहरूको पनि कमी छैन । यो साँच्चै होला कि एउटा अर्को ठट्टा भन्ने त चुनावमै थाहा होला । अहिले त हल्लैहल्लाको देशमा यो अर्को एउटा हल्लाकै कुरा भयो । तर, प्रायः काठमाडौंमा भारतीय दूतावासको पाहुना बनिरहने राजपाको घोषणापत्रले भने यसका नेताहरु कताका पाहुना हुन्, नेपालका कि विहारका भन्ने द्विविधा उत्पन्न गराएको छ । राजपाको घोषणापत्रमा नेपाल एक देश तर बहुराष्ट्रियता भएको राष्ट्र हो रे । अनि नेपालमा मधेश राष्ट्रवाद भारतको विहारी यूपीवालासँग मिल्छ रे । त्यस्तै, पहाडे राष्ट्रवाद तिब्बतीहरुसँग मिल्छ रे । घोषणापत्रमा अरु क्रान्तिकारी कुरा पनि रै’छन् । जस्तै, गएको आन्दोलनमा शहीद भएका शहीद परिवारलाई रु ५० लाख दिने रे । यसले शहीदको उत्पादन बढाउन मद्दत नै गर्ला । त्यस्तै, दाइजो प्रथा उन्मूलन गर्न हरेक बेहुलीलाई कति तोलाको हो मङ्गलसूत्र नै दिने रे । हामीले थाहा पाको त मङ्गलसूत्र दुलाहाले दुलहीलाई दिन्छन् । तर, अब राजपाका सांसद र मन्त्रीले नै सबै दुलहीलाई मङ्गलसूत्र लगिदिने रे । यसले विवाह क्रान्ति पक्कै ल्याउने आशा गर्न सकिन्छ । वाह ! क्या गजब छ नेताजी । घोषणापत्रका लागि बधाई छ । यो चर्काचर्की, भागदौड, चुनावी महासङ्ग्राममा एउटा नयाँ बहस पनि शुरु भएको छ कि यो चुनावबाट अधिनायकवाद जन्मिन सक्छ कि सक्तैन भनेर ! यता ठूल्ठूला विद्वान् ठानिएकाहरुले भनिरहेका छन् कि निर्वाचनबाट अधिनायकवाद आउनै सक्तैन रे ! तर, अर्काथरी विद्वान् भनिरहेका छन् कि जिम्बाबेमा मुगावे चुनाव जितेरै अधिनायक याने डिक्टेटर बनेका थिए । ३७ वर्ष त्यो देशलाई पूरै डिक्टेट गरेरै गरीबी र असमानतामा राखे । त्यस्तै, केन्यामा पनि उहुरु केन्याटा चुनावबाटै आएका थिए । अहिले डिक्टेटर भएर निक्ले । हिटलर नै पनि चुनावबाटै आएका थिए भन्छन् इतिहासकारहरू । अब कसकसको उदाहरण दिनु ? इमो मोरालेसको कि एर्दोगानको ? तर, एउटा वा अर्को लेबल लागेका विद्वान्ले चुनावबाट डिक्टेटर आउँछ र आउँदैन भनेकोमा मतदाताले कसको कुरा चैं पत्याउने ? त्यस्तै, कसले आचारसंहिता पालना गरे, कसले उल्लङ्घन गरे, कसरी थाहा पाउने ? यो बहसले झन् द्विविधा पो थप्यो बा यो चुनावमा ! ‘जोल्ली एलएलबी’ नामको एउटा हिन्दी चलचित्रमा आचारसंहिताको विषयमा एउटा गजबको प्रसङ्ग छ । एउटा वकिल हाम्रा नेताहरूकै शैलीमा अदालतमा ‘एभ्रिथिङ इज फेयर इन लभ एण्ड वार’ भनेर आफ्नो बद्मास ग्राहकको बचाउ गर्न खोज्छ । अर्को विपक्षी वकिलले भन्छ कि ‘त्यसो भए प्रेमकै नाममा एसिड हान्ने प्रेमी र युद्धका नाममा निर्दोषलाई आक्रमण गर्ने आतङ्ककारीलाई ठीक मान्न मिल्छ त ?’ उसको यस्तो प्रश्नपछि न्यायाधीशले दोस्रो वकिलको पक्षमा फैसला सुनाउँछन् । अर्थात् यसले चुनावका नाममा आचारसंहिता नमान्ने उम्मेदवारलाई जनतारूपी न्यायाधीशहरूले पनि हराउनुर्छ भन्ने सन्देश दिन्छ कि ! तर चुनावको पूर्वसन्ध्यामा भोलि कसकसले बाजी मार्लान् भनेर सर्वेक्षण गर्न पनि नपाइने भएको छ । केही बोल्न र लेख्न पनि आचारसंहिता लाग्ला भन्ने डर पो छ त । निर्वाचन आयोगले चुनावको मतसर्वेक्षण गर्न पाइँदैन भनेर उर्दी नै ठोकिसकेको छ । तर, यो चुनावी महायुद्धमा कुन नेताले के भने, किनभने, के, कस्तो, किन र कसरी आदिजस्ता प्रश्नसम्म गर्न त पाइन्छ होला नि ? कि त्यो पनि आचासंहिता उल्लङ्घन ठहरिन्छ प्रमुख आयुक्तजी ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)