ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीबाट क्षति भएका सडक/पुल निर्माणको काम अलपत्र

Dec 4, 2017  
मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । गत साउन र भदौमा गएको बाढीका कारण क्षति भएका सडक तथा पुलहरूको निर्माण कार्यमा सरकार उदासीन देखिएको छ । वर्षायाममा मुख्य राजमार्ग तथा सहायक राजमार्गका सडक तथा पुलहरूमा व्यापक क्षति भए पनि सडक विभाग तथा सम्बन्धित निकायले ती सडक तथा पुल निर्माण तथा मर्मतको काम अझै शुरू गर्न सकेका छैनन् । उक्त बाढीपहिरोबाट पूर्व–पश्चिम राजमार्ग, कोशी राजमार्ग र सिद्धार्थ राजमार्गसहित अन्य सम्पर्क मार्ग र विभिन्न खण्डमा रहेका सडक र पुलमा क्षति पुग्दा करीब रू. ४ अर्बबराबरको क्षति भएको सडक विभागको तथ्याङ्क छ । ती सडक तथा पुल निर्माणका लागि सरकारले अहिलेसम्म पनि आवश्यक प्रक्रिया अघि बढाएको छैन । विभागका सहायक प्रवक्ता रमेशकुमार सिंहले बाढीपहिरोका कारण सडक संरचनाहरूमा भएको क्षतिको निर्माण तथा मर्मतको काम अझै शुरू हुन नसकेको बताए । उनले भने, ‘हामीले तत्काल प्रक्रिया शुरू गर्नका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगमा पत्र पठाइसकेका छौं, तर पनि ती निकायबाट यो समस्याको समाधानका लागि कुनै जानकारी आएको छैन ।’ उनका अनुसार बाढीपहिरोबाट क्षति भएका सडक तथा पुलहरूलाई ठेक्का प्रक्रियामा लैजानुपर्छ र त्यसका लागि २/३ महीना लाग्छ, तर हालसम्म पनि कुनै प्रतिक्रिया नआएकाले तत्कालै ठेक्का प्रक्रियामा लैजाने भन्ने विषय निश्चित छैन । सिंहले बाढीपहिरोबाट क्षति भएका सडक तथा राजमार्गका पुलहरूको निर्माण कार्य तत्काल शुरू नभएमा आगामी वर्षायाममा निकै चुनौतीपूर्ण अवस्था सृजना हुने बताए । उनले भने, ‘क्षति भएका राजमार्गका विभिन्न खण्डहरू अहिले माटो तथा गिट्टीहरूले समथर पार्ने काम भएको छ, यसले तत्काल कुनै समस्या देखिएको छैन, तर अहिले क्षति भएका सडक तथा पुलहरूको निर्माण कार्य शुरू गर्न सकिएन भने आगामी बर्खायाममा राजमार्गहरू बन्द हुने अवस्था नआउला भन्न सक्ने अवस्था छैन ।’ गत वर्षायाममा आएको बाढीले सबैभन्दा बढी पूर्व–पश्चिम राजमार्गको पूर्वी खण्ड, कोशी राजमार्गका विभिन्न सडक खण्ड, ढल्केवर–जनकपुरलगायत खण्डमा क्षति पुगेको थियो । यस्तै मुख्य राजमार्गका विभिन्न सडकका एप्रोच मार्गहरू, पुलहरू भत्किएका छन् । बाढीपहिरोका कारण विभिन्न राजमार्गका गरी करीब २ दर्जन सडकमा क्षति पुग्नुका साथै सोही अनुपातमा पुलहरूमा पनि क्षति भएको थियो । बाढीका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डको ४० मिटर सडक बगेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)