ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौं उपत्यका सडक विस्तार : सम्झौताको अवधि सकिँदै निर्माण भने १ तिहाइ मात्र

Dec 17, 2017  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौं उपत्यकाका सडक विस्तार आयोजनाको कार्यप्रगति निकै सुस्त र अव्यवस्थित देखिएको छ । काठमाडौं उपत्यकाका सडकहरूलाई चौडा र व्यवस्थित गर्ने उद्देश्यले निर्माण शुरू भएका आयोजनाको सम्झौता अवधि सकिँदासम्म आधा पनि काम हुन सकेको छैन । निर्माण व्यवसायीले भने मुद्दा मामला र मुआब्जा विवादका कारण निर्धारित समयमा काम सक्न गाह्रो भएको बताएका छन् । ठेक्कामा गएका विभिन्न १० सडकमध्ये ४ ओटा आयोजनाको सम्झौता अवधि सकिएको छ । ती आयोजनाअन्तर्गतका सडक निर्माणको काम औसतमा ३० प्रतिशत मात्रै सम्पन्न भएको तथ्याङ्कले देखाएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका १० मध्ये चर्चामा रहेको त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक विस्तारको सम्झौता अवधि असोज महीनामा सम्पन्न भए पनि निर्माण कार्य भने सुस्त नै रहेको छ । कुल १२ दशमलव ५० किलोमिटरको यस सडक चालू आर्थिक वर्ष २०७४/७५ मा ६ किमी कालोपत्र गर्ने लक्ष्य रहे पनि हालसम्म कालोपत्र हुन सकेको छैन । आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठका अनुसार त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक अब फागुनसम्म कालोपत्र नहुने भएको छ । उनका अनुसार जाडोयाम तथा प्राविधिक कारण यस सडक खण्डमा फागुनसम्म कालोपत्रका कामहरू रोकिने भएका हुन् । १४ मिटरभन्दा बढी चौडाइका सडक विस्तारको काम गर्दै आएको आयोजनाले सर्वाेच्चको स्टेअर्डर, स्थानीय बासिन्दाको साङ्गठनिक विरोध र सडकको ‘राइट अफ वे’ निर्धारणमा विरोध हुँदा काम अघि बढाउन नसकेको बताएको छ । मुलुकका सबै आयोजनाको काम सुस्त गतिमा अघि बढेको अवस्थामा काठमाडौंमै सञ्चालनमा आएका सडक आयोजनाहरू प्रगति अवस्था निकै कमजोर देखिएको छ । त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा २०७२ असार ३१ गते २०७४ असोज ३० सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । रेखाङ्कन, हिमपाइप, फुटपाथ निर्माणको अधिकांश काम सकिएको आयोजनाका प्रवक्ता श्रेष्ठ बताउँछन् । यस्तै, अर्काे चर्चामा रहेको चाबहिल–जोरपाटी–बागमती–साँखु सडक (१२ किमी)को सम्झौता अवधि यही पुस १४ गते सकिँदै छ । २०७२ असोज ६ मा २०७४ पुस १४ गते सम्पन्न गर्ने गरी यो सडक खण्डको सम्झौता भएको थियो । आयोजनाका अनुसार यो खण्डमा ३० प्रतिशत काम भएको छ । यस्तै, लगनखेल–सातदोबाटो सडक (८ सय मिटर) २०७३ जेठमा सम्झौता भई ०७४ असोजमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकको निर्माण सम्झौता सम्पन्न हुँदासम्म जम्मा २५ प्रतिशत काम भएको छ । चक्रपथ–ज्ञानज्योति गणेश–विद्धत्मार्ग सडक विस्तार तथा स्तरोन्नतिको काम २०७३ असार २८ गते सम्झौता भएको थियो भने उक्त सडकको सम्झौता मिति २०७४ मङ्सिर २८ मा सकिँदै छ । उक्त सडकमा हालसम्म ४५ प्रतिशत काम भएको छ । काठमाडौं उपत्यकाका सडक विस्तार तथा स्तरोन्नतिको काम २०७१ देखि शुरू भएको हो । आयोजनाको तथ्याङ्क हेर्दा सबै आयोजनाको समयावधि २ वर्षको रहे पनि विविध कारणले यी सडक विस्तार तथा स्तरोन्नतिको काम भने समयमै सम्पन्न नहुने स्पष्ट देखिएको छ । यी सबै सडकमा साझा समस्या देखिएको छ । विभिन्न सडकमा सर्वाेच्च अदालतको स्टेअर्डर, राइट अफ वेमा देखिएको विवादले सडक सीमाङ्कनमा समस्या, सीमाङ्कन भएका ठाउँमा नयाँ र पुराना नापीको समस्याले घर भत्काउन समस्या, मुआब्जा वितरणमा ढिलाई, घर र जग्गा दुवैको मुआब्जा दिनुपर्ने दोहोर मुआब्जालगायत कारण सडक विस्तारमा समस्या देखिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)