ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हकप्रद निष्कासनमा ढिलाइ : छानविन जारी

Dec 7, 2017  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । हकप्रद शेयर निष्कासनको घोषणा गरी निष्कासनमा ढिलाइ गर्ने कम्पनीमाथि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले छानविन जारी राखेको छ । कात्तिक महीनादेखि नै लगानीकर्ताको गुनासोको आधारमा छानविन शुरू गरेको बोर्डले हालसम्म सबै कम्पनीबाट सुझाव तथा प्रतिक्रिया सङ्कलन गरिसकिएको बताएको छ । बोर्डले लगानीकर्ताको निवेदनका आधारमा कुमारी बैङ्क, देवः विकास बैङ्क, साझा विकास बैङ्क, नागबेली लघुवित्त विकास बैङ्क, सिनर्जी फाइनान्स, पोखरा फाइनान्स, जेविल्स फाइनान्स र सेती फाइनान्समाथि प्रारम्भिक चरणको अनुसन्धानका लागि छानविन शुरू गरेको हो । सात सदस्यीय छानविन समितिको संयोजकमा निर्देशक मुक्तिनाथ श्रेष्ठ रहेका छन् । संयोजक श्रेष्ठले छानविन अझै जारी रहेको बताए । उनले छानविनको क्रममा आठओटै कम्पनीबाट सुझाव तथा प्रतिक्रिया सङ्कलन गरिसकेको बताउँदै केही कम्पनीले नेपाल राष्ट्र बैङ्कले चुक्तापूँजी पुर्‍याउन दिएको निर्देशनलाई ध्यानमा राखी मर्जरमा गएकाले हकप्रद निष्कासनमा ढिलाइ भएको प्रतिक्रिया दिएको जानकारी दिए । उनका अनुसार निवेदन परेको आधारमा अनुसन्धान थालिएको छ । उनले भने, ‘त्यसबाहेक अन्य कम्पनीले पनि हकप्रद निष्कासनमा ढिलाइ गरेको हुनसक्छ, त्यसबारे पनि छानविन भइरहेको छ ।’ यसअघि छानविनका क्रममा परेका आठ कम्पनीमध्ये सेती फाइनान्स र साझा विकास बैङ्क मर्जरमा गएका छन् भने सिजर्नी फाइनान्स मर्जरको प्रक्रियामा रहेको छ । सेती फाइनान्स सेञ्चुरी विकास बैङ्कसँग र साझा विकास बैङ्क देवः विकास बैङ्कसँग मर्जरमा गएका हुन् भने सिनर्जी फाइनान्स बेष्ट फाइनान्ससँग मर्जरमा जाने तयारीमा रहेको छ । दुई कम्पनी पोखरा फाइनान्स र देवः विकास बैङ्कले भने हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएका छन् । पोखरा फाइनान्सले मङ्सिर ५ र देवः विकास बैङ्कले मङ्सिर १३ गते सेवोनमा निवेदन दिई प्रक्रिया अघि बढाएका हुन् । देवः विकास बैङ्कले हकप्रद निष्कासनमा ढिलाइ नगरेको बताएको छ । बैङ्कले युनियन फाइनान्स र साझा विकास बैङ्कसँगको मर्जपछि कायम हुने चुक्तापूँजीको आधारमा हकप्रद निष्कासन गर्ने निर्णयबमोजिम प्रक्रिया अघि बढाएको बताएको छ । कात्तिक २३ देखि युनियन फाइनान्स र साझा विकाससँग एकीकृत कारोबार शुरू गरेको देवः विकास बैङ्कले मङ्सिर १३ गते हकप्रद निष्कासनका लागि सेवोनमा निवेदन दिएको छ । नागबेली विकास बैङ्कले गत वर्ष १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय भए पनि विविध कारणले निष्कासन गर्न नसक्दा यस वर्ष ४५ दशमलव ६० प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्तापूँजीको १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव मङ्सिर २५ गते आयोजना हुने साधारणसभाबाट पारित गर्ने भएको छ । जेविल्स फाइनान्सले १ बराबर १ को अनुपातमा हकप्रद जारीपश्चात कायम चुक्तापूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेबमोजिम १ बराबर १ को अनुपातमा असोज १ देखि कात्तिक २० गतेसम्म हकप्रद विक्री गरिसकेको छ । उक्त हकप्रद केही दिनमै बाँडफाँट गर्ने तयारी गरेकाले यसको बाँडफाँटपछि आगामी साता नै ४० प्रतिशत हकप्रद निष्कासन प्रक्रियामा जाने प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मीले जानकारी दिए । कुमारी बैङ्कले काष्ठमण्डप डेभलपमेण्ट बैङ्क, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैङ्क र काँक्रेविहार विकास बैङ्कलाई प्राप्ति गरेपछि कायम हुने चुक्तापूँजीको रू. १ अर्ब १९ करोड ३८ लाख ९९ हजारबराबरको हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो । यी बैङ्कहरूलाई प्राप्ति गरी असार १६ गतेदेखि नै एकीकृत कारोबार थालिसकेको भए पनि हालसम्म हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको देखिँदैन । बोर्डले जारी गरेको धितोपत्र निष्कासनसम्बन्धी व्यवस्थामा सङ्गठित संस्थाले साधारणसभाबाट हकप्रद शेयरको निष्कासन गर्ने निर्णय गरेको २ महीनाभित्र बोर्डमा निवेदन दिनुपर्छ । यस व्यवस्थाअनुसार हकप्रद निष्कासनको प्रक्रिया अघि नबढाएको भन्दै यी कम्पनीका लगानीकर्ताले धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । बोर्डले छानविनका क्रममा निर्णय गरेको हकप्रद निष्कासन गर्न नै जोड दिइने बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)