फोहोरको असफल व्यवस्थापनले आक्रान्त नेपालीका लागि यो शीर्षक साँच्चिकै अनौठो र आश्चर्यलाग्दो हुन सक्छ । तर, यो कुरा सत्य हो किनकी स्वीडेन अहिले फोहोर निर्यातकर्ता राष्ट्र बनेको छ । स्वीडेनले फोहोर आयात गर्नुको कारण भने ऊर्जासँग सम्बन्धित रहेको छ । सुग्घरी स्वीडिशहरुले थोरैमात्र फोहोर उत्पादन गर्नुले थर्मल प्लाण्टबाट विद्युत् निकाल्न आवश्यक ‘कच्चा पदार्थ’को अभाव भएपछि त्यहाँको सरकारले यस्तो नीति लिएको हो । राजधानी स्टकहोमको पब्लिक रेडियो इण्टरनेशनलले गतहप्ता प्रसारित गरेको रिपोर्टअनुसार स्वीडेनमा ४ प्रतिशत घरायशी फोहोरमात्रै नगरपालिकाहरुका ल्याण्डफिल्ड साइटहरुमा जम्मा गरिन्छन् । बाँकी ९६ प्रतिशतचाहिँ फोहोरबाट विद्युत् ऊर्जा निकाल्ने केन्द्रहरुमा र पुनप्र्रयोग गर्न सकिने सामग्रीहरु बनाउने ‘रिसाइक्लिङ’ केन्द्रमा पठाइन्छन् । फोहोरबाट ग्यास निकालेर त्यसबाट हुने विद्युत् उत्पादनले स्वीडेनको कुल मागको २० प्रतिशत धान्ने गरेको रेडियोले बताएको छ ।
तर, पछिल्ला २ वर्षयता भने विद्युत् निकाल्न र रिसाइक्लिङ गर्नका लागि त्यहाँ फोहोरको कमी हुँदै गएको रेडियोको रिपोर्टमा उल्लेख छ । यूरोपमा पहिलेदेखि नै सफासुग्घरी कहलिएका स्वीडिशहरुले रिसाइकल गरिएका सामग्रीहरुको प्रयोग अत्यधिक मात्रामा गर्न थालेपछि फोहोर उत्पादन घटेको बताइएको छ । यसरी विद्युत्को एक प्रमुख स्रोतको उपलब्धता कम हुँदै गएपछि त्यहाँ सीमा जोडिएका छिमेकी यूरोपेली देशहरुबाट वार्षिक ८ लाख टन फोहोर आयात भइरहेको जानकारी रेडियोले दिएको छ । सीमा जोडिएका छिमेकी नर्वे स्वीडेनको सबैभन्दा ठूलो फोहोर निर्यातकर्ता बनेको रिपोर्टमा उल्लेख छ । यसबाट नर्वेलगायतका फोहोर निर्यातकर्ताहरुलाई समेत आर्थिक फाइदा भइरहेको रेडियोको भनाइ छ । उनीहरुले आफूले फोहोर बालेर, गाडेर अथवा पुनर्प्रयोग गर्दा व्यवस्थापनमा बढी खर्च लाग्ने तर स्वीडेनतर्फ पठाउँदा भने आम्दानी हुने भएकाले निकै खुशीका साथ निर्यात गरिरहेको रेडियोले बताएको छ ।