व्यावसायिक जीवनमा सफलता हासिल गर्न कार्यदक्षताका साथै आकर्षक देखिनु आवश्यक हुँदै गएको हालै गरिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको टेक्सास विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको उक्त अध्ययनअनुसार कम्पनीहरुले आकर्षक देखिने उम्मेदवारलाई छिटो भर्ना गर्ने गर्दछन् । त्यसैगरी उनीहरुको तलबमान पनि कम आकर्षक कर्मचारीहरुको तुलनामा बढी हुने अनुसन्धानकर्ताहरुको भनाइ छ । अध्ययनमा आकर्षक व्यक्तित्व भएका कर्मचारीको आम्दानी ‘औसतभन्दा कम’ व्यक्तित्व भएकाहरुको तुलनामा ३ देखि ४ प्रतिशतले बढी हुने पाइएको थियो । यतिमात्र नभई पदोन्नतिका अवसरमा समेत आकर्षक व्यक्तित्व भएका कर्मचारीले अन्यलाई उछिन्ने गरेको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।
टेक्सास विश्वविद्यालयका अर्थशास्त्र विषयका प्राध्यापक डानियल हामेरमेश नेतृत्वको अनुसन्धानकर्ता टोलीले सौन्दर्य, शारीरिक बनोट र रङ रुपले मानिसहरुको व्यावसायिक जीवनमा विभिन्न कोणबाट पार्ने असरहरुको विश्लेषण गरेको थियो । प्राध्यापक हामेरमेशले सुन्दर र आकर्षक कर्मचारीहरु बढी अपीलयुक्त हुने गरेकाले मानिसहरुले कार्यालयको कामका सिलसिलामा उनीहरुलाई नै छनोट गर्ने गरेको उनको भनाइ छ । यसमा ‘सेक्स अपील’लगायत अरु थुप्रै तत्वको भूमिका हुने उनको कथन छ । ‘यसमध्ये आकर्षक कर्मचारीमा देखिने दरिलो आत्मविश्वास एक प्रमुख तत्वका रुपमा पाइएको छ,’ हामेरमेशले बताए । यी तत्वहरुको प्रत्यक्ष परिणामले गर्दा आकर्षक र सुन्दर उम्मेदवारलाई कम्पनीहरुले काममा राख्ने सम्भावना बढी भएको उनको जिकीर छ । सुन्दरता र आकर्षणको परिभाषा प्रायःजसो सकारात्मकता उन्मुख नै हुने भएकाले यस्ता मानिसहरुलाई काममा लगाउँदा राम्रो परिणाम निस्कने आशा रोजगारदाताले गर्ने गरेको हामेरमेशले बताए ।
‘सुन्दर र आकर्षक व्यक्तित्व भएका कर्मचारीहरुले कम्पनीहरुमा बढी आम्दानी भित्र्याउने र आर्थिक फाइदा दिलाउने भएकाले उनीहरु मेहनती र मूल्यवान ठानिन्छन्,’ अनुसन्धानकर्ता टोलीमा सामेल सिकागो विश्वविद्यालयका प्राध्यापक डारियो माइस्त्रेपिएरीले भने । माइस्त्रेपिएरीले यो ‘आकर्षक मानिसहरुसँग काम गर्दा मिल्ने खुशी’को सिद्धान्त भएको बताए ।