ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लोकतन्त्र बलियो हुँदै

Dec 29, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
नेपालमा लोकतन्त्र बलियो अर्थात संस्थागत हुँदै गएको छ । यसका थुप्रै प्रमाण छन् । २०४७ सालमा प्रजातन्त्र स्थापना भयो । यो राजा त्रिभुवनले ल्याएको २००७ सालको भन्दा फरक थियो । किनभने यो प्रजाहरुले आफै ल्याएको तन्त्र थियो । त्यसैले यसलाई प्रजातन्त्र भनियो । यो तन्त्रलाई बलियो बनाउन त्यस बेलासम्म सबै दलहरुले मेहनत गरे । सबैभन्दा बढी मेहनत त एमालेले नै गर्‍यो । के मात्रै गरेन लोकतन्त्र बलियो बनाउन– रेलिङ भाँच्यो, चक्काजाम, बन्द, हडताल सबै सबै गर्‍यो । नेपाली जनतालाई आन्दोलनको नयाँ विकल्प दियो । पछि आफ्नै दलको सरकार भएपछि स्थिति बसाउन नेपाल प्रहरीमा सरुवा, बढुवा आदिको हतियार चलायो र प्रहरी प्रशासन हल्लायो । अनि फेरि प्रतिपक्षमा भएपछि अर्को आन्दोलन चलायो र संसद्को एउटा हिउँदे अधिवेशनमा त एक दिन पनि बैठक बस्न दिएन । नेपाली काङ्ग्रेसले पनि लोकतन्त्र बलियो बनाउनमा ठूलै योगदान दिएको छ । आज देश जुन स्थितिमा पुगेको छ, त्यसको धेरै श्रेय त काङ्ग्रेसलाई नै जान्छ । उसले पनि कर्मचारी चलायो, पुरानो शिक्षा जलायो र देशमा नयाँ क्रान्तिकारी शिक्षा प्रणाली परिचित गरायो । त्यसैले नै नेपाली युवाहरुलाई अन्तरराष्ट्रिय बनायो, जो अजबगजब जबका लागि संसारभरि घुमिरहेकै छन् । पछि परिमार्जित प्रजातन्त्रका रुपमा गणतन्त्र आयो, जसलाई ल्याउनमा मुख्य भूमिका एमाले र काङ्ग्रेस त छँदै थिए, माओवादीले समेत गर्योत । यो २ दशक माओवादीले गणतन्त्र बलियो बनाउनकै काम नगरेको भए नेपाल र नेपाली अहिले कहाँ पुग्थे होला वा भोलिका पुस्ता कस्तो हुन्थ्यो होला कल्पना नै गर्न सकिन्न । त्यसैले आज हामी जुन परिवेशमा उभिएका छौं, त्यसको श्रेय माओवादीहरुलाई नै जान्छ । यसरी नेपालका यी तीन ठूला दल मिलेर नेपालमा प्रजातन्त्र र गणतन्त्रलाई दिन प्रतिदिन बलियो बनाउन खुबै लागिरहेको प्रष्टै छ । पछि जन्मेका वा जन्माइएका मधेश केन्द्रित दलहरुले गणतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय स्वतन्त्रता र अखण्डता कायम राख्न खेलेको भूमिकालाई पनि अब कम आँक्न नहुने हुँदै गएको छ । देशमा संविधान आइसकेपछि यसको कार्यान्वयन हेतु चुनाव पनि सम्पन्न भइसकेको र अब लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक क्षणमा मुलुक छ । यो तन्त्रलाई बलियो बनाउन सबै लागेकै देखिन्छन् । खासगरी वाम गठबन्धनको भूमिका यतिबेला सशक्त नै छ । त्यसलाई सम्माननीय राष्ट्रपतिज्यूले पनि संविधानको भावना र मर्मअनुसार काम गरिबक्सेकै देखिन्छ । विवाद नआओस् भनेरै २ महीनादेखि राष्ट्रपतिज्यूबाट राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयकलाई कार्यालयमै सुरक्षित राख्दिबक्सेको छ । संविधानअनुसार राष्ट्रपतिको पद नै अकार्यकारी भएको हुनाले दलहरुको सहमतिविना जेजे अध्यादेश आउँछ, त्यसैमा हस्ताक्षर गर्दै जाने भारतीय वा ब्रिटिशको होला, हाम्रो देशको संसदीय पद्धति पनि होइन । त्यसैले प्रधानमन्त्रीले पठाउँदैमा जे पायो त्यही विधेयकमा राष्ट्रपतिले खुरुक्क हस्ताक्षर गर्ने पनि होइन । राष्ट्रपतिले यसो गरेर वर्तमान सरकारलाई आफ्ना कामकारबाही जारी राख्न प्रशस्त समय उपलब्ध हुन गएको छ र वर्तमान सरकार पनि यो बहुमूल्य समयलाई सकेसम्म धेरै सदुपयोग गर्दै महत्वपूर्ण निर्णयहरु भटाभट ठोक्दै गइरहेको छ । अनि मन्त्रिमण्डलका विना विभागीय मन्त्रीहरुलाई त झन् खासा । तलब पनि आइरहेको छ, काम केही गर्नुपरेको छैन, झण्डावाल गाडी चढ्न पाइरहेकै छ । यसरी के देखिन्छ भने अब नेपालमा प्रजातान्त्रिक लोकतन्त्रात्मक गणतन्त्रले राम्रै गति लियो लियो । अब यसलाई भारत वा चीनले के गर्न सक्छन् कुन्नि, तर अरुले चैं रोक्न सक्तै सक्तैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)